१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

आसन्न निर्वाचन: सबैलाई कांग्रेसी मतकै ‘भरथेग’

गत स्थानीय तहको निर्वाचनमा देउखुरी क्षेत्रका कुनै पनि स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुका बीचमा तालमेल भएन। गठबन्धनमा आवद्ध दलहरुका बीच एक आपसमै चुनावी प्रतिष्पर्धा चलेको उक्त निर्वाचनमा देउखुरी (क्षेत्र नम्बर १ )का स्थानीय तहमा कांग्रेस हावी भयो। 

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि गठबन्धनमा आवद्ध दलहरुका बीचमा तालमेल हुने वा नहुने संशयमा एमाले देखियो। कारण: गत स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै भिड्दाको ‘दुखद नतिजा’ को ‘हकदार’ एमाले एकल रुपमा बनेको थियो। फलतः एमालेले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यो चाहन्थेन।  

स्थानीय तहको जस्तै कांग्रेसको जबरजस्त एकल प्रतिष्पर्धा हुने त्रासदीका कारण एमालेका आकांक्षी उम्मेदवारहरुमा पनि केहि अन्यौलता पैदा भयो। एमालेकी सचेतक शान्ता चौधरी र अर्की नेतृ गंगा चौधरी प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षी थिए। स्रोतका अनुसार शान्ता सत्ता पक्षीय दलहरुको चुनावी गठबन्धन चाहन्थिन्। अन्यथा निर्वाचनमा सहज जीत निकाल्न गाह्रो हुने उनको बुझाई थियो। ‘गठबन्धन भए चुनाव लड्ने र जीत निकाल्न सहज हुने उहाँको आशय थियो,’ एमाले स्रोतले भन्यो ‘देउखुरी अर्थात क्षेत्र नम्बर १ मा एकल रुपमा कांग्रेससँग भिड्ने परिस्थति कदापी सहज हुने थिएन।’  

सत्तागठबन्धनले यो निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका सहरी विकास मन्त्री मेटमणी चौधरीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार चयन गर्यो। गठबन्धनको यो निर्णय पछि एमालेले आफ्नो जीतको आशा देख्न थाल्यो। कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसी मत प्राप्त गर्न सकिन्छ भन्ने आत्म विश्वास एमाले नेतृ शान्तालाई पनि बढ्यो। फलतः शान्ता अर्की नेतृ गंगालाई पाखा लगाएर उम्मेदवार चयन भइन्।

यो क्षेत्रमा आफ्नो जनाधार कमजोर रहेको एमाले स्वयंले स्वीकार गरिसकेको छ। एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले केहि दिन अघि भनेका थिए ‘क्षेत्र नम्बर १ मा हामी कमजोर छौँ, तर अरु दुई वटा क्षेत्रमा भने  हाम्रो पकड बलियो छ।’ आफ्नो एकल जनधारले मात्रै जित नहुने पक्का जस्तै भएपछि उसले कांग्रेसी मतमाथि नजर गाडेको छ। कांग्रेसको पुरै मत नेकपा एसका उम्मेदवारलाई नजाने र त्यसको फाईदा आफूलाई मिल्नेमा शान्ता आशावादी छिन्। ‘कांग्रेसीहरु सबैले मेटमणीलाई भोट हाल्दैनन्, भोट क्रस हुन्छ र त्यसको फाईदा एमालेलाई हुन्छ भन्ने नै हो,’ एमालेका एक कार्यकर्ताले भने ‘एमाले त्यहि मत तान्नका लागि कसरतमा छ।’ 

त्यसो त, सत्तागठबन्धनका उम्मेदवार मन्त्री चौधरीका लागि पनि जित्ने निर्विकल्प आधार भनेकै कांग्रेसको मत हो। नेकपा एसको जनाधार पनि यो क्षेत्रमा झनै कमजोर छ। उसको एकल शक्तिले जित्न सक्ने आधार नै नरहने भएकाले उसको भरथेग भनेकै कांग्रेस हो। यसर्थ मन्त्री चौधरीलाई पनि कांग्रेसको पुरापुर मतलाई गठबन्धनमै कायम राख्नु पर्ने हुन्छ। ‘सत्ता गठबन्धनको मत कतै बाहिर जाने अवस्था हुन्न,’ मन्त्री चौधरी भन्छन् ‘चुनावमा मेरो जित पक्का छ।’

