१६ चैत्र २०८० शुक्रबार
राजनीति

मौलिक र व्यवहारिक घोषणापत्र बनाउन कांग्रेसलाई प्रवासी नेपालीको सुझाव

नेपाली कांग्रेसले विदेशमा बस्ने नेपालीहरुसँग घोषणापत्रको लागि सुझाव संकलन गरेको छ । पार्टीले आगामी संघीय निर्वाचनका लागि निर्माण गर्न लागेको घोषणापत्रमा युरोप, अमेरिका, एसिया, अष्ट्रेलिया क्षेत्रमा रहेका नेपालीहरुसँग शनिवार  विहान भरर्चुअल माध्यबाट सुझाव संकलन गरेको हो ।  

सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समुन्त नेपालको लागि विदेशमा बस्ने नेपालीहरुले दिएको सुझाव महत्वपूर्ण हुने बताए ।  शर्माले आगामी घोषणापत्रमा नेपालको दिगो विकासको लागि नेपाली कांग्रेसको धारणा प्रष्ट रुपमा आउने विचार व्यक्त गरे । उनले घोषणापत्रमा अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमहरु समावेश गरेर आधुनिक स्वरुप बनाउन जटिलता रहेको बताए ।

शर्माले नेपालको व्यापार घाटा २ सय अर्ब पुगेको बताउँदै आयत प्रतिस्थापन गर्न उत्पादन बढाउने तर्फ घोषणापत्र केन्द्रीत हुने बताए ।  कार्यक्रममा घोषणापत्र समितिका संयोजकसमेत रहेका शर्माले नेपाली कांग्रेसको चुनावी अभियानमा डा. स्वर्णिम वाग्ले जस्ता अर्थविज्ञ जोडिएको चर्चा गर्दै डा. वाग्लेलाई भावी अर्थमन्त्रीका रुपमा चित्रण गरेका थिए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै घोषणापत्र समितिका उपसंयोजक डा. स्वर्णिम वाग्लेले डयास्फोरामा रहेका नेपालीहरु राष्ट्रको पुँजी भएको कारणले नेपाली कांग्रेसले प्राथामिकता दिएर सुझाव संकलन गर्न लागेको बताए ।  

डा. वाग्लेले नेपाली कांग्रेसको घोषणपत्र मुख्य रुपमा नेपालको लोकतान्त्रिक पद्धती, फराकिलो आर्थिक व्यवस्था, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन लगायतका क्षेत्रमा केन्द्रीत रहने बताए । उनले घोषणपत्रमा प्रदेशहरुको सार्मथ्य र  सम्भवनाका बारेमा समेत चित्रण गरिने बताए ।

 कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री डा. यादव पण्डितले कृषिमा उत्पादन, मल उद्योग, विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा गएर काम गर्ने कानूनी आधारहरु तयार गर्न आग्रह गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले घोषणापत्रमा दोहोरो कर नीति र विदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरणलाई समावेश गर्न सुझाव दिए । कार्यक्रमले पिताम्बर दाहालले घोषणापत्रमा खाद्य सुरक्षामा ध्यान दिन सुझाव दिए ।  

डा. रामहरी सुवेदीले समृद्ध नेपालीको लागि साइवर सुरक्षा र सूचना प्रविधि अत्यावश्यक भएको बताउँदै, रोजगारीको अवसर दिन, स्मार्टसिटी बनाउन र डेटा सेन्टर खोल्न सुभाव दिए । उनले घोषणपत्र प्रविधि मैत्री (टेक्नोलोजी फ्रेण्ली) हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले घोषणापत्र मौलिक र व्यवहारिक हुनुपर्नेमा जोड दिए । उनीहरुले घोषणापत्र पत्यारिलो, प्रभावकारी र कार्यान्वयन हुन सक्ने हुनुपर्नेमा बताए ।  वक्ताहरुले आर्थिक मितव्ययिता, भ्रष्टाचार कम गर्ने नीति, सरकारी विद्यालयलाई प्रविधियुक्त बनाएर फ्रि वाईफाई हुनुपर्ने, देशैभरिको सडक व्यवस्थापनको लागि राष्ट्रिय रोड प्राधिकरण हुनुपर्ने, बढ्दो व्यापार घाटा कम गर्न उत्पादनमा बृद्धि, रोजगारी, विदेशमा सिकेको सिप र ज्ञानलाई नेपालमा भित्राउन कानूनी व्यवस्था, मैत्रीपूर्ण लगानी सम्बन्धी कानून लगायतका सुझाव दिए ।  

कार्यक्रममा डा. देश संयोक, गौतम माउली, मुक्तिनाथ पन्त, विद्याभूषण कार्की, पुरु घिमिरे, आरके त्रिपाठी, चिरन शर्मा, रमेश हुमागाई, कृष्ण सेडाई, कुल प्रसाद गुरुङ, विष्णु सुवेदी, राम सुवेदी, दधी ढुंगाना, दिपेश घिमिरे लगायतले घोषणापत्रमा सुझाव दिए ।

प्रकाशित: १६ आश्विन २०७९ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App