१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

काममा फर्किए नेपाल वायु सेवा निगमका पाइलट

समान सेवासुविधाको माग गर्दै आन्दोलन गरिरहेका वायु सेवा निगमका पाइलटहरू काममा फर्किएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा आन्दोलन गरेर बिदामा बसिरहेका नेपाल वायुसेवा निगमका स्थायी पाइलटहरू मंगलबार रातिदेखि काममा फर्किएका हुन्।

निगमका इन्जिनियरिङ मर्मत–सम्भार विभाग तथा प्रवक्ता मनोजकुमार शाहका अनुसार निगमको फ्लाइट अपरेसन विभागले मंगलबार रातिदेखि स्थायी पाइलटसहितको रोष्टम तयार पारेको बताए। ‘उहाँहरू अहिले काममा फर्किसक्नुभएको छ’, प्रवक्ता शाहले भने, ‘मंगलबार रातिदेखि नै उहाँहरूसहितको रोष्टम तयार भइसक्यो, रातीदेखि नै उडान गरिसक्नुभयो।’

पर्यटन सचिवसहितको समूह र आन्दोलनरत पाइलटहरू वार्तामा बसेर छलफल गरेपछि मन्त्रालयका तर्फबाट समान सेवा सुविधाका पाइलटहरूले माग गरेको विषयलाई वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता गरेपछि उनीहरू काममा फर्किएको जानकारी प्रवक्ता शाहले दिए।

मंगलबार साझँसम्म निगमका आठ जना पाइलटको रोष्टममा तत्कालै उडान तालिका थिएन। एकै पटक धेरै स्थायी पाइलटहरू काममा नआएपछि निगमको फ्लाइट अपरेसन विभागले मंगलबार साँझसम्म उनीहरू बाहेकका पाइलटहरूको मात्र रोष्टम तयार गरी उडान गरेका थिए।

करारका पाइलटसरह स्थायी पाइलटको सेवा सुविधा हुनुपर्ने भन्दै एकै पटक स्थायी पाइलटहरू विभिन्न कारण देखाइ वायु सेवा निगमसँग असन्तुष्ट भइरहेका थिए। सोही क्रममा गत बिहीबारदेखि भने झण्डै दर्जन स्थायी पाइलटहरू अन्तिम समयमा विभिन्न बहना गरेर काममा आएका थिएनन्। झण्डै एक दर्जन स्थायी पाइलटहरू एकैसाथ ‘बिरामी परेको’ र ‘भैपरी काम आइपरेको’ भन्दै बिदामा बसेका थिए।

समान जहाज र उडानका लागि स्थायी पाइलटले करारमा कार्यरत पाइलटभन्दा कम सेवा सुविधा रहेकोमा स्थायी पाइलटको आपत्ति छ। सोही विषयलाई लिएर पाइलटहरूले केही महिनादेखि असन्तुष्टि जनाउँदै आएका छन्। यसै विषयमा निगम व्यवस्थापन समितिसँग पाइलटहरूले छलफल गरेका थिए तर सो छलफले निकास दिन नसकेपछि निगमले पाइलटहरूको मागसहितको फाइल पर्यटन मन्त्रालयमा पठाएको थियो।

पर्यटन मन्त्रालयबाट करार र स्थायी पाइलटका असमान सेवासुविधासम्बन्धी फाइल हाल अर्थ मन्त्रालयमा छ। हाल अर्थ मन्त्रालयमा पुगेकाको फाइल अर्थबाट स्वीकृत भएपछि मात्र व्यवस्थापन समितिले लागु गर्ने निगमले जनाएको छ।

फाइल व्यवस्थापन समिति, मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म आइपुग्दा आफ्ना माग सम्बोधन गर्न ढिलाइ भएको भनी स्थायी पाइलटहरू विभिन्न बहाना बनाइ काममा आउन छाडेका थिए। जसले गर्दा निगमको उडान प्रभावित भएको र सयौं यात्रु अलपत्र परेका थिए।

करारमा कार्यरत विज्ञ पाइलटसरह तलब पाउनुपर्ने माग राख्दै स्थायी पाइलटहरूले एक महिनाअघि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए। सो बेला अधिकारी बिदामा थिए।

अधिकारी बिदामा भएपछि पाइलटहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई मन्त्रालयमा भेटेरै ज्ञापन बुझाएका थिए। मन्त्री पाण्डेले कात्तिक महिनाको समय मागेका थिए। कात्तिक महिनासम्म पनि उनीहरूको माग सम्बोधन नभएपछि भने पाइलटहरू सल्लाह गरेर बिदामा बसेका थिए। यसले गर्दा जहाज उडान एक देखि १० घण्टासम्म ढिलो भएको थियो।

एकै पटक धेरै पाइलट बिदामा बसेपछि निगमको उडान प्रभावित भएको थियो। यसै क्रममा गत आइतबार निगमको न्यारोबडी जहाजको उडानमा चार घन्टा ढिलो भएपछि यात्रु आक्रोशित भएका थिए। पैसा तिरेर पनि समयमै उडान नभएपछि यात्रुहरू आक्रामक बनेका थिए।

परिस्थिति असहज भएपछि निगमका कर्मचारी पनि भागाभाग भएका थिए। सोही क्रममा यात्रुहरूलाई सम्झाइबुझाइ विमानस्थलभित्रकै लाउन्जमा राखेर छलफल गरी परिस्थितिलाई सहज बनाइएको थियो।

प्रकाशित: १३ मंसिर २०८१ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App