जिल्लाको यो क्षेत्रमा मात्रै हैन, जिल्लाका तीनवटै क्षेत्रका सत्ता गठबन्धनमा आवद्ध दलका उम्मेदवार र प्रतिपक्षी दलका उम्मेदवारको नजर कांग्रेसी मतमै छ। आगामी निर्वाचनमा निर्णायक मानिएको कांग्रेसको जनमतलाई आफ्नो पक्षमा पार्न सके मात्रै जित पक्का हुने सम्भावना देखि यहाँका उम्मेदवारहरु पुरापुरा जानकार छन्। फलतः गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुले कांग्रेसी मतलाई आफ्नो पक्षमै कायम राख्नका लागि मेहनत गरिरहेका छन् भने बिपक्षी उम्मेदवारहरुले पनि कांग्रेसी मतलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन्।  

दाङ क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी रेखा शर्मालाई एमालेका महासचिव शंकर पोख्रेललाई पराजित गरि प्रतिनिधिसभा प्रवेश गर्ने चुनौती छ। आफ्नो पार्टी माओवादीको पुरापुर शक्तिलाई एकीकृत गरेर गठबन्धनको पुरै शक्तिलाई पनि आफूमा केन्द्रीत गर्नु पर्ने परिस्थति उनका सामु छ। फलतः कांग्रेसको मतलाई गठबन्धन भन्दा बाहिर जान नदिने गरि कसरत थालिरहेकी रेखालाई थाहा छ कि ‘कांग्रेसी मत बाहिर गए जित सहज बन्ने छैन।’ तर गठबन्धन कार्यान्वयनको पाटो बलियो बनेको महशुस गरेकी रेखा भन्छिन् ‘गठबन्धन के का लागि भन्ने बुझाई आम मतदातामा भैसकेको छ, यसर्थ गठबन्धन कार्यान्वयनको पाटोमा कुनै आशंका हुने छैन।’

गठबन्धनकी साझा उम्मेदवार रेखाले कांग्रेसी मतलाई एकल ‘क्यास’ गर्ने रणनीति बनाईरहँदा बिपक्षी एमालेका महासचिव तथा यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेल भने कांग्रेसी मत ‘भाँड्न’ मेहनत गरिरहेका छन्। उनले पनि बुझेका छन् कि कांग्रेसी मतलाई क्यास गर्न सके जित सहज हुने छ। फलतः कांग्रेस भित्रका असन्तुष्ट मतहरुलाई आफ्नो पक्षमा पार्नका लागि कसरत थालिरहेका शंकर आफूलाई कांग्रेसको मत आउने बिश्वासमा छन्। ‘कांग्रेसको मत पनि आउँछ,’ एक एमाले नेताले भने ‘महासचिवको जित पक्का छ।’ त्यसोत, पोखरेलको ‘सम्भावित हेभिवेट’ चुनावी प्रचारलाई पनि बिपक्षी मतलाई क्यास गर्ने अस्त्रका रुपमा बुझ्न गाह्रो पर्दैन। 

जिल्लाको एक मात्रै हेभिवेट नेताका रुपमा प्रचार गरिएका पोखरेल बाहेक अन्यबाट विकासको सम्भव नरहेको तर्क पस्तुत भैरहेका छन्। अझ एमालेको भावी जिल्ला अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका उनलाई जिल्ला बासीकै एक मात्रै हेभिवेट र विकास गर्न सक्ने सम्भावित उँचो नेताका रुपमा दर्साउन खोजिएको छ। यसले आम मतदाता माझ आशा पैदा गर्ने र साझा मत पनि पोखरेलका पक्षमा रहन सक्ने लख एमालेलेका काटिरहेको छ।  

