२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बागलुङमा उम्मेदवारी दर्ता

आगामी मंसिर ४ मा हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङमा उम्मेदवारी दर्ता गरिएको छ। यहाँका राजनीतिक दल केही स्वतन्त्र व्यक्तिले आगामी निर्वाचनका लागि आईतबार तोकिएको समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। दुई वटा प्रतिनिधि सभा क्षेत्र र चार वटा प्रदेश सभा क्षेत्र निर्वाचन भएको बागलुङमा क्षेत्र नम्बर १ को बागलुङमा बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ का बुर्तिबाङ स्थीति निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो।

बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ ७ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर १ को प्रदेश सभा (क) तर्फ ५ जना र प्रदेश सभा (ख) का लागि ४ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा पाँच दलीय गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन्। ८० वर्षीय केसीले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्। नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज समेत गरेको निवर्तमान सांसद सूर्य पाठकले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

२०७४ को निर्वाचनमा उनी बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेर नेपाली काँग्रेसकी उम्मेदवार चम्पादेवी खड्कालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए। बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट खिमानन्द कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा र नेपाली काँग्रेस वीपीबाट शिवलाल सापकोटाले उम्मेदवारी दता गरेका छन्। नेपाली काँग्रेस बागलुङका नेता कृष्णशंकर श्रेष्ठले प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेपाली काँग्रेस बागलुङका पूर्व कोषाध्यक्ष समेत रहेका उनको नाम गण्डकी प्रदेशतर्फ समानुपातिक सूचीमा रहेको चर्चा भए पनि अन्तिममा उनी अटेका थिएनन्।

बागलुङ क्षेत्र नम्बर १ मा स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्रीले पनि उम्मेदवारी दिएका छन्। बागलुङ क्षेत्र नम्बर १ का प्रदेश सभा (क) का लागि पाँच जनाको उम्मेदवारी परेका छ। सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेस बागलुङका निर्वतमान जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। उनीसंगको प्रतिस्पर्धाका लागि नेकपा एमालेबाट जिल्ला अध्यक्ष हिराबहादुर खत्री उम्मेदवार बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिल्लीराम आचार्य र सामाजिक एकता पार्टीबाट भक्तबहादुर विक पनि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। दीपेन्द्र हमालले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

बागलुङ क्षेत्र नम्बर १ का प्रदेश सभा (ख) का लागि पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका डिल्लीराम सुवेदी र नेकपा एमालेका तर्फबाट नवराज पौडेल उम्मेदवार बनेका छन्। पौडेल स्थानीय निर्वाचनपछि एमाले प्रवेश गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द सापकोटा र मंगोल नेशनल अर्गनाईजेसनका महावीर थापा उम्मेदवार बनेका छन्। बागलुङ क्षेत्र नम्बर २ तर्फ प्रतिनिधि सभाका लागि ९ जनाको उम्मेदवारी परेको छ। गठबन्धनतर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं माओवादी केन्द्रका सचिव देबेन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। उनी गत निर्वाचनमा पनि क्षेत्र नम्बर २ बाट बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।  

पौडेलसंग प्रतिस्पर्धाका लागि नेकपा एमालेको तर्फबाट प्रदेश सदस्य मञ्जु शर्मा चालिसे उम्मेदवार बनेकी छिन्। उनी हालै मात्रै नेपाली काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी हुन्। स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले गलकोट नगरपालिकाको मेयरका लागि टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेकी उनी त्यसपछि एमाले प्रवेश गरेकी हुन्। क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, मंगोल नेशनल अर्गनाईजेसनबाट गोवद्र्धन घर्ती, नेकपा जनमुक्ति पार्टीबाट चित्रप्रसाद गुरुङ उम्मेदवार छन्। स्वतन्त्रबाट माओवादी केन्द्रका नेता तुलसीराम अर्याल, नेकपा एमाले गणेश कुमार थापा, डिलबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र नम्बर २ प्रदेश सभा (क) तर्फ चार जनाको उम्मेदवारी परेको छ। पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति जितबहादुर शेरचन उम्मेदवार बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शंकर खरेल उम्मेदवार बनेका छन्। स्वतन्त्र तर्फ प्रकाश घर्ती र भिमलाल पोख्रेल उम्मेदवार बनेका छन्। घर्तीलाई नेकपा एमालेको समर्थन रहेको बताईएको छ। यहाँ एमालेले उम्मेदवारी दिएको छैन। पोख्रेले राष्ट्रिय जनमोर्चा बागलुङका सचिव हुन्। क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) का लागि पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दोर्ण कुमार कुँवरले उम्मेदवारी दिएका छन्। उनीसंग प्रतिस्पर्धाका लागि नेकपा एमालेका जिल्ला उपाध्यक्ष लक्ष्मण पुनले उम्मेदवारी दर्ता गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्ताकुमारी चन्द, जनता समाजवादी पार्टीबाट गंगाबहादुर घर्ती, मंगोल नेशनल अर्गनाईजेसनबाट ताराबहादुर घर्ती उम्मेदवार बनेका छन्। स्वतन्त्रतर्फ दीपक थापा, नरबहबादुर गुरुङ, दुर्गादेवी घर्ती, टेकप्रसाद कामी र करमती पुनले उम्मेदवारी दर्ता गरेका छन्। करमती पुन नेकपा एमाले नेतृ तथा ढोरपाटन नगरपालिकाका पूर्व उपमेयर हुन्। पाँच दलीय गठबन्धनबीच भागबन्डा गर्दा बागलुङको क्षेत्र नम्बर १ राजमो र क्षेत्र नम्बर १ माओवादी केन्द्रले पाएपछि नेपाली काँग्रेसले चारवटै प्रदेशसभा पाएको छ। काँग्रेसले उम्मेदवारको टुंगो लगाउन ढिला गरेपछि क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यका उम्मेदवार बनेका काँग्रेसका जितबहादुर शेरचन र दोर्ण कुमार कँुवरले वारेश मार्फत उम्मेदवारी दर्ता गरेका छन्। 

प्रकाशित: २३ आश्विन २०७९ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App