काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन्।
बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन्।
उनले सरकारी कार्यालयहरुमा चलाउने डकुमेण्टहरुमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन्। उनले अहिलेका राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान छ। संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत हो नेपाल सम्वत। जनतालाई ऋण मोचन गरेर, जनतालाई सबैभन्दा प्राथमिकतामा राखेर सुरुवात भएको हाम्रो माटोको, मौलिक नेपाल सम्वत विशेष कार्यक्रम गरेर मनाइरहेका छौँ। राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ। हामीले चलाउने डकुमेण्टहरुमा जबसम्म नेपाल सम्वत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ। नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ। जनतालाई ऋण मोचन गरे झैँ आफू भन्दा माथि जनता भनेर सोच्न जरुरी छ।’
उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन्।
प्रकाशित: ९ कार्तिक २०७९ ०६:०२ बुधबार