२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

म्याग्दीमा काँग्रेस र माओवादी केन्द्रबीच टिकट साटफेर

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अन्तिम समयमा टिकट साटफेर गरेका छन्। 

प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा काँग्रेस र माओवादी केन्द्रको भागबन्डामा परेको टिकट साटफेर गरेका हुन्। केन्द्रबाट माओवादी केन्द्रलाई प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचन क्षेत्र नेपाली काँग्रेसले लिने सहमति भएकोमा जिल्लास्तरमा दुवै पार्टीका नेताहरूको छलफल गरी लिखित रुपमै केन्द्रलाई अनुरोध गरेपछि प्रतिनिधिसभा काँग्रेस र प्रदेशका दुवै नेकपा माओवादीले लिएको छ। टिकटको विषयमा नेपाली काँग्रेसमा समेत असन्तुष्टी र माओवादी केन्द्रले समेत प्रदेशमा सहज हुने बताएपछि जिल्लाका नेताहरूको चाहना अनुसार नै केन्द्रबाट साटफेर भएर आएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ।

अब म्याग्दीमा गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीर र प्रदेश ‘क’ तर्फ नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारी र प्रदेश ‘ख’ मा माओवादी केन्द्रकै जिल्ला संयोजक सुविन जुग्जाली उम्मेदवार बनेका छन्। नेपाली काँग्रेस र माओवादी केन्द्र म्याग्दीका नेताहरूले समेत जिल्लाको सहमतिलाई पालना सहित चुनावी अभियानलाई थप बलियो बनाउने बताएका छन्। माओवादी केन्द्रलाई संघ परेपछि नेपाली काँग्रेस म्याग्दीमा ठूलो विवादको रुप लिएको थियो। यो सँगै प्रतिनिधि सभामा नेपाली काँग्रेसका उम्मेदवारी गर्बुजा र नेकपा एमालेका हरिकृष्ण श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै नेकपा एमालेबाट प्रदेश क मा जिल्ला अध्यक्ष देबेन्द्रबहादुर केसी र ख क्षेत्रमा याम गर्बुजालाई उम्मेदवार बनाएको छ।

प्रकाशित: २३ आश्विन २०७९ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App