२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नवलपरासी–१ का उम्मेदवार चौधरी र त्रिपाठीबीच आरोप-प्रत्यारोप

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं नवलपरासी १ मा नेकपा एमाले समर्थित उम्मेदवार हृदयेश त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरी कुनै नेता नभएको आरोप लगाएका छन्। ‘विनोद चौधरीले हामीलाई दुई घन्टा कुराउनुभयो, आउनुभएन। राजनीतिकर्मी वा नेता भएको भए पक्कै आउनुहुन्थ्यो। त्यसैले उहाँँ नेता होइन। त्यसबाहेक जे भन्नुस्, म मान्छु। उहाँ उद्योगपति हो, डलरपति हो। नेता हो भनेसंघीय गणतन्त्र स्थापनामा उहाँको के भूमिका थियो?’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, नागरिक दैनिक, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग त्रिपाठीले भने।

नवलपरासी–१ मा चौधरी ‘पर्यटक उम्मेदवार’ भएको आरोप पनि उनले लगाए। त्रिपाठीले थपे, ‘आफ्नो उद्योग र लगानी भएको नवलपुरमा उहाँ किन लड्नुभएन? नगद भएको ठाउँमा बस्नुभएन, उधारो ठाउँमा आउनुभएको छ। पर्यटक उम्मेदवारलाई यहाँका जनताले कहिल्यै रुचाएनन्। पाहुना स्वागत सत्कार लिएर गइहाल्छन्। सधैं बस्ने पाहुना हुँदैन।’

उद्योगधन्दा गर्न सांसद हुनु नपर्ने पनि त्रिपाठीले औंल्याए। उनले भने, ‘चौधरी मेरा परम मित्र हुनुहुन्छ। मोटरसाइकलमा हिँड्नुभएको छ, पातमा खानुभएको छ। यो हाम्रा लागि खुसीको कुरा हो। तर राजनीति उहाँको विषय होइन।’

चौधरीको संसदीय भूमिका गतिलो नभएको टिप्पणी पनि उनले गरे। त्रिपाठीले भने, ‘उहाँलाई राजनीतिमा आउन छुट छ। लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो। तर उहाँ एमाले र कांग्रेसबाट समानुपातिक सांसद हुँदा के बोल्नुभयो? बजेटमा कर घटाउने र बढाउने बाहेक केही बोल्नुभएन। उहाँको संसदीय भूमिका र उपस्थिति राम्रो थिएन।’

उद्योगपति चौधरीको सबैभन्दा धेरै लगानी देशबाहिर भएको आरोप पनि उनले लगाए। त्रिपाठीले भने, ‘देशभित्र धेरै कर तिरेको १० नम्बरको सूचीमा उहाँको नाम छैन। यहाँभन्दा ११ गुना बढी लगानी देशबाहिर छ। चाणक्यले भनेजस्तो धन र गन (हतियार)ले सत्ता खोज्यो भने प्रलयकारी हुन्छ।’ त्रिपाठीले आफूले नवलपरासी १ का जनताको शिर निहुरिन नदिने प्रतिबद्धता पनि जनाए।

त्यस्तै, नेपाली कांग्रेसका नेता एवं नवलपरासी १ का उम्मेदवार विनोद चौधरीले आफूलाई टुरिस्ट उम्मेदवार भन्नु पराजित मानसिकताको उपज भएको बताएका छन्।

‘हृदयेश त्रिपाठी मेरा मित्र हुनुहुुन्छ। व्यक्तिगत रूपमा म कुनै गालीगलौज गर्न चाहन्नँ। तर उहाँले मलाई टुरिस्ट उम्मेदवार भन्नु पराजित मानसिकताको उपज मात्र हो। पर्यटनको महत्त्व मलाई जति सायद उहाँलाई थाहा छैन। म विगत ४० वर्षदेखि नवलपरासीमा छु। नवलपुर त भरखरै छुट्टिएको मात्र हो। प्रचण्ड गोरखाबाट लड्दै हुनुहुन्छ। मदन भण्डारीले काठमाडौंबाट लडेर जित्नुभयो। मनमोहन सिंहले आसाममा गएर लड्नुभयो। नरेन्द्र मोदी वनारस आएर लड्दा त्यहाँको कायापलट भयो। कसलाई कहाँबाट लडाउने भन्ने पार्टीको प्रश्न हो, यहाँ विनोद चौधरी होइन, रुख लडेको हो,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, नागरिक दैनिक, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग चौधरीले भने। आफू सबभन्दा कठिन ठाउँ रोजेर नवलपरासी–१ मा आएको उनको स्पष्टोक्ति थियो।

निवर्तमान सांसद त्रिपाठीले २५ वर्षदेखि नवलपरासी १ का जनतालाई अविकासको बन्दी बनाएको आरोप चौधरीको छ। उनले भने, ‘नवलपरासीका जनताले विकास चाहिरहेका छन्। यहाँका जनतालाई २५ वर्षदेखि अविकासको बन्दीका रूपमा राखिएको छ। बीचमा तीन वर्ष किनान नेता देवकरण प्रसाद कलवारले जितेबाहेक सधैं एकैजनाको प्रतिनिधित्व छ। उहाँ पाँच पटक सांसद हुनुभो, आठ पटक मन्त्री हुनुभो। तर भनेका बेला किसानले मल पाउँदैन, हजारौं बिघा जमिन डुबानमा छ। गतिलो अस्पताल छैन। कृषि उपजको दुर्दशा छ। विकास शून्य छ।’

‘मोटरसाइकलमा घरदैलो गर्दा पनि खुसी छु’

मोटरसाइकलको पछाडि बसेर घरदैलो गर्न कति गाह्रो छ भन्ने पत्रकार धमलाको प्रश्नमा चौधरीले थपे, ‘म सार्वजनिक बस चढेको मानिस हुँ। सरकारी स्कुल पढेको मानिस हुँ। मेरा लागि साइकल पनि प्राइभेट जेट चढेजस्तै लक्जरी हो। मोटरसाइकलमा घरदैलो गर्दा पनि म खुसी छु। म जस्तोसुकै दुःख गर्न सक्छु।’

उद्योग व्यवसाय छाडेर राजनीतिमा आउनु कति जायज हो भन्ने अर्को प्रश्नमा चौधरीले भने, ‘मैले उद्योग व्यवसाय नयाँ पुस्ता वा सक्षम व्यवस्थापनलाई जिम्मा लगाइसकेको धेरै समय भैसक्यो। अब मलाई न दाम चाहिएको छ, न नाम चाहिएको छ। देशप्रतिको माया र आर्थिक परिवर्तन ल्याउन पूर्णकालीन राजनीतिमा आएको हुँ। हामी आफ्नो घरमा बस्न किन नपाउने, आफ्नै देशमा कामको वातावरण किन नबनाउने भन्ने विदेशमा बस्ने नेपाली युवाहरूको आँखा र अनुहारको भाषाले मलाई राजनीतिमा ल्याएको हो।’

प्रकाशित: १४ कार्तिक २०७९ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App