१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘हेभिवेट’लाई स्वतन्त्र र बागी चुनौती

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ। प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवालगायत ‘हेभिवेट’ नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्। ‘हेभिवेट’ नेताहरूले उम्मेदवारी दर्ता गराएका निर्वाचन क्षेत्रमा बागी र स्वतन्त्र उम्मेदवार खडा भएका छन्। हेभिवेट नेताका लागि स्वतन्त्र र बागी उम्मेदवार टाउको दुखाइ बन्ने भएका छन्।  

२०४८ सालदेखि डडेल्धुराबाट लगातार प्रतिनिधिसभा सदस्य निर्वाचन जित्दै आएका र पाँचपटक प्रधानमन्त्री भएका देउवाले यसपटक नयाँ अनुहारसँग चुनावको सामना गर्नुपर्ने भएको छ। पाँच वर्षअघि बिबिसी सेवाको साझा सवालमा देउवालाई प्रश्न सोधेर हप्काइ खाएका गुल्मीका सागर ढकालले डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका छन्। ‘बाजे पुस्ता नेतालाई विश्राम दिनुपर्ने र युवाले देश हाक्नुपर्ने’ भन्दै ढकाल केही महिनादेखि डडेल्धुरामा चुनावी प्रचारप्रसारमा सक्रिय छन्। ढकालले उम्मेदवारी दर्ता गराएपछि देश बनाउने संकल्पका लागि दुई दिन निराहार ब्रत बस्ने घोषणा गरेका छन्।  

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नै डडेल्धुरा कांग्रेसको राजनीतिमा हुर्काएका कर्ण मल्लले पनि उम्मेदवारी दिएका छन्। देउवाविरुद्ध नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दर्ता गराएका मल्ललाई एमालेले समर्थन गरेको छ। मल्ल र ढकालको उम्मेदवारीले डडेल्धुराको निर्वाचन रोचक हुने देखिएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। अघिल्लो निर्वाचनमा देउवा पत्नी आरजु राणा उक्त निर्वाचन क्षेत्रमा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। उक्त क्षेत्रका प्रभावशाली नेता ओझालाई निर्वाचनमा आरजुलाई असयोग गरेको आरोपमा दुई वर्षअघि नेपाली कांग्रेसले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो। अहिले पनि आरजु कैलाली ५ बाट निर्वाचन लड्ने चर्चा थियो। ओझालाई फकाउने प्रयास असफल भएपछि आरजुकै जोडबलमा डिल्लीराज पन्तलाई कांग्रेसले आधिकारिक उम्मेदवार बनाएको छ। पन्त यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। कैलाली ५ बाट यसपटक पनि एमालेका रानाले उम्मेदवारी दिएका छन्।  

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रबाट नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन्। यस क्षेत्रबाट २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीलाई फराकिलो मतअन्तरले पराजित गर्दै भट्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। एक मात्र निर्वाचन क्षेत्र रहेको डोटी नेकपा एकीकृत समाजवादीको भागमा परेपछि बलायरलाई कैलाली ४ बाट कांग्रेसले उम्मेदवार बनाएको हो। राजनीतिक आस्थासँगै भेकीय र जातीय रुपमा मत प्रभावित हुने कैलाली ४ मा डोटीबाट बसाइँसराइ गरेर आएका मतदाताको बाहुल्यता छ। एमालेका उम्मेदवार भट्टको पनि पुख्र्यौली घर डोटी नै हो। कैलाली ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार मेखराज जोशीसहित ११जनाको उम्मेदवारी दर्ता भएको छ।

सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा नेपाली कांग्रेसको भाग परेको कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री रामजनम चौधरीले उम्मेदवारी दिएका छन्। एमालेका तपेन्द्र रावल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीकी पत्नी रञ्जना श्रेष्ठ चौधरीले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्। नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारी परेपछि कैलाली १ को निर्वाचनलाई पनि चासोका साथ हेरिएको छ।  

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलबीच प्रतिनिधिसभा सदस्यका लागि भएको सिट बाँडफाँटमा नेपाली कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ वटा निर्वाचन क्षेत्र पाएका छन्। माओवादी केन्द्रको भागमा कैलाली २, कैलाली ३, कञ्चनपुर १ र बैतडी परेको छ। नेकपा एकीकृत समाजवादीको भागमा डोटी, अछाम १ र बझाङ परेको छ।

प्रतिनिधिसभा सदस्यका लागि ३ सिट रहेको कञ्चनपुरमा निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी बिना मगर, २ बाट नेपाली कांग्रेसका एनपी साउद र ३ बाट नेपाली कांग्रेसका रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेबाट कञ्चनपुर १ मा तारालामा तामाङ, २ मा नरबहादुर धामी र ३ मा निरु पाल उम्मेदवार भएका छन्। बझाङमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशी र एमालेका युवा नेता ऐन महरबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट उम्मेदवार बनेका छन्। त्यहाँबाट एमालेका गणेश ठगुन्ना उम्मेदवार छन्।  

बाजुरामा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा र नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेय चुनावी मैदानमा छन्। डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेम आले र एमाले नेतृ गौरी ओलीले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसको राम्रो पकड रहेको डोटीमा नेकपा एकीकृत समाजवादीका आले उम्मेदवार भएपछि कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका छन्। डोटीमा असन्तुष्ट पक्षबाट सामाजिक अभियन्ता तथा उद्योग वाणिज्य संघ डोटीका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बागी उम्मेदवारी दर्ता गराएका छन्। बैतडीमा एमालेबाट पूर्वमन्त्री दामोदर भण्डारी र नेकपा माओवादी केन्द्रबाट नरेन्द्र कुँवर ‘विजय सुन्दर’ उम्मेदवार बनेका छन्।  

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण सुदूरपश्चिममा नेपाली कांग्रेसका शेरबहादुर देउवाले मात्र डडेल्धुराबाट जितेका थिए। त्यस्तै यस प्रदेशमा कैलाली क्षेत्र नम्बर १ बाट राजपाका रेशमलाल चौधरीले जितेका थिए। बाँकी १४ निर्वाचन क्षेत्रमध्ये ११ मा एमाले र ३ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।  

प्रकाशित: २४ आश्विन २०७९ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App