७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

घरभेटमा व्यस्त गोरखाका उम्मेदवार

गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाई र गोरखा २ का उम्मेदवार अब्दुस मियाँ।

निर्वाचन आयोगले चुनावको १७ दिन अघिदेखि मौन अवधी सुरु नहुँदासम्म १५ दिन मात्रै चुनावी सभा गर्न पाउने आचारसंहिता बनाएको छ।

आचारसंहितामा राजनीतिक दलहरुले सहमति जनाएपछि अहिले त्यो सहमति दलहरुका लागि घाँडो भएको छ। तुल ब्यानर, चुनाव चिन्हसहितका प्रचार सामग्री राखेर सभा सम्मेलन जस्ता कार्यक्रम गर्न नपाउने भएपछि मंसिर ४ को चुनावी तयारीमा उम्मेदवार अहिले घरभेट र आन्तरिक प्रशिक्षण केन्द्रित छन्।

तुल ब्यानर राख्ने, कार्यक्रम गर्ने आचारसंहिता विपरीत काम गर्ने क्रम बढेपछि जिल्लामा अनुगमनमा पनि कडाइ गरिएको छ। ‘आचारसंहिता उलंघन गर्नेलाई सचेत गराउने र स्पष्टिकरण सोध्ने काम भइरहेको छ’ आचारसंहिता अनुगमन अधिकृत महेन्द्रप्रसाद भण्डारीले भने। निर्वाचन आयोगले कडाइ गर्न थालेपछि राजनीतिक दल र उम्मेदवारहरु सचेत देखिएका छन्।

गोरखामा सत्ता गठबन्धन दलले पार्टीका अगुवा कार्यकर्तालाई एक्ला एक्लै र संयुक्त प्रशिक्षण दिइसके। अहिले उम्मेदवार मतदाता भेट्न पसेका छन्। घरभेट गर्ने, टोलमा केही मानिसका बीचमा जाने भेट्ने काममा गठबन्धन दलका उम्मेदवारको समय बितिरहेको नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाले बताए।

‘संयुक्त कार्यक्रम बनाएर प्रदेश र संघका उम्मेदवारहरु पार्टीका नेताहरुसहित गाउँ जानुभएको छ, अहिले धेरै कार्यक्रम अनौपचारिक भएका छन्’ उनले भने। सत्ता गठबन्धन बाहिरको एमाले गठबन्धन दलहरु पनि चुनावी भेटघाट र बैठकमा व्यस्त छन्। एमाले गोरखाले अहिले पार्टीको विभिन्न कमिटिको बैठक व्यक्ति व्यक्तिसँग भेटघाटलाई तीव्रता दिइरहेको जिल्ला सचिव काजिराम रोकाले बताए। ‘अहिले योजना बनाउने काम भइरहेको छ’ उनले भने ‘जिल्ला पार्टीले सहजिकरण गरिरहेको छ सबै उम्मेदवार आफ्नो क्षेत्र तोकिएको यरियाभित्र हुनुहुन्छ।’

नेपाली कांग्रेसबाट गठबन्धन तर्फ गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाई गोरखा नगरपालिकाभित्रका विभिन्न वडामा भेटघाट गरिरहेका छन्। नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेत आरुघाट, धार्चे गाउँपालिकामा भेटघाटमा व्यस्त छन्। गोरखा १ ‘क’ का उम्मेदवार कृष्ण धिताल शहीदलखन, गण्डकीमा भेटघाट गरिरहेका छन् भने गोरखा १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपाने भिमसेन थापा गाउँपालिकाको आश्राङ बोर्लाङमा भेटघाट गरिरहेका छन्।

गोरखा २ मा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक प्रशिक्षण र भेटघाटमा मात्रै सहभागी छन्। अन्य उम्मेदवार जस्तो उनी घरभेट र टोलटोलमा मतदाता भेट्ने गरी अहिले पुगेका छैनन्। गोरखा २ ख मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे मतदाता भेटघाटमा छन्। टोलटोलमा उनी पुगेर प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र प्रदेशमा आफ्नो लागि मत मागिरहेका छन्। दाहालले देशभरका कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले गोरखा निरन्तर समय दिन नसक्ने पहिल्यै बताएका थिए।

गोरखा २ क मा प्रचण्डका लागि गठबन्धन तर्फबाट उम्मेदवार फडिन्द्र देवकोटाले भोट मागिरहेका छन्। उनी पालुङटार नगर क्षेत्रमा केन्द्रित भेटघाटमा व्यस्त छन्। गोरखा २ मा एमाले उम्मेदवार अब्दुस मियाँ सिरानचोकमा भेटघाट गरिरहेका छन्। अस्पताल, विद्यालयहरुको अवस्था बुझ्ने काम गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। गोरखा २ क का एमाले उम्मेदवार राजु राना पालुङटार नगरपालिका केन्द्रित प्रचारमा छन् भने ख का उम्मेदवार बसन्त गुरुङ अजिरकोट र बारपाक सुलिकोट तिर छन्।

गोरखा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका कबिन्द्र बुर्लाकोटी गोरखा र पालुङटार नगरपालिका क्षेत्रमा ब्यस्त देखिन्छन्। अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि सामाजिक सञ्जालमा पोस्ट राख्ने मत माग्ने, भेटघाट गर्ने गरिरहेका देखिन्छन्। ग्रामिण भेगमा चुनावी चहलपहल सुरु भइसकेको छ।

प्रकाशित: ३ कार्तिक २०७९ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App