७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

थारु समुदायमा बढेको राजनीतिक चेत: प्रत्यक्षतर्फ दाङमा दुई दर्जन उम्मेदवार

सीमित थारु नेताहरु। राजनीतिक दलहरुले सिंगो थारु समुदायको प्रतिनिधित्व उनै सीमित थारु नेताहरुकै ‘अवसर’ लाई मात्रै मान्थे। अनि उनै सीमित थारु नेताहरुलाई अवसर प्रदान गरिदिएर थारु समुदायको मनोभावलाई ‘क्यास’ गर्थे। त्यसो त, राजनीतिप्रति थारु समुदायको उति धेरै चासो हुँदैन थियो पनि। बर्षौँ सम्म ‘जमिनदार’ को जग्गा जोतभोग गर्दै आएका उनीहरुले राजनीतिलाई केन्द्रमा राख्न चाहेनन्। फलतः थारु बाहुल जिल्ला दाङका थारुहरुको चासो राजनीति भन्दा ‘रोजी रोटी’ –(जोतभोग) प्रति मात्रै कायम रहँदै आयो।  

बर्षौँ सम्म जमिनदारहरुको ‘हली’ बनेर रोजीरोटी चलाएका थारु समुदाय पनि मुलुकमा भएका विभन्न फेरबदल सँगै फेरिन थाल्यो। मूलतः लोकतान्त्रिक आन्दोलन पछि प्राप्त उपलब्धिपछि थारु समुदायमा नेतृत्व प्राप्तीको मोह बढ्दै गयो। अधिकार प्राप्तीका लागि लड्ने ‘शाहस’ थारु बस्तीहरुमा बढ्दै जान थाल्यो। यिनै अधिकार प्राप्तीका लागि थालिएका थारु आन्दोलन वा लडाईँले यो समुदायमा राजनीतिक चेतको समेत विस्तार गरिदिए।  

फलतः पछिल्लो समयमा यहाँको थारु समुदाय राजनीतिक नेतृत्वका लागि पुरापुर अग्रसर बन्दै गएको छ। थारु समुदायमा वृद्धि भएको राजनीतिक चेतकै कारण उनीहरुलाई राजनीतिक दलहरुले ‘हेर्ने’ दृष्टिकोण समेत बदलिएको छ। थारु बाहुल जिल्लामा ‘थारु–मनोभाव’ लाई क्यास गर्नै पर्ने अपरिहार्य दलहरुले देखिरहेका छन्। फलतः आम निर्वाचनमा थारुहरु भिड्न उत्साहित देखिएका छन् भने दलहरुले समेत जीत सुनिश्चितताका लागि थारु उम्मेदवारलाई निर्वाचनमा प्राथमिकतामा राखेका छन्। आसन्न निर्वाचनमा उम्मेदवार बनेका थारुहरुको ताँतीले पनि जिल्लामा थारुहरुको राजनीतिक चेत वृद्धि भएको पुष्ट्याईँ गर्छ। आगामी निर्वाचन प्रतिनिधिसभा र प्रदेश सभाका लागि दाङमा २२ जना थारु उम्मेदवार मैदानमा उत्रिएका छन्। यि मध्ये अधिकांश दलबाटै उम्मेदवार बनेका छन् भने दलहरुले उम्मेदवार नबनाईएका केहि थारुहरु स्वतन्त्र उम्मेदवार समेत बनेका छन्।  

तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबै भन्दा बढि क्षेत्र नम्बर १ मा १० जना थारु उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्। यि मध्ये ५ जना प्रतिनिधिसभा तर्फ र ५ जना प्रदेशसभा तर्फ उम्मेदवार बनेका छन्। यो क्षेत्रमामा प्रतिनिधिसभाका लागि संघीय सरकारका हालका शहरी बिकास मन्त्री मेटमणी चौधरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्। उनले यस अघिको २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभामा बाजी मारेका थिए। उनलाई टक्कर दिन एमालेले पनि चौधरी समुदायकै उम्मेदवारलाई मैदानमा उतारेको छ। एमालेकी सचेतक शान्ता चौधरी यस क्षेत्रमा एमालेका तर्फबाट उम्मेदवार बनेकी छिन्। यसैगरि एमालेबाट टिकट नपाएपछि एमाले केन्द्रीय सदस्य गंगा चौधरी यो क्षेत्रमा स्वतन्त्रबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन्। आफूलाई पार्टीले टिकट नदिएपछि उनले हाम्रो नेपाली पार्टी बाट यसै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिइन्। गंगाको फरक दलबाटको उम्मेदवारीले एमालेका शान्तालाई असर पर्न सक्ने खतरा रहेको छ।  

यसैगरि थरुहठ आन्दोलनबाट उदाएकी नेतृ रुक्मिणी चौधरी पनि यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लाग उम्मेदवार बनेकी छिन्। संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च (थरुहठ) बाट उनले उम्मेदवारी दिएकी छिन्। यसैगरि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ती पार्टीबाट सुरेन्द्र चौधरीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।  

यसैगरि प्रदेशसभा तर्फ दाङ क्षेत्र नम्बर १ मा ५ जना थारु उम्मेदवार छन्। यसअघिको निर्वाचनमा  दाङ १ क बाट निर्वाचित लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी पुनः यसै क्षेत्रमा उम्मेदवार बनेका छन्। उनीसँग एमालेका गंगाराम भट्राईले प्रतिष्पर्धा गर्दैछन्। यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर चौधरी, नागरिक उन्मुक्ती पार्टीबाट रञ्जित चौधरी प्रदेशसभा सदस्यका लागि दाङ १ क मा भिड्दै छन्। यसैगरि दाङ १ ख मा नागरिक उन्मुक्ती पार्टीका भक्तीराम चौधरी,मंगोल नेशनल अगनाईजेशनका टिकलाल चौधरी प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन्।  

