८ वैशाख २०८१ शनिबार
राजनीति

दसैं बजार अनुगमन बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसहित चार मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फ सचेत रहँदै आ–आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिए। देउवाले १२ बुँदे निर्देशन दिएका छन्।  

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह, अर्थसचिव कृष्णहरि पुष्कर कर्ण, उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो। बजार अनुगमन प्रभावकारी र व्यवस्थित बनाउन योजना समेत बनाएका छन्।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडुले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी दिए। बडूले आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको र अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताए। देउवाले आम नागरिकहरूले उपभोग गर्ने अत्यावश्यक वस्तुको आपूर्तिलाई सुचारू राख्न र आपूर्ति प्रणालीमा कुनै व्यवधान आउन नदिन निर्देशन दिए। सरकारले सार्वजनिक संस्थानहरूमार्फत केही दैनिक उपभोग्य वस्तुहरूमा सहुलियत मूल्यमा विक्री वितरण गर्ने प्रबन्ध मिलाएको छ।

बजारमा उपभोक्ताको चाप बढेसँगै व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई चर्को मूल्यमा वस्तु तथा सेवा विक्री वितरण गर्नेतर्फ सचेत रहन निर्देशन दिएका छन्। ‘उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य वृद्धि गर्र्ने खाद्यवस्तुहरूमा मिसावट गर्ने लगायतका उपभोक्तालाई ठगी गर्ने घटनाहरू घटाउने सम्भावना रहन्छ,’ उनले भने– ‘सरकारका अनुगमन गर्ने निकायहरू बढी क्रियाशील हुनुपर्छ। उपभोक्ता स्वयं पनि सचेत र जागरूक हुन आवश्यक छ।’

बजारमा कृत्रिम रूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रण गर्नुपर्ने बताए। खाद्यवस्तुमा मिसावट हुन नदिई खाद्य वस्तुहरूको गुणस्तर कायम राख्न जिल्ला प्रशासन, वाणिज्य विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रदेश तथा स्थानीय सरकारहरूलाई अनुगमन र सुपरिवेक्षणलाई बढाउन निर्देशन दिए।

खाद्य वस्तुको स्वच्छता कायम गर्न र वस्तुको गुणस्तर तथा नापतौलमा कुनै मोलाहिजा हुन नदिन प्रधानमन्त्रीले आग्रह गरे। ‘अनुचित व्यापारिक क्रियाकलापलाई प्रत्यक्ष रूपमा निगरानी गर्नुपर्ने हुन्छ,’ देउवाले भने– ‘बजारका गतिविधिलाई स्वच्छ र उपभोक्ता मैत्री बनाउनुपर्छ।’

इन्धन, खानेतेल, गहुँ लगायतका खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा भएको मू्ल्यवृद्धि तथा रूस–युक्रेन युद्धका कारण विश्व आपूर्ति प्रणाली शृङ्खलामा आएको व्यवधानले कतिपय उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न निर्देशन दिएका छन्।

विज्ञसहितको संयुक्त बजार अनुगमन टोलीले बजारको अनुगमन गर्ने र त्यस्तो टोलीको संयोजन तथा नेतृत्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने व्यवस्था मिलाउने भएको छ। जिल्ला प्रशासन कार्यालयहरू र मातहतका इलाका प्रशासन कार्यालयहरूले स्थानीयस्तरमा खाद्यान्न, माछामासु लगायतका मालवस्तुको खरिद बिक्रीमा हुनसक्ने मिलेमतो, कार्टेलिङ, सिण्डिकेट रकालो बजारी जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न चाडपर्वको अवसरमा अनुगमनलाई सघन तुल्याउने भएका छन्।  

यातायात व्यवस्था विभागले यात्रुहरूको सुरक्षित र भरपर्दो यातायात सुविधाको सुनिश्चितता गर्ने गरी कार्य योजना बनेको छ। पशुसेवा विभाग र मातहतका कार्यालयहरूले हाटबजार तथा स्थानीस्तरमा हुने पशुपन्छी खरिद बिक्रीको अनुगमन गरी त्यसरी बिक्री वितरण भइरहेका पशुपन्छीहरू स्वस्थ रहेको सुनिश्चितता गर्ने जिम्मेवारी दिइएको छ।

बजारमा बिक्रीका लागि राखिएका वस्तुको तोकिए बमोजिमको गुणस्तर छ छैन र प्रयोगमा रहेका नापतौल उपकरणहरू मान्यता प्राप्त छन्छै/नन् अनुगमन गरी गुणस्तरीय आपूर्तिको सुनिश्चितता गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा अुनगमन हुने भएको छ। राजमार्ग तथा प्रमुख शहरी केन्द्रमा सञ्चालित होटल तथा रेष्टुरेण्ट व्यवसायले विक्रीका लागि राखेको तयारी खाद्य वस्तु खानयोग्य र स्वस्थकर छ/छैन भन्ने विषयमा पनि अनुगमन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्। 

प्रकाशित: १० आश्विन २०७९ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App