२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाङमा सत्ता गठबन्धन: मत जोगाउन सके ‘काफी’

दाङ क्षेत्र नम्बर २ मा जसरी पनि आगामी निर्वाचनमा जित निकाल्न खोजेको एमालेले यो क्षेत्रको बंगलाचुली गाउँपालिका माथि नजर गाडेको छ। यो क्षेत्रका दुई स्थानीय तह मध्ये घोराही उपमहानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एकल पकड जमाएको एमालेले आसन्न निर्वाचनमा पनि यो उपमहानगरको मत आफ्नै पक्षमा हाबी हुने देखेको छ।

तर निर्णायक मत रहेको बंगलाचुली गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा कांग्रेस एमाले गठबन्धनले बनाएको बलियो ‘गढ’ भत्काउन सके मात्रै सहज जीत एमालेका रहन्छ नै। यो पालिकामा एमाले वडा देखि पालिका नेतृत्व सम्म शून्य जीतको अवस्थामा रह्यो। फलतः एमालेले यो पालिकामा आफ्नो कसरतलाई बलियो पारेको छ। त्यसो त, एमालेका महासचिव शंकर पोख्रेल यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले पनि एमालेको पुरै शक्ति यसै क्षेत्रमा केन्द्रीत छ।  

तर क्षेत्र २ को निर्णायक मानिएको आफ्नो गढलाई कुनै पनि हालतमा भत्कन नदिने गरि कांग्रेस माओवादी मत बचाउमा लागेका छन्। यो क्षेत्रको गठबन्धनको साझा मतलाई जोगाउन सके मात्रै जीत काफी देखेका सत्ता गठबन्धनमा आवद्ध दलहरु मत खोसिन नदिने रणनीतिमा लागेका छन्। ‘गठबन्धनका पक्षमा स्थानीय तहको निर्वाचनमा खसेको मत हाम्रो जीतका लागि काफी हुन्छ,’ कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले भने ‘त्यो मतलाई सुरक्षित राख्छौँ र आगामी निर्वाचनमा गठबन्धनको जीत निकाल्छौँ।’ गत स्थानीय तहको वडागत मत परिणामलाई हेर्ने हो भने  दाङ क्षेत्र नम्बर २ मा एमाले भन्दा गठबन्धनको मत झण्डै तीन हजारले बढि देखिएको छ।  

गठबन्धन भित्र रहेका दल र दलका नेता तथा कार्यकर्ताहरुका बिचमा अन्तरघुलन भइरहेको र यो सामिप्यताले गठबन्धनको मत गठबन्धनका उम्मेदवारहरुलाई नै जानेमा उनीहरु विश्वस्त देखिएका छन्। फलतः यो सम्बन्धलाई थप कसिलो बनाउनका लागि दलका जिल्ला देखि तल्लो ईकाईहरु सक्रिय छन्। ‘राष्ट्रियता जोगाउनका लागि भएको यो गठबन्धनका पक्षमा जसरी पनि माहोल सिर्जना गर्नै पर्ने हुन्छ,’ कांग्रेस २ का सभापति खड्काले भने ‘यो गहन जिम्मेवारीमा रहेर गठबन्धनको पक्षमा माहोल बनाउन तल्लो तह सम्मका ईकाई समितिहरु सक्रिय बनेका छन्।’ यो क्षेत्रमा गठबन्धनमा आवद्ध दलहरुका बिचमा सन्तुलन कायम राख्नका लागि प्रतिनिधिसभामा माओवादीले र प्रदेशसभाका दुई वटै क्षेत्र कांग्रेसले भागभण्डा गरेका छन्।  

जिल्लाको क्षेत्र नम्बर २ मा मात्रै हैन, गत स्थानीय तहको निर्वाचनमा प्राप्त वडागत मतलाई हेर्ने हो भने जिल्लाका तीन वटै क्षेत्रमा एमाले भन्दा गठबन्धनको मत बढि छ। स्थानीय तहमा देखिएको मतभारलाई जोगाउन सके मात्रै जिल्लाका सबै क्षेत्रमा सहज जीत हुने गठबन्धनमा आवद्ध दलहरु ढुक्क देखिएका छन्। फलतः उनीहरुले निर्वाचनमा एकले अर्को दलको अस्तित्व स्वीकार्ने गरी भुमिका निर्वाह गरिरहेका छन्। ‘मैले कांग्रेस र माओवादी भनेर भेदभाव नगरेर गठबन्धनका नेता तथा कार्यकर्ता सबै एकै भएको र सबैलाई एकै व्यवहार गर्न स्थानीय नेता तथा कार्यकर्ताहरुलाई भनेको छु,’ माओवादी नेता तथा दाङ क्षेत्र नम्बर १ क बाट गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रजीत चौधरीले भने ‘गठबन्धनको भोट तलमाथि नहोओस् भनेर गठबन्धका सबै दलका नेता तथा कार्यकर्ताहरु गम्भिर भएको लागेको अवस्था छ।’ यो क्षेत्रमा गत स्थानीय तहको वडा गत मतलाई हेर्ने हो भने गठबन्धनको भन्दा एमालेको मत २५ हजार मतले कम छ। गठबन्धनमा आवद्ध दलहरु अहिले यहि मतान्तरलाई जोगाउनका लागि लागि परेका छन्। यो क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले एक/एक सिट भागबण्डा गरेका छन्। प्रतिनिधिसभामा नेकपा एस, र प्रदेशसभा क्षेत्र एक/एक वटा कांग्रेस र माओवादीको भागमा परेको छ।  

