८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेका प्रभु साह स्वतन्त्र उम्मेदवार

नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साह स्वतन्त्र उम्मेदवार बनेका छन्। नेकपा एमालेको नेतृत्वसित असन्तुष्ट रहेका नेता साह रौतहट क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएका छन्। जसपासित गठबन्धन भएपछि साह एमाले नेतृत्वसित असन्तुष्ट बनेका थिए। नेकपा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेपछि साहले मधेस प्रदेशका सैयौं नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए।

साहसँगै एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहले पनि स्वतन्त्रको हैसियतमा प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। यसैगरी एमाले नेता केशव राय यादवले पनि स्वतन्त्र उम्मेदवारका रूपमा साहसँगै प्रदेशसभाका लागि मनोनयन दर्ता गराएका छन्।

रौतहट ३ बाट पाँचदलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धिरज पटेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट प्रदेशसभाका लागि नेकपा एसका प्रदेश राज्यमन्त्री नागेन्द्र राय यादव र खका लागि नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र यादवले मनोनयन दर्ता गराएका छन्।

रौतहट ३ बाट प्रतिनिधिसभाका लागि उद्योगपति ओमप्रकाश जयसवालले पनि मनोनयन दर्ता गराएका छन्। यसैगरी प्रदेशसभातर्फका लागि जसपाका तर्फबाट पूजा चौधरीले पनि मनोनयन दर्ता गराएकी छन्।

रौतहट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि पाँचदलीय गठबन्धनबाट कांग्रेसका डा. फिर्दोष आलमले मनोनयन दर्ता गराएका छन्। डा. आलम पूर्वमन्त्री महम्मद आफताब आलमका छोरा हुन्। आलमसँगै प्रदेशसभाका लागि कमा लोसपाका सेख जमसैद र खमा नेकपा एसका कनिस पटेलले मनोनयन दर्ता गराएका छन्। एमाले–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका शैलेन्द्र साहले मनोनयन दर्ता गराएका छन्। उनीसँगै प्रदेशसभा कमा एमालेका जैद राजा र खमा जसपाका रामकिशोर यादवले मनोनयन दर्ता गराएका छन्। एमालेले जसपाको भागमा टिकट पारेपछि एमालेका किरण साहले प्रभु साहजस्तै स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन्।

रौतहट ४ मा कांग्रेस नेतृत्वको गठबन्धनबाट निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले मनोनयन दर्ता गराएका छन्। उनीसँगै प्रदेशसभाका लागि कबाट नेकपा माओवादीका समीर भट्टराई र खबाट नेकपा एसबाट सेख सतारले मनोनयन दर्ता गराएका छन्। यसैगरी एमाले नेतृत्वको गठबन्धनबाट एमालेका उद्धव रेग्मीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। उनीसँगै प्रदेशसभा कबाट एमालेका अखिलेश चौधरी र खबाट जसपाका सेख अबुल कलाम आजादले मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा खका लागि युवा व्यवसायी रवि जयसवाल, पूर्वगाविस उपाध्यक्ष रामकृष्ण चौधरीले पनि स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता गराएका छन्।

रौतहट क्षेत्र नम्बर १ मा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मनोनयन दर्ता गराएका छन्। नेपालसँगै गठबन्धनका तर्फबाट प्रदेशसभाका लागि कबाट कांग्रेसका नागेन्द्र साह तथा खबाट कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले मनोनयन दर्ता गराएका छन्।

पूर्वप्रधानमन्त्री नेपालसित एमाले गठबन्धनका तर्फबाट गौर नगरपालिकाका पूर्वमेयर अजयकुमार गुप्ता भिड्ने भएका छन्। उनीसँगै एमाले गठबन्धनबाट प्रदेशसभा कका लागि एमालेका राजकिशोर यादव तथा खका लागि जसपाका प्रदेश राज्यमन्त्री योगेन्द्र यादवले मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा कका लागि डा. सोहेल तैयब, प्रदेशसभा सदस्य बाबुलाल साहले पनि स्वतन्त्र उम्मेदवारको हैसियतले मनोनयन दर्ता गराएका छन्। यसैगरी प्रदेशसभा खका लागि जनता प्रगतिशील पार्टीका श्रीमन नारायण मिश्र, स्वतन्त्र उम्मेदवार राजेश चौधरीलगायतले मनोनयन दर्ता गराएका छन्।

