भूकम्प र बाढी–पहिरोबाट थिलथिलिएका सिन्धुपाल्चोकका मतदातालाई आफूतिर आकर्षित गर्न यहाँका प्रमुख दलका उम्मेदवारहरूले विपद् व्यवस्थापन र नियन्त्रणलाई पहिलो अजेन्डा बनाएका छन्।
चाहे नेताहरूको भाषणमा होस् वा प्रतिबद्धतापत्र, दलहरूले बाढीपहिरो तथा भूकम्पपीडित जनताको उद्धार, प्रकोप नियन्त्रण तथा बाढी पहिरोले पु¥याएकोे क्षतिको पुनर्निर्माण गर्ने कबोल गरेका हुन्छन्। यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको चासो पनि विपद् व्यवस्थापनमै छ।
प्राकृतिक रूपले सुन्दर सिन्धुपाल्चोक विपद्सँग जुध्दै आइरहेको छ। हरेक वर्ष यस जिल्लामा प्राकृतिक विपत्ति निम्तिने गरेको तथ्यांकले देखाएको छ। विगत केही वर्षयता सिन्धुपाल्चोकमा बर्सेनि विपद्का घटना निम्तिरहेका छन्। जसका कारण ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ। खासगरी बाढीपहिरो, भूकम्प, आगालागी, चट्याङ, हावाहुरी, करेन्ट लागेर लगायत विपद् जिल्लावासीले हरेक वर्ष भोग्दै आइरहेका छन्। पछिल्ला ६ वर्षमा प्राकृतिक विपद्बाट मात्र सिन्धुपाल्चोकमा ३ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ७० जना घाइते भएका छन्। भूकम्पले अर्वौ रूपैयाँको क्षति भयो। जुरे पहिरो र भूकम्पबाहेक ५५ करोड ८२ लाख रूपैयाँ बराबर भौतिक क्षति भएको तथ्यांकले देखाउँछ।
सिन्धुपाल्चोबासीलाई विपद्ले यसरी छोएको छ कि, सिन्धुपाल्चोक १ मा सत्तारुढ गठबन्धनले तयार गरेको साझा प्रतिबद्धतामा विपद् व्यवस्थापनलाई प्राथमिकताका साथ स्थान दिइएको छ। ‘आगामी दिनमा हुन सक्ने विपद्को न्युनिकरणको लागि पूर्वतयारीमा विशेष कार्यक्रम सञ्चालन गर्न सक्दो पहल गरिने छ’प्रतिबद्धता पत्रमा भनिएको छ, ‘विपद् पूर्वतयारी र प्रतिकार्य योजना बनाइ कार्यान्वयनका लागि जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिमार्फत भूमिका निर्वाह गरिने छ।’
प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत र नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङ अहिले चुनावी मैदानमा आमने–सामने छन्। यसैगरी सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा र एमालेका सरेश नेपाल प्रतिस्पर्धामा छन्। घरदैलो, कार्यकर्ता भेटघाट, शुभकामना आदानप्रदान, चाहे कोणसभा होस्, सबै कार्यक्रममा उम्मेदवारहरूको प्रतिबद्धता र अजेन्डा विपद् व्यवस्थापनमै केन्द्रित हुने गरेको छ। यसैगरी ४ वटै प्रदेश सभामा उम्मेदवारी दिएका उम्मेदवारहरूले मतदाताको ध्यान आफूतिर आकर्षित गर्न प्रकोप व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता दिने गरेका छन्।
सिन्धुपाल्चोकमा विपद
२०७१ साउन १७ गते विश्वकै ध्यान खिच्ने गरी जुरे पहिरो खस्दा १४५ को ज्यान गयो। पहिरोले तत्कालीन मांखा, राम्चे र टेकानपुर गाविसका ड्याम, काबुने, इटिनीलगायत पाँच गाउँ बगायो। जुरे पहिरो थुप्रिएर ११ घन्टा सुनकोसी नदी थुनिँदा कृत्रिम ताल नै बन्यो। घटनामा २७ घाइते भएका थिए भने ४२ पक्की घरसंरचना ध्वस्त भए। ३७ दिनपछि कृत्रिम ताल फुट्दा तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्यायो। २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले बढी क्षति सिन्धुपाल्चोकमा पु¥यायो। पराकम्पले थप जनधनको क्षति पु¥यायो। भूकम्पमा परी जिल्लामा ३ हजार २ सय ६२ को मृत्यु भयो। १५ सय ३८ घाइते भने ६२ हजार १ सय ४५ निजी आवास ध्वस्त भए। २७ हजार ४ सय ७६ पशुचौपाय र १ लाख २० हजार ३ सय ८ पशुपंक्षी मारिए। भूकम्प प्रभावित ३२ जिल्लामा भएको क्षतिमध्ये झण्डै आधा मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नु पर्यो। २०७३ असार २१ गते तिब्बतको हिमताल फुटेर भोटेकोसी नदीमा बाढी आउँदा तल्लो तटीय क्षेत्रको तातोपानीदेखि बाह्रबिसेसम्मका झण्डै सय घरसंरचना बगे। अरनिको राजमार्ग छियाछिया भयो।
