१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री थापाद्वारा पाँच वर्षे कार्यकालको खर्च सार्वजनिक

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा।

राजनीतिमा नितान्त सेवा गर्ने उद्देश्य अनुरुप प्रदेश सदस्यमा निर्वाचित गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच वर्षे कार्यकालको आम्दानी विभिन्न क्षेत्रमा खर्चिएको सार्वजनिक गरेका छन्।

नेपाली काँग्रेसको तर्फबाट कास्की–२ (ख) बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी आफनो पाँच वर्षे कार्यकालको आफनो तलब भत्ताको सुविधा सबै सामाजिक सेवामा खर्चिएको सार्वजनिक गरेका हुन्।  

मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रण गरेका थिए। उनले २०७४ माघ देखिहालसम्मको उक्त समयमा राज्यबाट उनको बैंक खातामा ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ ३९ पैसा जम्मा भएको जानकारी सुनाए।

मन्त्री थापाले बैंकमा जम्मा भएको रकममा आफ्नो व्यक्तिगत रकम समेत थप गरी ५८ लाख २९ हजार ६६ रुपैयाँ ५२ बराबरको पैसा विभिन्न विकास र सामाजिक कार्यमा खर्च गरेको प्रस्तुत गरे। ‘प्रदेश सांसद हुँदादेखि बहालवाला मन्त्रीका रुपमा मैले प्राप्त गर्ने सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको छु’, उनले भने, ‘प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि नलिइ सामाजिक कार्य अन्तर्गत क्यान्सरपीडित, दलित बस्तीमा खानेपानी लगायतमा खर्च गर्दा आत्मसन्तुष्टि मिलेको छ।’ उनले थापाले राजनीति आफ्ना लागि सेवा भएको जिकिर गरे।  

प्रदेश सभा र प्रदेश तहको सरकारको यो पहिलो कार्यकाल भएको उल्लेख मन्त्री थापाले गरे। बलियो घर निर्माणका लागि बलियो जगको अति महत्व हुने भन्दै घरको संरचना त्यही जगमा उभिएको अभिव्यक्ति उनको थियो। पहिलो कार्यकाल भएकाले पनि प्रदेशले संघीयताको मर्म र भावना अनुरुप कार्यसम्पादनका लागि विभिन्न कानून तथा आधारभूत संरचना निर्माणका लागि अधिकतम ध्यान र मेहेनत गरेको उनले बताए।  

प्रदेशका कतिपय गतिविधि र क्रियाकलापहरु अझ स्पष्ट रुपमा आम जनमानसमा भिज्न नसकेतापनि यस अवधिमा भएका कानुनका निर्माण र अन्य गतिविधिले अर्को पटकको प्रदेश सभा सञ्चालन र सरकारको चुस्त दुरुस्त कार्यका लागि बाटो तय गरेको भनाइ उनको छ। संघीयताको असल अभ्यास अर्काे पटक अझ स्पष्ट देखिनेछ भन्ने विश्वास मन्त्री थापाले लिएका छन्।

मन्त्री थापाले प्रदेशको समृद्धि र विकासका लागि सरकारको एक जिम्मेवार सदस्यको रुपमा काम गर्न पाउँदा खुशी लागेको बताए। उनले आफू राजनीतिमा नितान्त सेवा गर्ने उद्देश्यनुरुप आएको समेत उल्लेख गरे। ‘राजनीति मेरा लागि पेशा कदापी होइन्। व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन। राजनीतिमा नितान्त सेवाका लागि आएको हुँ’, मन्त्री थापाले भने।

मन्त्री थापाको बैंक खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः ७ लाख ९ हजार १ सय ३५ रुपैयाँ, ६ लाख १० हजार ६ सय ३९ रुपैयाँ १० पैसा, ८ लाख ५९ हजार ८ सय ६८ रुपैयाँ, १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा र ५ लाख २५ हजार २ सय ४७ रुपैयाँ जम्मा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।  यो रकम बैठकभत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको हो।

निर्वाचित भएदेखिहालसम्म विकास निर्माण र सामाजिक कार्यमा पहिलो वर्षदेखि क्रमशः १० लाख ५४ हजार ६ सय ५५, ९ लाख ३ हजार ७ सय १ रुपैयाँ ५२ पैसा, १२ लाख ४७ हजार ४० रुपैयाँ, १४ लाख ८६ हजार ९ सय ७० रुपैयाँ, ११ लाख ३६ हजार ७ सय रुपैयाँ खर्च गरेको जनाइएको छ। मन्त्री थापाले आगामी दिनहरुमा समेत देशको समृद्धि र जनताको जीवनस्तर उकास्ने अभियानमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।  

प्रकाशित: १३ आश्विन २०७९ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App