१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौं–६ मा प्रतिस्पर्धा गर्दै प्रधान–खनाल

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्। गठबन्धनको बलमा कांग्रेस नेता भीमसेनदास प्रधान आगामी परिणाम अझै सहजै आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् भने नेपाल प्रहरीको जागिरबाट अवकाशपछि एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल परिणाम उल्टाउने कसरतमा जुटेका छन्। उनीहरूलाई अन्य दुई दर्जन उम्मेदवारले चुनौती दिइरहेका छन्। ११ जना स्वतन्त्रमध्ये एकजनालाई मात्रै समर्थन गर्ने अवस्था रहे मात्रै दललाई टक्कर दिन सकिने यस क्षेत्रका मतदाताको भनाइ छ। स्वतन्त्र उम्मेदवार समेत यसलाई स्वीकार गर्छन्।

दुईपटक यही क्षेत्रबाट जित हासिल गरेका प्रधान उमेर र अनुभवले पाका हुन्। उमेरले प्रधान ६९ वर्षका भए। खनाल प्रधानभन्दा १३ वर्ष कान्छा हुन्। खनाल राजनीतिमा काँचा हुन्। पूर्वप्रहरी प्रमुख खनाल हालै मात्रै एमाले प्रवेश गरेर पार्टीको राजनीतिका सक्रिय देखिएका हुन्। खनालसँग मतदाताको नजिकको सम्बन्ध पनि कायम छैन।  

दुईपटक जित हालिस गरेका प्रधानले बौद्धिक र इमानदार नेताको छवि बनाएका छन्। उनी विवादमा पनि नआएका नेता हुन्। उनले २०७० सालको संविधान र २०७४ सालको प्रनिनिधिसभा निर्वाचनमा जित हासिल गरे। यसअगाडिका निर्वाचनमा पनि यही क्षेत्रमा उम्मेदवार बनेका उनी पार्टीमा समेत एकल वर्चस्व कायम गरेका छन्। मतदातामाझ भिजेको र निकट रहेका उनी २०७४ सालमा यो क्षेत्रबाट जितेपछि मतदातालाई सन्तुष्ट पार्न नसकेको र प्रतिबद्धताहरू तथा विकासका योजनाहरू औसत रूपमा अगाडि बढाउन नसक्दा यो क्षेत्र पछि परेको काँठ क्षेत्रका बासिन्दाको गुनासो छ।

उम्मेदवारसँग नीति, योजना तथा व्यक्तित्वजस्ता पक्ष मतदाताले खोजिरहेका छन्। तर यो क्षेत्रमा नयाँ अनुहारको अजेन्डा हेरेर उम्मेदवार फेर्न चाहे पनि अवस्था सहज छैन। भोट दिन खोजे पनि विश्वस्त भइहाल्ने अवस्था नरहेको यो क्षेत्रका मतदाताहरू बताउँछन्। गठबन्धनले जसरी पनि आफ्ना उम्मेदवार जिताउने पुरै शक्ति प्रयोग गर्ने रणनीतिमा छ। स्वतन्त्रको आधार देखिएको छैन। ‘स्वतन्त्रहरूले दलको भोट काट्ने अवस्था रहे पनि टक्कर नै दिने अवस्था छैन। आधार नै कमजोर रहेकाले जित निकाल्न सक्ने अवस्था देखिन्न। प्रतिस्पर्धी एमालेमा पनि स्थानीय उम्मेदवारभन्दा बाहिरको आउँदा अजेन्डामा मात्रै लोभिने अवस्था छैन।’

