७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले प्रवेश गरेकाे डेढ महिनामै टिकट!

नेकपा एमाले प्रवेश गरेको डेढ महिनामै चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व मेयर अमानसिंह तामाङले एमालेबाट टिकट हात पारेका छन्।  

एमालेले उनलाई निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभाको उम्मेदवार बनाएको हो। माओवादीका वैकल्पिक केन्द्रीय सदस्य उनी भदौ ६ गते मात्र एमाले प्रवेश गरेका थिए। एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका थिए।  

स्रोतका अनुसार पार्टी प्रवेश गर्दा एमालेले उनलाई प्रदेश उम्मेदवार वा केन्द्रीय सदस्य दिने बाचा गरेको थियो। केन्द्रीय सदस्य नबनाए पनि प्रदेशको टिकट दिएर एमालेले बाचा पूरा गरेको हो। २०७४ को स्थानीय तह निर्वाचनमा तामाङ माओवादी केन्द्रबाट मेयर निर्वाचित भएका थिए।  

२०५४ को स्थानीय चुनावमा जनमोर्चाबाट साविक कुविण्डे गाविस उपाध्यक्ष जितेका उनले माओवादी आन्दोलनमा लागेर झण्डै १० वर्ष भूमिगत जीवन बिताएका थिए। माओवादी ‘जनसरकार’ प्रमुख बनेका उनी पार्टीभित्र समन्वयकारी र शालिन नेताका रुपमा चिनिन्थे। तर ३४ वर्ष राजनीति गरेको पार्टी हठात् परित्याग गरे।  

तामाङ गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पुनः मेयरमा दोहोरिन चाहन्थे। पार्टीले उनलाई टिकट दिएन। त्यतिबेलै उनले एमाले प्रवेशका लागि खुट्टा उचालेका थिए। पार्टीले टिकट दिने आशमा उनी अन्तिम समय एमालेमा जानबाट रोकिएका थिए। पार्टीले मेयरको टिकट सभामुख अग्नि सापकोटाका भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दियो। तामाङले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिए।  

अन्तिम समयमा उनको उम्मेदवारी रोक्न माओवादी अध्यक्ष पुष्पकमल दाहालले तामाङलाई फोन गरेका थिए। अध्यक्ष दाहालले केन्द्रीय सदस्य बनाउने बचन दिएपछि उनले उम्मेदवारी फिर्ता लिएर मेयरमा कृष्णप्रसादलाई सघाएका थिए। चुनावपछि माओवादीले उनलाई बैकल्पिक केन्द्रीय सदस्य बनायो। पार्टीले बाचा पुरा नगरेर उल्टो पेल्न खोजेको भन्दै तामाङले एमालेतर्फ अघि बढेर रोकिएका पाइला पुनः हिँडाएका थिए।  

माओवादी उम्मेदवारसँगै भिडन्त

अब उनले टिकट पाएको प्रदेश क्षेत्रमा पूर्वमाओवादी र माओवादीबीच चुनावी भिडन्त हुने भएको छ। यो प्रदेश क्षेत्र सत्ता गठबन्धनबाट माओवादीको भागमा परेको छ। माओवादीले शनिबार दिउँसोसम्म यहाँ कसलाई उम्मेदवार बनाउने भनेर निर्णय लिइसकेको छैन। यद्यपी यस क्षेत्रमा माओवादीले बागामती प्रदेशका निवर्तमान सांसद युवराज दुलाललाई उम्मेदवार बनाउने पक्कापक्की छ। लडाकु पृष्ठभूमिका दुलाल शान्ति प्रक्रियापछि लामो समय अध्यक्ष दाहालको सुरक्षामा खटिएका थिए।  

त्यति बेलादेखि दाहाल र दुलालबीच निकट सम्बन्ध छ। अघिल्लो २०७४ को प्रदेश सभा चुनावमा दुलाल यसै क्षेत्रबाट बामगठबन्धनको उम्मेदवार बनेर निर्वाचित भएका थिए। उनी बागमती प्रदेशको सामाजिक विकासमन्त्रीसमेत बनेका थिए। पूर्वमाओवादी तामाङ र माओवादी उम्मेदवारबीचको चुनावी प्रतिस्पर्धाले यो प्रदेश क्षेत्रको निर्वाचन रोचक बन्ने भएको छ।

प्रकाशित: २२ आश्विन २०७९ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App