coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कार्यपालिका सदस्यलाई धरानका मेयरले बाहिर जानु भनेपछि बैठक बहिष्कार

मेयर साम्पाङको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बैठक बहिष्कार गर्ने क्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु। तस्बिरः रोहित राई

बैठकको एजेण्डामा कार्यपालिका सदस्यलाई बोल्ने नदिएको र बाहिर जानु भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आज (बिहीबार)को कार्यपालिका बैठक बीचैमा बिथोलिएको छ।

मेयर साम्पाङको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका छन्। उनीहरुले मेयर साम्पाङले सार्वजनिकरुपमा माफी नमागेसम्म बैठकमा सहभागी नहुने पनि प्रतिक्रिया दिएका छन्। बिहीबार बैठकको ८औं नम्बरको एजेण्डामा धरान १७ स्थित सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्ताव थियो। उक्त प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले अघिल्लोको जनप्रतिनिधिहरुको पालामा डिपिआर तयार भइसकेको र सोही अनुसार निर्माण गर्नुपर्ने बताएका थिए। साथै, मेयर साम्पाङको अवधारणा अनुसारको पार्क आदिबासी जनजाति महासंघको पहलमा विजयपुरमा निर्माण भइरहेकोले सप्तरंगी पार्कलाई अर्को बहुसाँस्कृतिक पार्क बनाइरहनु नपर्ने धारणा राखेका थिए।

देवानले आफ्नो कुरा नसक्दै मेयर साम्पाङले रोक्दै बस्न भनेका थिए। तर देवानले आफुले बोल्न पाउनुपर्ने भन्दै अडान राख्दा मेयर साम्पाङले नबस्ने भए बाहिर जानुस् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्तिले नगर कार्यपालिका सदस्यहरुलाई अन्याय भएकोले बैठब बहिष्कार गरिएको नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बताए। उनले भने,‘बैठकको एजेण्डामा नगर कार्यपािलका सदस्यले कुरा राख्दै गर्दा बोल्न नदिई बस्नु भन्ने, कुरा राख्न पाउनुपर्छ भन्दा निस्केर जानुस् भन्ने गैरजिम्मेवार अभिव्यक्ति आयो। नगर कार्यपालिका सदस्यलाई निस्कि, जा, आइज भन्नु न्यायोचित र शोभनिय होइन। घरमा काम गर्न राखेको व्यक्तिलाई जस्तो बोली, व्यवहार भयो ।’ मेयर साम्पाङले सार्वजनिकरुपमा माफी नमागेसम्म कार्यापालिका बैठकमा सहभागी नहुने वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बताएका छन्।

यता मेयर साम्पाङले भने सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने आफ्नो एजेण्डा असफल बनाउन प्रपञ्च भएको बताए। सप्तरंगी पार्क दयनीय अवस्थामा रहेकोले पुर्नजीवन दिन खोजेको भन्दै उनले आफ्नो योजनालाई भाजो हालेको बताए। बैठक बहिष्कार भइरहे तोक आदेशको भरमा उपमहानगरपालिका चलाउने पन उनले बताए ।कार्यपालिका सदस्यलाई आफुले बुझाउन खोज्दा नमानेपछि बाहिर जानु भनेको उनले स्वीकार गरे। उनले भने,‘म आफ्नो अडानमा पक्का छुँ। जो कार्यपालिका सदस्य हुनुहुन्छ, उहाँलाई अब म बुझाउछुँ, तपाई बस्नुस् भन्दा बस्दिन भनेपछि बाहिर जानुस् भनेको हो। म माफी माग्दिन, तोकआदेशको भरमा चल्छ।’

कार्यपालिका बैठकमा मेयर साम्पाङको अभिव्यक्तिप्रति आपत्ति जनाउदै वडाअध्यक्ष।  

प्रकाशित: १३ आश्विन २०७९ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App