जितपुर–७ का स्थानीय मतदाता रामकृष्ण अर्यालले भने। ‘मतदाता एउटै उम्मेदवारलाई सधैं जिताएर पठाउँदा दिक्क छन्। तर अहिले पनि बाध्य हुनुपर्ने स्थिति देखिन्छ,’ उनले थपे। प्रधानले यो क्षेत्रमा विगतमा एमालेका लोकप्रिय र जनतासँग नजिक रहन चाहने नेतालाई समेत हराएको इतिहास छ। २०७० सालमा एमालेका प्रभावशाली नेता योगेश भट्टराईलाई उनले हराएका थिए। २०७४ सालमा वाम गठबन्धनका साझा उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई उनले हराए। सुवेदीलाई १ हजार ३ सय मतले हराएका थिए। प्रधानले १६ हजार ७ सय ८५ मत ल्याएका थिए। सुवेदीले भने १५ हजार ४ सय ८५ मत पाए। ‘विगतमा वाम गठबन्धनका कारण निर्वाचन आफ्नो पक्षमा पार्न कठिन बनेको र परिणाममा पार्टी नै ओरालो लागेको बेला मैले क्षेत्रमा जित कायम राखे। अहिले स्थानीय तह र सत्ता गठबन्धका कारण अवस्था थप अनुकूल छ,’ प्रधानले भने, ‘संविधान लेखनजस्तो गहन दायित्व पूरा भएको छ। संविधान मान्ने र त्यसलाई असफल बनाउने बीचको अहिलेको लडाइँ हो। यो क्षेत्रको विकासका लागि एजेन्डासहित आएको छु।’ विकास निर्माण तथा नमुना नगर बनाउने आफ्नो योजना रहेको उनले सुनाए।

संविधानमा उल्लेख भएका अधिकार प्रत्याभूत गराउन क्रियाशील हुने, उत्तरी क्षेत्रमा पछाडि परेका क्षेत्र र नगरमा आवश्यक पूर्वाधार तयार गर्ने, सहरका प्राकृतिक सम्पदा तथा बासस्थान जोगाउने उनका अजेन्डा छन्। त्यस्तै जेष्ठ नागरिकका लागि जीवन सहज बनाउन सिनियर सिटिन्ज स्कुल बनाउने, युवाका लागि रोजगारी सिर्जना तथा सीप विकास तालिम दिने, चौर र सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र पार्कहरू बनाउने तथा संरक्षण गर्ने, प्राकृतिक वन र वनस्पति संरक्षण, वन्यजन्तुको उचित बासस्थान निर्माण, एक घर एक शुद्घ खानेपानीको प्रबन्ध गर्ने, यो क्षेत्रका नगर र सहरमा बस्न योग्य बनाउने, धार्मिक तथा सांस्कृतिक कुरा संरक्षण गर्ने, आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने, ठमेल पर्यटकीय क्षेत्रको विकास गरी राज्यले उचित लाभ लिने योजना उनले अगाडि सारेका छन्।  

विगतको इतिहासमा साहना प्रधान तथा पद्मरत्न तुलाधरजस्ता व्यक्ति यो क्षेत्रमा उम्मेदवार थिए। २०४९ सालमा पिएल सिंहले स्थानीय तहको निर्वाचमा मेयर पदमा जित हासिल गरेका थिए। एमालेले यो क्षेत्रमा एउटै व्यक्ति नउठाउने हुँदा भीमसेन मतदातासँग टाढा छैनन्। कांग्रेस सदस्य सचिव उपसभापति जिल्ला सभापति बनेर भूमिका निर्वाह गरिसकेका प्रधान चौथोपटक यो क्षेत्रमा भिड्दैछन्। काठमाडौंको काँठ क्षेत्रका नगरपालिकाका अधिकांश भूभाग समेटको यो क्षेत्रका आफ्नै विशेषता र समस्या छन्। कृषियोग्य जमिन नष्ट हुँदा यसमा आश्रितहरूको जीविकोपार्जनमा समस्या छ। व्यवस्थित नगरका लागि थुप्रै काम बाँकी छन्। टोखा तथा तार्केश्वर नयाँ नगरपालिका विकास र पूर्वाधारमा पछि परेकाले यो क्षेत्रका जनप्रतिनिधिप्रति स्थानीयको असन्तुष्टि छ।  

