१६ चैत्र २०८० शुक्रबार
राजनीति

चुनावको मुखमा बिलखबन्दमा लोसपा

एक वर्षअगाडि गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावको मुखमै बिलखबन्दमा परेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धनसँग तालमेल गर्ने लोसपाको तयारी थियो। यसका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग स्थानीय तहको चुनावपछि मात्र आठपटक भेटेका थिए। यसैगरी लोसपाका अन्य शीर्ष नेताहरूले पनि देउवासँग पटकपटक कुराकानी गरेका थिए। लोसपाका नेताहरूसँगको कुराकानीमा देउवाले लोसपालाई पाँचदलीय गठबन्धन ल्याउने आश्वासनसमेत दिएका थिए तर अन्तिम समयमा कांग्रेसले लोसापालाई पाँचदलीय गठबन्धनमा नल्याउने भएको छ।

लोसपालाई पाँचदलीय गठबन्धनमा नलगेपछि लोसपाका नेताहरू नेकपा एमालेसँग नजिकिएका छन्। एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न लोसपाले राजेन्द्र महतोको संयोजकत्वमा एउटा टोलीसमेत गठन गरेको छ। महतो टोलीले पहिलो चरणमा एमालेसँग कुराकानी गरिसकेको छ। पहिलो चरणमै लोसपाले एमालेसँग प्रतिनिधिसभाका लागि १९ र प्रदेशसभाका लागि ३४ सिट मागेको छ तर लोसपाका केही केन्द्रीय नेता तथा तल्लो तहका कार्यकर्ता एमालेसँगको गठबन्धनको विरोध उभिएका छन्।

एमाले नागरिकता विरोधको विपक्षमा उभिएकाले एमालेसँग चुनावी तालमेल गर्दा पार्टीलाई नोक्सान हुने उनीहरूको ठहर छ। ‘पार्टी गठन गर्न कांग्रेसका केन्द्रीय कोषाध्यक्ष, मन्त्री तथा सांसद पदसमेत छाडेर हाम्रा नेताहरू आउनुभएको थियो तर अहिले एकदुई थान सांसदका लागि संघीयता, गणतन्त्र तथा नागरिकता विधेयकको विरोधमा उभिएको पार्टीसँग सहकार्य गर्न खोज्दै हुनुहुन्छ। यो भनेको पार्टीको सिद्धान्त र नीतिविपरीत हो’, लोसपाका कार्यकारिणी समितिका सदस्य डा. सुरेन्द्र झाले भने, ‘जनता समाजवादी पार्टी (जसपा) कांग्रेसको पिछलग्गु भएको छ। लोसपा पनि एमालेको पिछलग्गु भयो भने मधेसको शक्ति छिन्नभिन्न हुन्छ; जुन दुर्भाग्य हो।’

पार्टीको मुद्दा र मूल सिद्धान्त जोगाउन पार्टीले एक्लै चुनाव लड्नुपर्ने उनको भनाइ छ। लोसपाकै अर्का एक कार्यकारिणी सदस्य भने एमालेसँग तालमेल गर्नु लोसपाको बाध्यता भएको बताउँछन्। ‘कांग्रेसले धोका दिएपछि हामीले तालमेल गर्ने भनेको एमालेसँग हो। एमालेको नेतृत्वमा हामी सरकारमा गएका थियौं। सरकारमा जान र तालमेल गर्न नहुने भन्ने होइन’, उनले भने।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झालगायतका नेताहरू करिब १९ दिनका लागि सरकारमा गएका थिए। अदालतको आदेशपछि उनीहरू सरकारबाट बाहिरिएका थिए। स्रोतका अनुसार एमालेसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा लोसपामा दुईमत छ तर लोसपाका अधिकांश शीर्ष नेताहरू भने एमालेसँग तालमेल गर्नुपर्ने पक्षमा रहेका छन्। ‘त्यसैले एमालेसँग तालमेल हुने सम्भावना बढी छ’, लोसपाका अर्का एक नेताले भने।

एमालेसँग तालमेल गर्ने कि एक्लै चुनाव लड्ने भन्ने विषयमा दुईमत भएका बेला लोसपाका केही नेताहरू भने धमाधम एमालेमा प्रवेश गरेका छन्। लोसपाका कार्यकारिणी समितिका सदस्य तथा संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरैया एमालेमा प्रवेशमा गरेका छन्। लोसपा स्रोतका अनुसार सोमबार लोसपाका अर्का कार्यकारिणी समिति सदस्य सुनिल रोहितले लोसपा छाडेका छन्। उनी पनि एमालेमा जान तयार रहेको बताइएको छ।

यसैगरी लोसपाका अर्का कार्यकारिणी सदस्य विमल श्रीवास्तवले सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन्। श्रीवास्तवले आफू सक्रिय राजनीतिमा नलाग्ने बताए पनि उनीनिकट कार्यकर्ता भने एमालेमा प्रवेश गरेका छन्। ‘हामीले जुन पार्टीसँग चुनाव तालमेल गर्न गृहकार्य गर्दैछौं, त्यही पार्टीले हाम्रा कार्यकर्ता एक–एक गरेर लिँदै छ’, झाले भने, ‘यो राजनीतिक इमानदारी होइन।’

लोसपामा पहिरो जाने क्रम स्थानीय चुनावअघि नै सुरु भएको हो। स्थानीय चुनावको मुखमा लोसपाका कार्यकारिणी सदस्य राजेशमान सिंह लोसपा छाडेर जसपामा प्रवेश गरेका थिए। यसैगरी लोसपाका केन्द्रीय सदस्यहरू शिव पटेल र अजय गुप्ताले पार्टी छाडेर एमालेमा प्रवेश गरेका थिए 

प्रकाशित: ११ आश्विन २०७९ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App