२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बिरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताए।

उनले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुनु नहुने पनि बताए। उनले राजावादीहरु आफूहरुलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै उनले आफूहरु राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै भएको उल्लेख गरे। प्रधानमन्त्री देउवाले गठबन्धन बिरुद्धको कुनैपनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे। उनले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे।

 उनले भने, ‘अहिलेका लागि गठबन्धनको खिलापमा ठूलो तागत लागिरहेको छ। राजावादी तागत निकै राष्ट्रवादी हुँ भन्न थालिसके। हद हुन्छ नि। राजावादी भएर राष्ट्रवादी हुने कुरा होइन। राष्ट्रवादी पनि हामी हौँ। प्रजातन्त्रवादी पनि हामी हौँ। समाजवादी पनि हामी हौँ।लाल सलाम पनि हामी हौँ। जय नेपाल पनि हामी हाैँ। यो गठबन्धनलाई कुनैपनि बाहानामा एक अर्का पार्टीकाप्रति शंका, उपशंका गर्ने काम नगरौँ। एकले अर्कालाई विश्वास दिलाउन लाग्नुपर्छ। गठबन्धन टुटाउन खोज्छन्, हामीलाई कुनैपनि भ्रम हुनु हुँदैन। सबै साथीहरुलाई मेरो अनुरोध छ, कुनैपनि हालतमा भ्रम सिर्जना गर्ने काम गर्नुहुँदैन नत्र हामीलाई नै सबभन्दा बढी नोक्शान हुन्छ। त्यो हामीले देखिसकेका छौँ। अहिलेको लागि गठबन्धन अपरिहार्य छ।भोलिको दिनमा पनि गठबन्धनकै सरकार बन्ने हो। अनिमात्र आएको प्रजातन्त्र, गणतन्त्र, समावेशिता लगायतका सबै कुराहरु स्थापित गर्नसक्छौँ। सबैलाई म के अनुरोध गर्छु भने हामी एक भएर जाऔँ। कुनै किसिमका शंका, उपशंकाका काम हामी नगरौँ।’

उनले माओवादी केन्द्र, समाजवादी र राष्ट्रिय जनमोर्चाले आफूलाई सम्मान गरेर प्रधानमन्त्री बनाएको भन्दै गठबन्धन बलियो बनाउनु र बचाउनु नेपाली काँग्रेसको कर्तव्य हुने बताए। समावेशिता, संविधान र गणतन्त्र बचाउन अझै केही वर्ष गठबन्धन आवश्यक रहेको उहाँको भनाई छ।

प्रकाशित: ४ कार्तिक २०७९ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App