यता क्षेत्र नम्बर ३ का ३ वटा गाउँपालिकामा एकल नेतृत्वमा बाजी मारेको नेपाली कांग्रेस यो क्षेत्रमा प्रमुख दलका रुपमा उभिएको छ। तुलसीपुर उपमहानगरपालिका बाहेक अन्य तीनवटै पालिकामा जीत निकालेको कांग्रेस सहित गठबन्धनमा आवद्ध दलहरु एक बन्दा यो क्षेत्रमा पनि गठबन्धनको शक्ति एमालेको भन्दा बलियो छ। गत स्थानीय तहको वडागत मतलाई हेर्ने हो भने यो क्षेत्रमा एमाले भन्दा गठबन्धनको मत ३ हजारले बढी छ। यो मतलाई जोगाएर यो क्षेत्रमा पनि बाजी मार्ने रणनीतिमा गठबन्धनमा आवद्ध दलहरु कसरतमा छन्। ‘यहाँको मत जोगाउनका लागि गठबन्धनमा आवद्ध दलका बीचमा आपसी सामिप्यता नै प्रमुख बिषय हो,’ कांग्रेस क्षेत्र नम्बर ३ का सदस्य सुबास डाँगीले भने ‘त्यसका लागि हामीहरुले एक अर्कासंग निकटस्थ रहेर काम गरिरहेका छौँ, भावनात्मक एकताको सन्देश पनि आम कार्यकर्ता सामु दिइरहेका छौँ।’ चुनावी अभियानका क्रममा बनेका विभिन्न चुनावी समितिहरुमा पनि सामुहिक प्रतिनिधित्व रहेकाले पनि गठबन्धन कार्यान्वयनका लागि सबै नेता तथा कार्यकर्ताहरुलाई थप जिम्मेवार बनाएको डिसीले बताए। यो क्षेत्रमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र एउटा प्रदेशसभा क्षेत्रमा कांग्रेस र एउटा प्रदेशसभा क्षेत्रमा माओवादीका उम्मेदवार छन्।  

गत स्थानीय तहको निर्वाचनमा गठबन्धन कार्यान्वयन त्यति मजबुत नभएको टिप्पणी गठबन्धनमा आवद्ध दलहरुका बीचमै भयो। कांग्रेसका उम्मेदवारलाई माओवादी वा गठबन्धनमा आवद्ध अन्य दलले नदिएको तथा माओवादी वा अन्य दलका उम्मेदवारहरुलाई कांग्रेसीहरुले मत नदिएको विश्लेषण गठबन्धनमा आवद्ध दलहरुका बीचमै भयो। स्थानीय तहको निर्वाचनमा देखिएको त्यो कमजोरीलाइ सच्याएर मजबुत गठबन्धन निर्माणका लागि अहिले उनीहरु प्रतिवद्ध देखिएका छन्। ‘हिजो स्थानीय तहको निर्वाचनमा गठबन्धन कार्यान्वयनमा केहि साना मसिना समस्या देखिएको समिक्षा भयो, तथापी त्यो मतलाई हेर्ने हो भने पनि अहिले जिल्लाका सबै क्षेत्रमा गठबन्धनको मत एमालेको भन्दा बढी नै छ,’ कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीले भने ‘त्यो मतलाई सुरक्षित राख्ने गरि हामी गठबन्धनमा आवद्ध दलहरुले होमवर्क गरिरहेका छौँ, र अहिले गठबन्धन कार्यान्वयनको पाटो फितलो हुन्न, एक ढिक्का बनेर गठबन्धनका लागि मत हाल्ने वातावरण निर्माण हुन्छ।’  

यसका लागि गठबन्धनमा आवद्ध दलहरुले जिल्लादेखि वडा तह सम्मका चुनावी समितिहरु गठबन्धनमा  आवद्ध दलका प्रतिनिधिहरुलाई समावेश गरेर निर्माण गरिएका छन्। ‘गठबन्धन कार्यान्वयनको पाटो बलियो बनोस्,गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुका बिचमा सामिप्यता कसिलो बनोस् भनेर जिल्लादेखि वडा तह सम्मका चुनावी समितिहरु संयुक्त प्रतिनिधित्वका आधारमा बनाईएका छन्,’ उपसभापति सुवेदीले भने ‘यसरी बनेका समितिहरुले एकले अर्को दलको अस्तित्वलाई निर्वाचनमा स्वीकार गरेर मतदान गर्ने वातावरण निर्माण हुन्छ।’

स्थानीय तहको निर्वाचनमा उम्मेदवार आकांक्षीहरु बग्रेल्ती हुन्छन् नै। टिकट नपाउँदा निम्तने असन्तुष्टिका कारण पनि स्थानीय तहको निर्वाचनमा सामान्य असन्तुष्टि देखिएको तर्क दाङ २ ख का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्ड न्यौपानेको छ। ‘स्थानीय तहको निर्वाचनमा टिकटका आकांक्षीहरु धेरै हुन्छन्, टिकट नपाउँदाको असन्तुष्टि स्वाभाविकै रुपमा देखिन्छ,त्यो भएको देखिएका सामान्य असन्तुष्टिको कारण त्यहि नै हो,’ लुम्बिनी प्रदेश कांग्रेसका प्रवक्ता समेत रहेका न्यौपानेले भने ‘तर आसन्न निर्वाचनमा त्यो असन्तुष्टि देखिन्न, किनकी त्यो बेला देखि अहिलेको समय सम्म गठबन्धन दलका बिचमा बलियो अन्तरघुलन भएको छ,तालमेल बलियो बनेको छ।’

प्रकाशित: ३ कार्तिक २०७९ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App