७ वैशाख २०८१ शुक्रबार
राजनीति

यो चुनाव नौटंकी हो: विश्वकर्मा

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका छन्।

मंगलबार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका हुन्।

उनले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरुलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको बताए। निर्वाचनमा जितेर आउनेले अहिलेको भन्दा डरलाग्दो जनविरोधी र राष्ट्रविरोधी हर्कत गर्ने उनले बताए।

उनले आफ्नो पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएको भन्दै भ्रष्टाचार गर्ने तर लोकतन्त्रवादी हुँ भन्दै जनताकोमा मत माग्न जाने नेताहरुलाई गाउँ–गाउँबाट लखेट्ने बताए।

उनले भने, ‘चुनावको बारेमा यहाँ धेरै भन्नुपर्दैन। यो चुनाव नौटंकी हो। पाँच वर्ष भ्रष्टाचार र कमिसन, राष्ट्रघात र जनघात गरेर सर्वाङ्ग भएका तत्वहरुलाई फेरि सुनपानी छर्ने हो यहाँ। केही नयाँ ल्याएर केही पुरानालाई सुनपानी छर्ने हो। अब तिनीहरु जितेर आएभने के गर्छन् भन्दा अहिलेको भन्दा डरलाग्दो जनविरोधी हर्कत गर्छन्। राष्ट्र विरोधी हर्कत गर्छन्। त्यसो भएको हुनाले यो चुनावलाई आगामी दिनमा नेपाल कम्युनिष्ट पार्टीले सशक्त रुपले खारेज गरेर जाने नीति अगाडी सारेका छौँ। काठमाडौंमा बस्ने राष्ट्रघात, जनघात गर्ने, मानव बेचबिखन गर्ने अपराध गर्ने, भ्रष्टाचार र कमिसनको खेल गर्ने, अहिले जनताको बीचमा हामी सबभन्दा बढी लोकतन्त्रवादी नेता हुँ भनेर जाने तत्वहरुलाई एकपटक गाउँ गाउँबाट खेद्ने कार्यनीति अहिले महाधिवेशनले अगाडी सारेको कार्यनीति हो। एकपटक हामी जनसंघर्ष गर्छौं।’

प्रवक्ता विश्वकर्माले दलहरुले घोषणापत्रमा नेताहरुको सम्पत्तिको छानविन गर्ने कुरा राखेका उल्लेख गर्दै दुधको साँचि बिरालो भएको टिप्पणी गरे। सबैभन्दा बढी भ्रष्टले सम्पत्ति छानविन गर्ने कुरा गर्नु जनतालाई मुर्ख बनाएको उनको भनाइ छ।

उनले भने, ‘यो देशमा राजनीति गर्नेहरुले, व्यवसायीहरुले जति पैसा जम्मा पारेका छन् अथवा तिनी धनि भएका छन्। तिनको स्वामित्वमा पैसा छ। त्यो सबै छानबिन गर्ने भन्दैथे हिजो केही पार्टीका घोषणापत्र सार्वजनिक हुँदा। यो त दुधको साँचि बिरालो भयो। जो सबभन्दा बढी भ्रष्ट र सबभन्दा बढी यो देशको सम्पती कुम्ल्याएर बसेका छन् उनी मान्छेले सम्पत्ति छानविन गर्ने भन्छन्। जनतालाई मुर्ख बनाउने। श्रम गर्नुछैन। उत्पादन गर्नुछैन। जनतालाई लुटेको छ। अनि विदेशीहरुबाट भिख मागेको छ, खाएको छ। यस्तो स्थिति देशमा छ।’

उनले पार्टीका केन्द्रदेखि गाउँ कमिटी सम्मका नेताले हरेक दुई महिनामा एक पटक भौतिक श्रम गर्ने र उक्त श्रमबाट प्राप्त रकम केन्द्रमा पठाउनुपर्नेल नीति पार्टीको रहेको उल्लेख गरे। त्यस्तै शहीद तथा बेपत्ता परिवारका सेवाका लागि ५ लाखको केन्द्रीय कोष खडा गरिने पनि जानकारी दिए।

प्रवक्ता प्रकाण्डले पार्टीका नेता, कार्यकर्ताले परम्परादेखि चल्दै आएका पुराना जातिहरुको अन्त्य गरी नयाँ मानव जातिको निर्माण गर्न साम्यवादी जाति निर्माण गर्ने र हरेकले नामका पछाडी सी लेख्ने निर्णय भएको पनि बताए।

प्रकाशित: १५ कार्तिक २०७९ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App