६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थिरता र विकासको पक्षमा मतदान गर्न तीन दलको अपिल

नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनका दलहरूले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन्। सत्ता गठबन्धनमा रहेको कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षहरूले सोमबार संयुक्त अपिल जारी गर्दै लोकतान्त्रि गणतन्त्र, संविधान र विधिको शासनको स्थापित गर्न कांग्रेस नेतृत्मा रहेको गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

मुलुकको आर्थिक विकास, सुशासनसहित राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकता रहेको औल्याउँदै तीन दलका अध्यक्षहरूले मंसिर ४ गतेपछि गठनबन्धनको सरकार बनाउने प्रतिबद्धता औंल्याएका छन्। संविधानको मर्मविपरीत केपी ओली नेतृत्व सरकारले प्रतिनिधिसभा विघटन गरेको भन्दै उनको स्वेच्छाचारी कदमलाई परास्त गर्न र संविधानको रक्षा गर्ने उद्देश्यले अहिलेको गठबन्धन निर्माण भएको उल्लेख गरेका छन्। ‘२०७८ असारमा निर्माण भएको सत्ता गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्मविपरीत दुई–दुई पटक गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजाहेर छ,’ तीन दलका अध्यक्षहरूले जारी गरेको अपिलमा भनिएको छ, ‘पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावनाअनुरूप काम गर्दै आएको छ।’

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएसँगै कोरोना भाइरसको नियन्त्रण, विदेश नीतिमा सन्तुलन कायम गर्नुको साथै आवश्यकता पूर्तिका निम्ति निरन्तर क्रियाशील रहेको उल्लेख छ। सरकार गठनको छोटो अवधिमा लोकतन्त्रलाई संस्थागत गर्न संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति गर्दै भयरहित वातावरणमा निष्पक्ष रूपमा स्थानीय निर्वाचन गराएको उल्लेख गरेका छन्। ‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गर्दै जनताकोे संघर्ष र बलिदानको परिणामस्वरूप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ,’ उनीहरूले भनेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको भन्दै उनीहरूले देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाकोे सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्। ‘उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरहरूको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणकोे राष्ट्रिय कार्यभारलाई गठबन्धन दलले उच्च प्राथमिकता दिने छ,’ उनीहरूले भनेका छन्। मुलुकभित्रै औद्योगिक एवं कृषि उत्पादन वृद्धि गर्ने र लाखौंको संख्यामा देशबाट बाहिरिइरहेको युवा जनशक्तिका लागि देशभित्रै व्यवसाय, स्वरोजगारी र रोजगारीका अवसरहरू सिर्जना गर्ने विषय गठबन्धनको उच्च प्राथमिकतामा रहने उल्लेख छ।

कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवं बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरण गर्न आयत प्रतिस्थापन, निर्यात प्रवद्र्धन र नेपालको तुलनात्मक लाभ एवं प्रचुर सम्भावना भएका जलविद्युत्जस्ता क्षेत्रहरूको विकास नै अहिलेको आवश्यकता भएको उनीहरूले औंल्याएका छन्। पर्याप्त निजी, सहकारी एवं सार्वजनिक लगानी वृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिने जनाइएको छ। ‘यस्तो लगानीका लागि आवश्यक वातावरण, राजनीतिक स्थिरता, नीतिहरूको सुनिश्चितताप्रति गठबन्धन सचेत छ,’ भनिएको छ।

तिनै तहका सरकारबीचको सहकार्यले मात्र जनताको समृद्धिको आकांक्षालाई यथार्थमा साकार गर्न सकिने भन्दै यातायात पूर्वाधार, सूचना प्रविधि र ऊर्जा विकास तथा अन्य आर्थिक गतिविधिबाट मुलुकलाई लाभ दिलाउनु तत्कालका प्राथमिकताहरू भएको जनाएका छन्। ‘सडक, रेल, हवाई यातायातको विस्तार गरी त्यसलाई विश्वसनीय र सुरक्षित बनाउन निरन्तरको प्रयास आवश्यक छ,’ उनीहरूले भनेका छन्। जलविद्युत्को विकासमार्फत मुलुकको आवश्यकता पूर्ति गर्दै मुलुकमा उद्योग व्यवसायको विस्तार गर्न, सफा ऊर्जाको उपभोग बढाएर वातावरण विनाश रोक्न, स्वदेशमा उत्पादित विद्युत्को निर्यात बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाई भयावह बन्दै गएको व्यापार घाटालाई कम गर्ने पनि उल्लेख छ।

आर्थिक अभावका कारण आधारभूत शिक्षा र स्वास्थ्यको अवसरबाट कोही पनि नेपाली वञ्चित हुने छैनन् भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरी सेवाको उपलब्धता र गुणस्तरमा उल्लेख्य सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा दिन, योग्यता र क्षमता अनुरुपको सीप सुनिश्चित गर्र्दै अध्ययनसँगै आयआर्जन गर्न र अध्ययनपछि लाभदायी रोजगारी सुनिश्चित गर्न सबै सरोकारवालाहरूको साझा प्रयास आवश्यकता रहेको बताएका छन्।

पूर्वीय चिन्तन, संस्कृति र सभ्यताका सकारात्मक वैज्ञानिक सोचहरू तथा त्यसको अभिन्न अंगको रुपमा रहेको योग, साधना, ध्यानजस्ता मानव जीवनोपयोगी अभ्यासको प्रवद्र्धनमा जोड दिइने पनि जनाइएको छ। 

प्रकाशित: २ कार्तिक २०७९ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App