५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

समानुपातिक मतपत्र मतदान केन्द्र पठाउने तयारी

बिहीबार कटारीमा आयोजित नमूना मतदान केन्द्र। तस्विरः महेश्वर

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि २ नं. निर्वाचन अधिकृतको कार्यालय कटारीले समानुपातिकतर्फको मतपत्र मतदान केन्द्रमा पठाउने तयारी पुरा गरेको छ। प्रत्यक्षतर्फको नआइपुगे पनि समानुपातिकतर्फको मतपत्र बेलैमा आएकाले रुजु गरेर मतदान केन्द्र पठाउने तयारी पुरा भएको हो।  

सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले समानुपातिक तर्फको मतपत्र बेलैमा निर्वाचन आयोगले पठाएकाले गणना गरी, रुजु गरेर मतदान केन्द्र पठाउन पोका बाँधेर तयार गरिएको बताए। उनका अनुसार मतपत्रहरु आवश्यक्ता भन्दा ५ प्रतिशत बढी संख्यामा पठाउन लागिएको छ।  

मतदान केन्द्र पुग्ने क्रममा वा मतदानकै बीचमा बिग्रने, च्यातिने वा कुनै कारणवश नाशिने संभावना भएकाले मतदाता संख्याभन्दा ५ प्रतिशत बढी मतपत्र पठाउन लागिएको भट्टराईले बताए। त्यसो गर्दा कुनै पनि मतदाताले मतदान गर्नबाट वञ्चित हुनु नपर्ने ग्यारेन्टी हुने निर्वाचन अधिकृतको कार्यालयको ठहर छ।  

भट्टराईका अनुसार २ नं. निर्वाचन क्षेत्रका लागि १ लाख ३ हजार मतपत्र प्रतिनिधिसभातर्फ पठाउने तयारी गरिएको छ भने प्रदेशसभातर्फ १ लाख ५ हजार पठाउन लागिएको छ। यसो गर्दा सबै मतदाताको मताधिकारको सुरक्षा हुने ठहर कार्यालयको छ।

प्रत्यक्षतर्फको मतपत्र भने अहिले आइसकेको छैन। केहीदिनभित्र त्यो पनि आइपुग्ने खबर निर्वाचन आयोगबाट आएको जानकारी भट्टराईले दिए। ‘प्रत्यक्षतर्फको मतपत्र आईपुगेको छैन, केहीदिनभित्रै आइपुग्ने आयोगले जानकारी दिएको छ’ भट्टराईले भने ‘समानुपातिक तर्फको चाहि बेलैमा आएकाले मिलाएर, रुजु गरेर पोका बाँधेर सम्बन्धित मतदान केन्द्र पठाउने तयार पारेर राखेका छौँ।’

यसैबीच कटारीमा पनि बिहीबार ‘नमूना मतदान’ कार्य सम्पन्न भएको छ। कटारी नगरपालिका परिसरमा आयोजित नमूना मतदान केन्द्रमा मतदानको अभ्यास गराइएको हो। जिल्ला निर्वाचन कार्यालय उदयपुरको आयोजनामा भएको नमूना मतदानमा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख मीना खड्का, वडाध्यक्षहरु, जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाल, इप्रका कटारीका डिएसपी प्रबिण कार्की, अन्य सुरक्षाकर्मी, कर्मचारी र नागरिक अगुवालगायतको सहभागिता थियो।  

प्रकाशित: १७ कार्तिक २०७९ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App