८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिनिधिसभा निर्वाचन: यस्तो छ दाङको सम्भावित प्रतिस्पर्धा

प्रतिनिधिसभा निर्वाचनका लागि दाङका ३ क्षेत्रमा हुन सक्ने सम्भावित बलियो प्रतिस्पर्धाका प्रतिस्पर्धीहरू ‘क्लियर’ देखिन थालेका छन्। जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा सम्भावित प्रतिस्पर्धीहरूको आँकलन बलियो बनेको छ। क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले उम्मेदवारी पाउने छ। यो अवस्थामा समाजवादीका नेता तथा संघीय सरकारका शहरी बिकास मन्त्री मेटमणी चौधरी उम्मेदवार बन्ने पक्कापक्की जस्तै भैसकेको छ। उनलाई टक्कर दिन एमालेकी सचेतक शान्ता चौधरी मैदान उत्रने बलियो सम्भावना देखिएको छ। शान्ता उम्मेदवार बन्ने परिस्थती नबने प्रतिनिधिसभा सदस्य गंगा चौधरीलाई प्रतिस्पर्धामा उतार्ने एमालेको तयारी छ।

यसैगरी माओवादीको भागमा परेको क्षेत्र नम्बर २ मा माओवादी नेतृ तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले चुनावी तयारी थालिसकेकी छन्। यसअघिको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित कृष्णबहादुर महरा चुनाव देखि ‘ब्याक’ भएपछि माओवादीले शर्मालाई नै उम्मेदवार बनाएर अघि बढ्ने पुरापुर तयारी गरिसकेको छ। स्रोतका अनुसार माओवादी केन्द्रका उपाध्यक्ष महराले समेत शर्मालाई चुनावको तयारी थाल्न भनिसकेका छन्। ‘महरा सर लड्नु हुन्न,’ माओवादी स्रोतले भन्यो ‘उहाँले शर्मालाई चुनावको तयारीमा लाग्नुस् भनेर भनिसक्नु भएको छ, फलतः यो क्षेत्रको उम्मेदवार रेखा शर्मा नै हो।’

गठबन्धनका तर्फबाट पूर्व सामान्य प्रशासन मन्त्री शर्मा भिड्दा एमालेबाट महासचिव शंकर पोख्रेल भिड्ने पक्का पक्की भैसकेको छ। पोख्रेलको नाम यो क्षेत्रबाट एमालेका लागि एकल उम्मेदवारका रुपमा सिफारीस भएको छ।

गठबन्धनका तर्फबाट कांग्रेसको भागमा परेकोे क्षेत्र नम्बर ३ मा कांग्रेसले केन्द्रीय सदस्य दिपक गिरीलाई उम्मेदवार बनाउने पक्का पक्की जस्तै छ। पूर्व सिँचाई मन्त्री समेत रहेका गिरीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउनकै लागि क्षेत्र नम्बर ३ लाई कांग्रेसले आफ्नो भागमा पारेको भनिएको छ। फलतः गिरी कांग्रेसबाट उम्मेदवार बन्नेमा शंका देखिन्न। गठबन्धनका तर्फबाट गिरी उम्मेदवार बन्दा एमालेले कोमल ओलीलाई भिडाउने उच्च सम्भावना देखिन्छ। राष्ट्रिय सभाका पूर्व सदस्य ओली उम्मेदवार बन्ने चर्चा एमाले कित्तामा बाक्लिएको छ। ओलीलाई उम्मेदवार बनाएपछि यो क्षेत्रको मत आफ्नो पक्षमा पार्न सकिनेमा एमाले विश्वस्त देखिएको छ।

मूलतः महिलाको मत तान्न सक्ने आधारका रुपमा ओलीलाई देखेको एमालेले यो मतलाई जीतको बलियो आधार समेत मानेको छ। भलै ओलीलाई उम्मेदवार बनाउन लागिएको भन्दै एमाले भित्रै असन्तुष्टि पनि देखिएको छ। ओली राप्रपाबाट एमाले प्रवेश गरेकी हुन्। फरक पार्टीबाट ‘आयातित’ ओलीलाई उम्मेदवार बनाएर एमाले नेतृत्वले एमाले राजनीतिमा लामो समय योगदान पुर्याएका नेताहरूको अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त भैरहेका छन्। उनको स्थानमा तुलसीपुर उपमहानगरका पूर्व मेयर घनश्याम पाण्डेलाई उम्मेदवार बनाउनु पर्ने एमालेको एक पक्षको जोडबल छ। ओली उम्मेदवार बनेको खण्डमा तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर पाण्डेको प्रतिनिधिसभामा भिड्ने प्रयास निरर्थक बन्ने छ।

प्रकाशित: १८ आश्विन २०७९ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App