‘यो काँठ क्षेत्रका उत्तर भूभाग विकासमा पछाडि छन्। मतदाताले परिर्वतन चाहेका छन्। तर बलियो र यो क्षेत्रमा मतदातासँग भिजेको निकट रहेको उम्मेदवार एमालेले दिन नसक्दा उही पुराना उम्मेदवारले निरन्तरता पाउने अवस्था पनि बनिरहेको छ,’ पूर्वमेयर रामेश्वर बोहराले भने। भीमसेनसँग प्रतिस्पर्धामा उत्रिएका सर्वेन्द्र अजेन्डामार्फत मतदाता रिझाउने कोसिसमा छन्। आफूले उठाएका विषयहरू पूरा गर्न उनले प्रतिबद्धता पनि जनाइरहेका छन्। सामुदायिक विद्यालयको गुणस्तर कायम गर्ने, खोला र करिडोरका अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराएर पार्क निर्माण गर्ने, नगरभित्र ज्येष्ठ नागरिक पार्क बनाउने, ५५ वर्ष माथिका नागरिकलाई ५ सय रूपैयाँमै नियमित स्वास्थ्य जाँच गर्ने, ठमेल पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण तथा ट्राफिक व्यवस्थापनका समस्या समाधान गर्ने, युवाहरूको सीप विकास तथा रोजगारीका विषयमा बाहिरका अवसर खोजी गरी विदेश पलायनबाट रोक्दै स्वदेशमै स्वनिर्भर बनाउनेजस्ता आकर्षक अजेन्डा जनतामाझ बाँडिरहेका छन्।

प्रधान र खनाल दुवैका अजेन्डा उस्तै छन्। तर भीमसेन यो क्षेत्रमा बलिया छन्। ‘जिताउने हिसाबले पार्टी सिंगो शक्ति लाग्ने गरी रणनीति बन्दैछ। विगतमा भन्दा यसपटक कडा प्रतिस्पर्धामा नै हुन्छ,’ बोहराले भने। एमाले पार्टीले उम्मेदवार फेर्ने र यो क्षेत्रलाई परीक्षण गर्ने स्थल बनाइरहेको छ। झक्कु सुवेदीदेखि योगेश भट्टराईलाई उम्मेदवार बनायो। उनीहरू यो क्षेत्रमा अहिले उठ्न चाहेनन्। भीमसेन विगतमा भन्दा अहिले एमालेका उम्मेदवार कमजोर परेकाले अझ सहज जित निकाल्न सकिने दाबी गर्छन्। संगठनिक पकड, व्यक्तिको विरासत, गठबन्धनको बलजस्ता कारणले कांग्रेसले जित निकाल्ने रणनीति लिएको छ।

दुई प्रतिस्पर्धीले आआफ्नै रणनीति बनाएर नतिजा आफ्नो पक्षमा पार्ने दाउ गरिरहेका छन्। स्वतन्त्रको अवस्था कमजोर भए पनि एउटै उम्मेदवारलाई समर्थन गर्ने रणनीति अगाडि सारेका छन्। तर यति हुँदा पनि स्वतन्त्रले जितिहाल्न कठिन नै रहेको स्वतन्त्रका उम्मेदवार प्रेम सागर कर्माचार्य स्वीकार गर्छन्। स्वतन्त्रका ६ वटा उम्मेदवारबीच एउटै उम्मेदवार मात्रै मैदानमा खटिने रणनीतिमा छलफल अगाडि बढेको प्रेम सागरले बताए ।  

कांग्रेस उत्साहित  

स्थानीय तहको मत परिणामका आधारमा तार्केश्वर नगरपालिकामा एमाले ४ हजार मतले हारेको थियो। कांग्रेसले ११ मध्ये १० वटा वडामा मेयर–उपमेयर जितेको छ। २०७४ सालमा कांग्रेस जम्मा दुईवटा वडामा सीमित थियो। यस निर्वाचन क्षेत्रभित्र पर्ने टोखा नगरपालिको पाँचमध्ये चारवटा वडामा एमाले र एउटामा मात्रै कांग्रेस विजयी भएका थिए। वडाध्यक्षले प्राप्त मतका आधारमा यो क्षेत्रमा कांग्रेसले १७ हजार २ सय ७७, माओवादीले २ हजार ४ सय ६२ नेकपा एकीकृत समाजवादीले १ हजार ८ सय ५९ र गठबन्धनको पक्षमा २० हजार ५ सय ८९ मत पाएको थियो र एमालेले १४ हजार ३ सय ३ मत पाएको थियो। काठमाडौं–६ मा जम्मा ६२ हजार ६ सय २ मतदाता छन्।  

प्रकाशित: १२ कार्तिक २०७९ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App