जिल्लाको तीन नम्बर क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। आफ्नो एकल बलबुतामै निर्वाचन जित्ने ‘ल्याकत’ राख्ने कांग्रेसका लागि गठबन्धनका अन्य चारदलको पनि सहयोग छ। यसर्थ पनि कांग्रेसले यो क्षेत्रमा आफ्नो पराजय देखिरहेको छैन। तर गिरी बिरुद्ध उम्मेदवार बनेकी एमालेकी कोमल ओलीलाई भने कांग्रेसको मत ‘चोर्नै पर्ने’ बाध्यकारी अवस्था छ। फलतः उनि पनि कांग्रेसी मतदाताहरु सामु लोकप्रिय नाराका साथ प्रस्तुत भैरहेकी छिन्। 

कांग्रेसी मतलाई क्यास गर्न सके मात्रै निर्वाचनमा विजयी हुने आधार देखेकी कोमललाई पनि कांग्रेसी मत त्यसमा पनि कांग्रेसको महिला मतले भरथेग देला भन्ने आशा छ। फलतः महिला मत क्यास गर्न सकिए जीत सहज हुन्छ भन्ने बुझेकी कोमलले महिला ‘सेन्टिमेन्ट’ लाई क्यास गर्न तल्लिन छिन्।  

कांग्रेसको मतमा किन सबैको नजर हुन्छ? कांग्रेसी जानकारहरुका अनुसार कांग्रेसीहरुको चरित्र उदार हुन्छ। कांग्रेसीहरु उदार भएकै कारण उनिहरु मतदानमा पनि उदार हुन्छन् भन्ने अपेक्षा अन्य दलको हुन्छ। ‘कांग्रेसको चरित्र उदार हुन्छन्, यहि चरित्रलाई नै प्रजातान्त्रीक चरित्र भन्छन्,’ कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदी भन्छन् ‘यहि उदार चरित्रकै कारण मतदातमा उनिहरु उदार हुन्छन् र त्यो मत हाम्रो पक्षमा पनि आउँछ भन्ने सोँच अन्य दलहरुमा आउँछ।’ कांग्रेस प्रजातान्त्रीक पार्टी भएका कारण उसका कार्यकर्ताहरुमा मुद्धा/एजेण्डामा ब्यापक छलफल हुन्छ। तर पार्टीगत निर्णय भएपछि भने कार्यकर्ताहरु पार्टी निर्णय प्रति नै प्रतिवद्ध हुने सुवेदी बताउँछन्। ‘कांग्रेसीहरुका बिचमा मुद्धाहरुमा ब्यापक छलफल हुन्छ, हुनु पछि पर्छ,’ उनले भने ‘तर पार्टीले जब निर्णय गर्छ, त्यो निर्णयमा सबै प्रतिवद्ध भएर लागिन्छ, लाग्नु पनि पर्छ।’ उनले पार्टी अनुशासनको परिधि भित्र मात्र उदारता हुनुलाई नै प्रजातान्त्रीक चरित्र मानिने भएकाले आगामी निर्वाचनमा पनि कांग्रेसीहरुमा यहि चरित्र प्रस्तुत हुने सुवेदी बताउँछन्। ‘कांग्रेसीहरुलाई भ्रमित पारेर कांग्रेसको मत खोस्न सकिन्छ भन्ने गलत कसरत एमालेले गरिरहेको होला,’ उपसभापति सुवेदी भन्छन् ‘कांग्रेसीहरु पार्टीभित्र मात्रै उदाहर हुन्छन्, अनुशासनको परिधि भित्र मात्र उदारता हुनुलाई नै प्रजातान्त्रीक चरित्र मानिने भएकाले पार्टीले गरेको निर्णयका बिरुद्ध गएर कुनै पनि प्रजातान्त्रीक कांग्रेसीले गलत निर्णय गर्ने कुरा हुँदैन, कांग्रेसीको मतलाई भ्रमित पार्ने प्रयास कदापी सफल हुने छैन।’ अहिले व्यक्तिगत वा पार्टीगत जित हार भन्दा पनि गठबन्धनको मूल मर्मलाई आम कार्यकर्ताहरुले बोध गरिसकेकाले आम कांग्रेसीहरु राष्ट्रियताको पक्षमा रहने उनको भनाइ छ।

प्रकाशित: १२ कार्तिक २०७९ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App