१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कैलाली–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

कैलाली–२ मा प्रतिनिधिसभा निर्वाचन तर्फ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। मुख्यगरी गठबन्धनका भगत बडुवाल, नेकपा एमालेका झपट रावल र नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीबीच प्रतिस्पर्धा देखिएको छ।  

मंसिर ४ गते हुने आमनिर्वाचनमा तीन जना मध्ये कुनै एकले बाजी मार्ने सम्भावना छ । बडुवाल र रावल भने सँसदको अनुभव प्राप्त गरिसकेका व्यक्ति हुन्।  

बडुवाल २०६४ मा संविधान सभा सदस्य विजयी भएका थिए। उनी फेरि गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका छन्। उनीमाथि संविधान सभा सदस्य हुँदा खासै उपलब्धीमूलक काम गर्न नसकेको आरोप छ।  

संविधान सभा सदस्य लगत्तै उनी व्यवसायमा समेत सकृय छन्। उनको व्यवसायिक यात्रालाई लिएर पार्टी भित्रै टिकाटिप्पणी हुने गरेको स्रोतको भनाइ छ।  

नेपाली काँग्रेसको साथले उनको जित सुनिश्चित रहेको कतिपयको भनाई छ। ‘काँग्रेसले गठनबन्धनमा इमान्दारिता देखायो भने उहाँ जित्नु हुन्छ’ एक नेताले भने–‘गठबन्धन भित्रको समस्या समाधान भैरहेकाले माहौल सुध्रिएको छ।’

२०७४ को निर्वाचन जितेका रावल फेरि जित्ने दाबीका साथ चुनावी मैदानमा छन्। उनी माथि समेत जनताका थुप्रै आरोप छन्। विगत पाँच वर्षमा खासै उपलब्धीमूलक काम गर्न नसकेको आरोप रावल माथि पनि छ। उनलाई काम कम प्रचार बढी गर्ने नेताका रुपमा चित्रण गरिन्छ। ‘त्यस्तो देखिने गरी केही काम गर्न सकेनन्’ एक स्थानीयले भने–‘गफ भने प्रशस्तै गरेको पाईन्छ।’

उनी प्रति कार्यकर्ता नै सन्तुष्ठ छैनन्। उनको जीवनशैली र व्यवहारले कार्यकर्ता रुष्ठ देखिन्छन्। तर रावल यो आरोप अस्विकार गर्छन्। उनले आफूलाई मन नपराउने दुई/चार जनाले हल्ला फैलाएको बताए। ‘म निकै सरल र सहज छुँ’, उनले भने–‘जनताहरु मेरो प्रशंसा गर्छन्।’

उनले बेला बेलामा सदनमा देखाएको आफ्नो उपस्थितिलाई भने स्थानीयले नोटिस गरेका छन्। उनले आफ्नो कुरा सदनमा प्रष्ट राख्ने गरेको एक स्थानीयले बताए। उनले विकासका थुप्रै काम गरेको दाबी गरे। उनले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरे।  

चौधरीसँग जनप्रतिनिधिको अनुभव छैन। २०७० मा लम्कीचुहा नगरपालिकाको मेयरमा पराजित भए। लोकतान्त्रिक फोरमबाट उम्मेदवार रहेका चौधरी तेस्रो भए। उनी पार्टी एकीकरणसँगै काँग्रेस प्रवेश गरे। २०७४ को निर्वाचनमा उनी कैलाली–२ (ख) बाट उम्मेदवार भए। उनी ८ सय मतले पराजित भए।

काँग्रेसको महासमिति सदस्य रहेका चौधरी हालै नागरिक उन्मुक्ति प्रवेश गरे। उनी नागरिक उन्मुक्तिको क्रेज देखेर अवसर छोप्न त्यता लागेको आरोप छ। उनलाई प्रतिनिधि सभा सदस्यका रुपमा स्विकार्ने माहौल नरहेको त्यहाँका स्यानीयको दाबी छ ।  

तर थारु समुदायको नागरिक उन्मुक्ति प्रतिको क्रेज हेर्दा उनको जित निश्चित रहेको भन्नेहरु पनि छन्। कैलाली–२ मा ३५ देखी ४० प्रतिशत थारु मत छ। नागरिक उन्मुक्तिले यिनै मतका आधारमा आफ्नो जित निश्चित देखेको छ। अर्को बलियो थारु उम्मेदवार नभएका कारण थारु मत एकलौटी जान सक्ने सम्भावना छ। ‘थारु मत एकलौटी जान्छ’ नागरिक उन्मुक्तिका एक नेताले भने–‘बडुवाल र रावलको प्रतिस्पर्धामा अरुणजी जित्नु हुन्छ।’

चौधरीले अन्तरजातीय विवाह गरेका छन्। उनको ससुराली पहाडी समुदाय हो। उनको ससुरालीको मतमा राम्रो पकड छ  त्यसकारण पनि उनको जितलाई सहज भन्नेहरु धेरै छन्। ‘ससुरालीको भरमा मात्रै मत आउने हैन’ उनले भने–‘म युवाहरु माझ लोकप्रिय छुँ। मेरो जित निश्चित छ।’

स्थानीय तहको निर्वाचनमा धेरै मतदाता रहेका लम्कीचुहा नगरपालिका र बर्दगोरीया गाउँपालिकामा गठबन्धन सफल भएन। लम्कीचुहामा गठबन्धनका तर्फबाट मेयरमा काँग्रेसकी सुशीला शाही विजयी भइन् भने उपमेयरमा माओवादीकी जानकी सिँह पराजित भइन्। त्यस्तै बर्दगोरीयामा गठबन्धनका तर्फबाट उपाध्यक्षमा गणेशराज गिरी विजयी हुँदा एमालेका कर्णबहादुर कुँवर अध्यक्षमा विजयी भए। स्थानीय तहको निर्वाचनको असर आम निर्वाचनमा समेत पर्ने कतिपयको बुझाइ छ।

प्रकाशित: २६ आश्विन २०७९ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App