यसैगरी २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ स्थित लिदी गाउँलाई पहिरोले छोप्दा ३९ को मृत्यु भयो। अबिरल वर्षासँगै बस्ती माथिबाट खसेको पहिरोले गाउँ नै पुरेको थियो। पहिरोमा फसेका १५ स्थानीयलाई जीवितै उद्धार गरिएको थियो। २०७७ भदौ २७ गते बाह्रबिसे नगरपालिका– ७, घुम्थाङस्थित भिरखर्क र नागपुजे गाउँमा पहिरो खस्दा ३१ स्थानीयले ज्यान गुमाए। ८ घाइते भए। भिरखर्क र नागपुजे गाउँ सँगै थिए। बाह्रबिसे नगरपालिका– ५, जम्बुमा २०७७ असार २४ गते निम्तिएको बाढीपहिरोले २१ स्थानीयको ज्यान लियो। ५ जना घाइते भएका थिए।
विपदमा म सधैं अगाडि: मोहन बस्नेत
चाहे महाभूकम्प होस् वा बाढीपहिरोमा वा चाहे कोरानको बेला, सबैभन्दा पहिले म आफैं पुगेर सबैखालको उद्धार गर्ने र काम गर्ने पहिलो व्यक्ति म हुँ। यो सबैलाई थाहा छ। कोभिडका बेलामा हामीले निजी क्षेत्रबाट अक्सिजन प्लान्ट नै चलाएका थियौं। सरकारले देशभर अक्सिजन सिलिण्डर दिन नसकेको बेला चीनबाट अक्सिजनको सिलिण्डर ल्याएर निःशुल्क बाँड्ने व्यक्ति पनि म हुँ। विभिन्न किसिमका बाढी पहिरोमा कोही जान नसकेको बेला हेलिकोप्टर लिएर उद्धार गर्ने व्यक्ति पनि म हुँ। कोरानामा सिन्धुपाल्चोकका १७ ठाउमा निःशुल्क स्वास्थ्य शिविर चलाएका थियौं। यहाँका सबै स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण तथा कोभिड बिमा गरेका थियौं।
बाढीपहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्हरूको विषयमा अध्ययन गर्न बलेफी– ८ मा जुुरेमा अन्तर्राष्ट्रियस्तरको अध्ययन केन्द्र बनाउदैछौं। यो जिल्लामा भएका सबै समस्या र त्यसबाट उत्पन्न भएका परिस्थितिको बारेमा जानकारी गराउन एउटा पुस्तकालय बनाउन लागेको छौं। अध्ययन केन्द्रको काम सुरु भइसकेको छ। मैले नै शिलान्यास गरेको छु। यसैगरी मेलम्चीको खोलामा एउटा बेलिब्रिज बनाएको छु। मेलम्चीमा अर्को बेलिब्रिज यही जेठ मसान्तसम्म बनाउने प्रतिबद्धता गरेको छु। पोहरको बाढीले मेलम्चीमा ठाउ ठामा पुल भत्काएको थियो। बस्ती जोगाउन, नदी किटाण रोक्न हामीले अभियान नै सुरु गरेका छौं। जुरेमा पहिरो गएको बेला हामीले पहिरो पीडितलाइ नगद नै बाँडेका थियौं।
विपदमा सधैं क्रियाशील छौं: शेरबहादुर तामाङ
सिन्धुपाल्चोक जिल्ला विपद्बाट सबैभन्दा बढी प्रभावित जिल्ला हो। विपद्बाट यहाँ ठूलो ठूलो क्षति भएको छ। विपद् व्यवस्थापनमा सबैभन्दा बढी काम हामीले नै गरेका छांै।हामी सरकारमा हुँदा हामीले स्थायी प्रकृतिको विपद् व्यवस्थापन प्राधिकरण बनाएका छौ। अब विपद् न्यूनीकरणसम्बन्धी स्थानीय समितिहरू गठन हुनेछन्। जिल्लामा यसको नेतृत्व सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले गर्नेछन्। हामीले नै विपद् प्राधिकरण ऐन बनाएका हौ। अहिले त्यो ऐन क्रियाशील छ। विपद सम्बन्धी एमालेको प्रष्ट दृष्टिकोण छ। विपदको न्यूनीकरण तथा विपद्बाट हुने क्षतिको पुनस्थापर्ना गर्न विपद् व्यवस्थापन प्राधिकरणमार्फत हुने व्यवस्था मिलाएका छौं। मेलम्चीको बाढीबाट भएको क्षति न्यूनीकरण गर्न, रातहको प्याकज सुरु गर्न तथा मेचम्ची खोलालाई नियन्त्रणमा राख्न हामीले विश्व बैंकबाट साढे ६ अर्ब प्राप्त गरेका छौं। सरकारले त्या पैसा खर्च गरेको छैन।
प्रकाशित: १५ कार्तिक २०७९ ०२:३६ मंगलबार