डा. अमरेश बने कांग्रेसका बागी उम्मेदवार

मधेस प्रदेशमा कांग्रेस नेता डा. अमरेशकुमार सिंह सर्लाहीमा बागी उम्मेदवार बनेका छन्। पार्टीले टिकट नदिएपछि आइतबार डा. सिंहले स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएका छन्। सर्लाही ४ बाट प्रतिनिधिसभा उम्मेदवार बन्दै डा. सिंहले स्वतन्त्र मनोनयन दर्ता गराएका हुन्।

कांग्रेस नेतृत्वको गठबन्धनबाट जिल्ला विकास समिति सर्लाहीका पूर्वसभापति नागेन्द्र राय यादवले पार्टीको आधिकारिक उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएपछि डा. सिंह स्वतन्त्र उम्मेदवार बनेका हुन्।

गठबन्धनबाट उम्मेदवार बनेका यादव कांग्रेसकै हुन्। गठबन्धनबाट सर्लाही ४ कांग्रेसको भागमा परेपछि डा. सिंह उम्मेदवार हुने चर्चा थियो। डा. सिंह आफू जसरी पनि उम्मेदवार हुने बताइरहेका बेला पार्टीले टिकट नदिएपछि बागी बनेका हुन्। डा. सिंहले कांग्रेस परित्याग गरेका छैनन्।

दलबलसहित मनोनयन दर्ता गराउन पुगेका डा. सिंहले जनताले आफूलाई विश्वास गर्दै आएकाले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताएका छन्।

सर्लाही ४ बाट एमाले–जसपा गठबन्धनबाट जसपा नेपालका राकेश मिश्रले मनोनयन दर्ता गराएका छन्। उनीसँगै प्रदेशसभा कका लागि एमालेका रामबहादुर राय र खका लागि जसपाका उदयकान्त मिश्रले मनोनयन दर्ता गराएका छन्।

यसैगरी प्रतिनिधिसभा सदस्यका लागि पूर्वसांसद शिवपूजन राय यादवकी छोरी मधु यादवले पनि मनोनयन दर्ता गराएकी छन्। यसैगरी प्रदेशसभाका लागि गठबन्धनका तर्फबाट कका लागि प्रदेशमन्त्री वीरेन्द्र सिंह, माओवादीका तर्फबाट खका लागि फकिरा महतोले मनोनयन दर्ता गराएका छन्।

सर्लाही ३ मा जसपा एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका हरि उप्रेतीले मनोनयन दर्ता गराएका छन्। उप्रेतीसँगै प्रदेशसभा कका लागि एमालेका गणेश प्रसाईं र खका लागि जसपाका सञ्जय यादवले मनोनयन दर्ता गराएका छन्। यसैगरी पाँचदलीय गठबन्धनका तर्फबाट माओवादीका नरेन्द्र साहले मनोनयन दर्ता गराएका छन्। साहसँगै प्रदेशसभा सदस्य कका लागि नेकपा एसका दिलिप उप्रेती र खका लागि कांग्रेसका हरेश महतोले मनोनयन दर्ता गराएका छन्।

निकै चासोका साथ हेरिएको सर्लाही २ मा दुई चर्चित नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ। पाँचदलीय गठबन्धनबाट लोसपा नेता राजेन्द्र महतो र कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादीको चुनाव चिन्ह लिएर महेन्द्र राय यादवले मनोनयन दर्ता गराएका छन्। दुवैजना पहिलेका चर्चित मधेसवादी नेता रहेका छन्।

सर्लाही १ मा प्रतिनिधिसभाका लागि पाँचदलीय गठबन्धनबाट लोसपाका रामप्रगास चौधरीले मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट प्रदेशसभा कका लागि रामचन्द्र कुशवाह र खका लागि राजन श्रेष्ठले मनोनयन दर्ता गराएका छन्। यसैगरी जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभाका लागि जसपाका प्रमोद साहले मनोनयन दर्ता गराएका छन्।

प्रकाशित: २४ आश्विन २०७९ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App