नेपाल पुलिसको ब्यान्ड टोलीले मंगलधुन बजाएर खेलाडीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो। आफन्त तथा खेलपदाधिकारीले खेलाडीलाई फूलमाला, अबिर लगाउनुका साथै सगुन खुवाएर स्वागत गरेका थिए। पदक जित्न नसकेका केही खेलाडी आफन्तको अंगालोमा बाँधिएर भावविह्वल हुन पुगे।
पहिलो लटमा आएका तेक्वान्दो टोलीका स्वर्णधारी दीपक विष्ट र आयशा शाक्य टेलिभजन क्यामराबाट घेरिए। बाहिर निस्कने क्रममा उनीहरूले आफन्तसँग भेट्नसमेत पाएनन्।
खेलाडीलाई स्वागत गर्न नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्यसचिव समिममियाँ अन्सारी, सदस्य मीनकृष्ण महर्जनलगायत पदाधिकारीको बाक्लो भीड थियो। नेपाली टोली तीन लटमा गरी ढाकाबाट काठमाडौं आएका थिए। 'वीर खेलाडी दीपक विष्टसहित ११औं सागमा स्वर्ण जित्ने खेलाडीलाई स्वागत' को ब्यानर बनाई राखेप टोली विमानस्थल पुगेको थियो।
ढाकामा नेपालको पहिलो स्वर्ण जितेकी उसुकी बिनिता महर्जन दोस्रो लटमा परेकी थिइन्। उनका बुवा पहिलो लट सकिएपछि अब मेरी छोरीको पालो आयो भन्दै थिए। पहिलो लटमै परेकी आयशाको विमान अवतरण हुनेबित्तिकै उनलाई बुवाले फोन गरेर आफूहरू स्वागत गर्न बाहिर बसेको जानकारी गराएका थिए।
जवाफमा आयशाले ट्राफिक जामका कारण विमान तीन चक्कर आकाशमा घुम्नुपरेको कारण आधा घन्टा ढिलो हुन पुगेको जानकारी गराइन्। सो संवाद सुनिरहेका एक खेलपदाधिकारीको रोमाञ्चक प्रतिक्रिया यस्तो थियो, 'हामी अगाडि नै नेपाली खेलाडीलाई आकाशमा तीन चक्कर घुमाएर स्वागत गरिएको रहेछ।'
प्रकाशित: २७ माघ २०६६ ११:२३ बुधबार