दाङ १ मा बग्रेल्ती थारु उम्मेदवार बन्नुलाई यो क्षेत्रमा तत्कालीन थरुहठ आन्दोलनको प्रभावका रुपमा लिईएको छ। थरुहठ आन्दोलनका सुरुवातीकर्ता हालका काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीका अनुसार दाङ १ (देउखुरी क्षेत्र ) थरुहठ आन्दोलनको केन्द्र बनेको थियो। उक्त आन्दोलनले थारु समुदायलाई राजनीति तर्फ केन्द्रीयत गर्नका लागि ठूलो योगदान पुर्याएको योगेन्द्र बताउँछन्। ‘यहाँका थारु समुदायमा पछिल्लो समयमा बढ्दै गएको राजनीति प्रतिको चिन्तन र चासोको प्रमुख कारण भनेको तत्कालीन थरुहठ आन्दोलन नै हो,’ योगेन्द्रले भने, ‘यसको प्रभाव पनि बढि देउखुरी क्षेत्र अर्थात् दाङ १ मा देखियो, र यहाँ बढी प्रभाव देखिनु थरुहठ आन्दोलनको केन्द्र नै यो क्षेत्र बनेको थियो।’  

थरुहठ आन्दोलनले थारुहरुको पहिचानको नारा बोकेको थियो। सँगै थारुहरुका अधिकार प्राप्तीको लक्ष अर्को थियो। आफ्नो पहिचान र अधिकार प्राप्तीका लागि थारुहरु स्वयं नै नेतृत्व तहमा पुग्नुपर्छ भन्ने सन्देश यो आन्दोलनले दिएको थियो। ‘आफ्नो अधिकार प्राप्तीका लागि थारुहरु स्वयं नै नेतृत्वमा आउनु पर्छ भन्ने सन्देश उक्त आन्दोलनको थियो,’ योगेन्द्रले भन,े ‘फलतः आम थारु समुदायलाई नेतृत्व का लागि प्रोत्साह गर्यो, र राजनीतिक नेतृत्वले मात्रै अधिकार प्राप्ती हुन्छ भन्ने आम बुझाईले थारु समुदायमा राजनीतिक नेतृत्वका लागि उत्साह पैदा भयो।’

थारु बाहुल भनिएको दाङमा ३३ प्रतिसत बढी जनसंख्या थारुहरुको छ। जिल्लाको यो निर्णायक मत क्यास गर्नका लागि दलहरुले पनि थारु उम्म्ेदवार चयनलाई प्राथमिकतामा पारेको देखिन्छ। महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन्, ‘जिल्लाको निर्णायक मतका रुपमा थारु समुदाय छ,यो मतलाई क्यास गर्नका लागि राजनीतिक दलहरुको दौडधुप स्वाभाविकै रुपमा रहन्छ,’ उनले भने ‘ यो मत क्यास गर्नका लागि यहि थारु समुदायकै व्यक्तिलाई उम्मेदवार चयन गर्नुपर्छ भन्ने बुझाईमा पनि दलहरु छन्, फलतः थारु समुदाय आफैंमा राजनीतिक चेतको विकास हुनु त छदैछ, दलहरुले पनि राजनीतिक नेतृत्वका लागि अगाडी आउन थारु समुदायलाई प्रेरित गरिरहेको भन्न सकिन्छ।’

सबैभन्दा बढी थारु उम्मेदवार चयन भएको दाङ १ पछि दाङ ३ मा ७ जना थारु उम्मेदवार छन्। यि मध्ये ३ जना प्रतिनिधिसभातर्फका छन् भने ४ जना प्रदेशसभाका लागि उम्मेदावार बनेका छन्। प्रदेशसभाका लागि यो क्षेत्रबाट हेभिवेट थारु नेता एकजना छन्। काँग्रेसबाट डिल्ली चौधरी दाङ ३ क बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्। उनी लुम्बिनी प्रदेश सरकारका सहरी बिकास मन्त्री हुन्। चौधरी यसअघिको प्रदेशसभा निर्वाचनमा पनि यसै  क्षेत्रबाट निर्वाचित भएका थिए। यसैगरि दाङ २ मा ५ जना थारु समुदायका उम्मेदवार छन्। जस मध्ये २ जना प्रतिनिधिसभा तर्फ र ३ जना प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन्।  

जिल्लाका कुल २२ थारु उम्मेदवार मध्य २० जना दलका तर्फबाट उम्मेदवार बनेका छन् भने २ जना स्वतन्त्र थारु उम्मेदवार छन्। प्रदेशसभाका लागि २ क मा रेशमबहादुर चौधरी र ३ क मा माईते चौधरी स्वतन्त्र उम्मेदवार बनेका छन्। दलकातर्फबाट मात्रै उम्म्मेदवार नभई स्वतन्त्र उम्मेदवार समेत मैदानमा उत्रनुलाई नेतृत्वप्रति थारु समुदायको चेतनाको स्तर माथि उठेको मान्न सकिने प्राध्यापक गौतम बताउँछन्।  ‘स्वतन्त्र रुपमा पनि थारु समुदायका ब्यक्तिहरु चुनावी मैदानमा होमिएको अवस्था छ,’ गौतमले भने ‘यसले के देखाउँछ भने दलीय प्रतिनिधित्व मात्रै हैन, दलले प्रतिनिधित्व नगराएपनि स्वतन्त्र रुपमै उम्मेदवार बनेर भएपनि नेतृत्वका लागि भिड्नु पर्छ भन्ने जागरुकता यो समुदायमा बढ्दै गएको छ।’

प्रकाशित: २८ आश्विन २०७९ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App