६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

भोट माग्दै गाउँ पसे उम्मेदवारहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्। दुर्गम जिल्ला कालिकोटमा चुनाव नजिकिँदै गर्दा एमाले र स्वतन्त्र उम्मेदवारहरु लगायतका अन्य साना दलका उम्मेदवारहरू प्रचारप्रचारमा जुटेका हुन्।

विषेश गरी नेकपा एमालेका उम्मेदवारहरु भोट माग्दै गाउँ पसेका छन्। २ वटा प्रदेशसभा सदस्य र एक प्रतिनिधिसभा सदस्यको लागि पाँच दलिय गठबन्धनसँग लड्न एमालेले उम्मेदवार छनोट गरी प्रचारप्रसारका लागि आइतबारदेखि जिल्लाका विभिन्न क्षेत्रमा लागेका छन्। यस्तै प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार पूर्व माओवादी नेता काशीचन्द्र बराल र प्रदेश सभा २ मा गठबन्धनविरुद्ध उम्मेदवारी दिएका पलाँता गाउँपालिकाका निवर्तमान अध्यक्ष लक्ष्मणवहादुर बम पनि भोट माग्न गाउँमा पसेका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन बनेको कालिकोटमा एमाले एक्लै चुनावमा भिड्न लागेको छ। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग एमालेका केन्द्रिय सदस्य नगेन्द्र शाही निकै उत्साहका साथ चुनावमा भिड्न लागेका छन्। यस्तै गठबन्धनकै नेपाली कांग्रेसका पुराना नेता हिक्मतबहादुर विष्टसँग एमालेका बिरेन्द्र वोगटी, स्वतन्त्र उम्मेदवार लक्ष्मणबहादुर बम र गठबन्दनको विरुद्धमा लडेको नेकपा एकीकृत समाजवादीका विश्वराज बम भिड्ने भएका छन्।

यस्तै प्रदेशसभा (क) मा गठबन्धनकै दुर्गबहादुर रावत र पूर्वमन्त्री कुर्मराज शाहीबीच भिडन्त हुने भएको छ। रावतले यसअघि प्रतिनिधीसभा सदस्य जितेका थिए। अहिले उनलाई गठबन्धनले प्रदेशसभामा लगाएको छ। यस्तै प्रदेश ‘क’ एमालेको प्रभाव क्षेत्रका रुपमा रहेकाले पनि उक्त क्षेत्रबाट एमाले जित सुनिश्चित रहेको एमालेको दाबी छ।

उक्त क्षेत्रको खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका एमालेकै जनमत धेरै रहेकाले यस क्षेत्रबाट जित सुनिश्चित रहेको एमालेबाट उम्मेदवार बनेका कुर्मराज शाहीको दाबी छ। प्रचारका क्रममा जनताको घरदैलोमा पुग्दा जनताले एमालेबाहेक अरु कसैलाई नचिन्ने भएकाले यसपटक एमालेका तीनैजना उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाइ छ। सो क्षेत्रमा कांग्रेस बलियो भएतापनि अहिले माओवादीको भागमा उम्मेदवारी रहेको छ।

त्यस्तै, गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही जिल्लामा पुगेका छन्। एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेर भोट माग्न गाउँ पसिरहँदा गठबन्धनका उम्मेदवार भने जिल्लामा समेत पुग्न सकेका छैनन।

त्यसैगरी आफूले टिकट नपाएको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय लेखा आयोगका सदस्य तथा रास्कोट नगरपालिकाका निवर्तमान नगरप्रमुख कासीचन्द्र बरालले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार दिएर प्रचारप्रसारमा खटिएका छन्।

प्रकाशित: ३ कार्तिक २०७९ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App