५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

विकास गर्न अन्तर्राष्ट्रिय समर्थन चाहिन्छ: मन्त्री कार्की

फाइल तस्बिर।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास गर्न अन्तर्राष्ट्रिय समर्थन चाहिने दावी गरेका छन्। उनले अन्तर्राष्ट्रिय समर्थन बिना देशको विकास गर्न नसकिने जिकिर गरे।  

‘काँग्रेसलाई हिमाल, तराई र पहाडका जनताको विश्वास छ,’ काँग्रेस नेता समेत रहेका मन्त्री कार्कीले शनिबार सुनसरीको इनरुवामा तरुण दलले आयोजना गरेको कार्यक्रममा भने, ‘काँग्रेसलाई अन्तर्राष्ट्रिय विश्वास पनि छ, जसले गर्दा विकास गर्न सहज हुनेछ।’ उनले मुलुकको समृद्दिका निम्ति वेरोजगारको अन्त्य गर्नुपर्ने धारण राखे।  

‘हाम्रो मुलुकका युवाहरु गाउँमा भविष्य नदेखेर शहर पस्छन, अनि साना शहरमा पनि भविष्य नदेखेर ठूलो शहर पस्छन्। ठूला शहरमा पनि भविष्य नदेखेर खाडी मुलुक जान्छन,’ उनले भने, ‘विदेशमा नेपाली युवाले कठिनाई, फोहोर र खतरामा रहेर काम गर्नुपर्छ।’ कार्कीले मुलुकमै जलस्रोत, पर्यटन, व्यवसायिक खेती र  आइटी क्षेत्रलाई विकसित गरेर स्वदेशमै रोजगार प्रदान गर्ने सम्भावना रहेको बताए।  

सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधीसभाका उम्मेदवार रहेका कार्कीले २०७४ सालमा विजयी भएको आफ्नो निर्वाचन क्षेत्रका जनतामाँझ प्रतिबद्दता गरेका ८० प्रतिशत वाचा पुरा गरेकाले अब गरिबी र बेरोजगारी अन्त्यलाई प्राथमिकता राखेर अघि बढ्ने बताए। ‘म २०७४ सालमा सुनसरी क्षेत्र नं. ४ बाट चुनाब लड्दै गर्दा ममाथि ठूलो आरोप थियो, ज्ञानेन्द्रबहादुर कार्की चुनाब जिते पनि हारे पनि सुनसरी फर्कदैनन्। तर, पाँच वर्षमा मैले प्रतिबद्दता गरेका ८० प्रतिशता वाचा पूरा गरेको छु,’ उनले भने।  

उनले २०७४ सालमा प्रतिकुल अवस्थामा पनि आफू विजयी भएकाले गर्दा यसपटक त जितमा झनै सहज हुने दावी गरे। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री कार्कीले राजनीतिक स्थीरता, संविधानको रक्षा र देशलाई समृद्दिको बाटोतर्फ अघि बढाउन काँग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराउनुपर्ने बताए।  

मन्त्री कार्कीको सुनसरी क्षेत्र नं. ४ मा मुख्य प्रतिस्पर्धा एमाले–जसपाको गठबन्धनबाट एमालेका जगदीस कुसियतसँग हुनेछ। कुसियत प्रदेश नं. १ का पूर्व उद्योग, वातावरण, वन तथा पर्यटन मन्त्री हुन्।  

यस्तै, क्षेत्र नं. ४ मा प्रदेशसभामा काँग्रेस नेतृत्वको गठबन्धनबाट क्षेत्र नं. ४ ‘क’ बाट सदानन्द मण्डल र एमाले–जसपा गठबन्धनबाट जसपाका पर्शुराम बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस्र्तै, ४ ‘ख’ बाट गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेसका हाजी इसराइल मन्सुरी र एमालेका अब्बास अन्सारीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित: १२ कार्तिक २०७९ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App