८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रीहरू विवादमा परेपछि जीवनभर आलोचित

पर्यटन नागरिक तथा उड्डयनमन्त्री जीवनराम श्रेष्ठको क्यानाडाली भिसा प्रक्रियाका क्रममा सुरक्षा गार्डसँगको विवादले ठूलै रूप लिएको छ। बहालवाला मन्त्री जोडिएपछि यसै पनि विषयवस्तु बढी संवेदनशील बन्ने गरेको छ।

प्रायः मन्त्रीहरू जोडिएका मुद्दालाई गम्भीरताका साथ उठाउने गरिएको देखिन्छ। विगतमा पनि यस्ता विवाद पटकपटक भएका छन्। विवाद बढ्दै जाँदा केहीले राजीनामा गर्नु पनि परेको छ। केहीलाई भने जीवनभर त्यो मुद्दाले नछाडेको इतिहास पनि छ।

२०६४ असार ४ मा तत्कालीन वनमन्त्री मातृका यादवले ललितपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई मन्त्रालयको शौचालयमा थुनेका थिए। ललितपुरमा बिनाइजाजत सञ्चालित ढुंगाखानीको विषयलाई लिएर यादव घिमिरेमाथि जाइलागेका थिए। त्यसबेला मन्त्री यादवको उक्त हर्कतको चौतर्फी आलोचना भयो। निजामती कर्मचारी संघ–संगठनले मन्त्री यादवको राजीनामा मागे, तर उनले राजीनामा दिएनन्। त्यसबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए।

कानुन हातमा लिएर कर्मचारीमाथि आक्रमण गर्ने मन्त्री यादव पहिला होइनन्। त्यसअघि पनि मन्त्रीहरूले यसैगरी कर्मचारीमाथि कुटपिट गरेका थिए। २०६६ कात्तिक २४ मा तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले आफूलाई लिन सिमरा विमानस्थलमा पुरानो गाडी पठाएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीमाथि हातपात गरेकी थिइन्। उक्त घटनाको पनि सर्वत्र विरोध भयो। राजीनामा मागे पनि उनले दिइनन्।

त्यस्तै २०७२ असार १५ गते धान दिवसका अवसरमा तत्कालीन कृषिमन्त्री हरि पराजुलीले काठमाडौं मूलपानीस्थित रोपाइँ कार्यक्रममा गएका बेला रोपाहार स्थानीय महिलामाथि अशोभनीय व्यवहार गरेका थिए। उनले ती महिलाप्रति अश्लील व्यवहार गरेको भनी चौतर्फी आलोचना भयो। दबाब थेग्न नसकेपछि असार १७ गते उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामापत्र बुझाएका थिए। त्यसपछि उनी गुमनाम छन्।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा मन्त्री भएका प्रेम आले पनि विवादमा आइरहे। आलेले भारतमा बस्ने एक नेपालीलाई अश्लील शब्द प्रयोग गर्दै अपहरणसमेत गर्ने धम्की दिएको अडियो २०७८ फागुन पहिलो साता सार्वजनिक भयो। त्यसको आलोचना चर्कै भयो। उनले आफ्नो बचाउ गर्न धेरै प्रयास गरे तापनि विरोध हुन छाडेन। उनको विवादित छवि त्यतिमा मात्र सीमिति रहेन। पर्यटनमन्त्री भएका बेला उनले आफ्नै कार्यकक्षमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बोलाएर हातपात गरेका थिए।

त्यस्तै तत्कालीन राज्यमन्त्री खोबारी राय यादवले २०५२ सालमा कमलादीस्थित मनसुन डिस्कोमा पुगेर नाचगान गरिरहेको अवस्थामा गोली चलाएका थिए। उनी पटकपटक विवादमा आइरहे।

२०५६ सालमा तत्कालीन युवा तथा खेलकुदमन्त्री बलबहादुर केसी विशालनगरस्थित एक निजी घरमा पर्खाल नाघेर पसेका थिए। त्यो घटनालाई जोडेर पछिसम्म उनको आलोचना भइरह्यो। केपी ओली नेतृत्वको सरकारका कानुनमन्त्री रहेका शेरबहादुर तामाङ पनि अर्का विवादित पात्र हुन्। बंगलादेशमा मेडिकलमा अध्ययनरत छात्राको विषयमा असंवेदनशील टिप्पणी गरेका कारण उनले २०७५ सालमा मन्त्रीबाट हट्नुपरेको थियो।  

संघीय सरकारका मन्त्रीहरू मात्र होइनन्; प्रदेश सरकारका मन्त्री पनि बेलाबेलामा विवादित हुने गरेका छन्। लुम्बनी प्रदेश सरकारमा मन्त्री भएका बेला विमला वलीले २०७८ मा दाङको तुलसीपुरमा एक निजी निवासमा प्रवेश गरेर महिलामाथि हातपात गरेकी थिइन्। यस घटनाको आलोचना भएपछि छानबिन समिति गठन गरिएको थियो। अहिले उनी लुम्बिनी प्रदेश सरकारमा मन्त्री छैनन्।

मधेस प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पनि २०७५ पुसको अन्तिम साता तत्कालीन उद्योग, वन, पर्यटन तथा वातावरण सचिव विद्यानाथ झालाई हातपात गरेका थिए। अहिले यादव मधेस प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री छन्।  

प्रशासनविज्ञ शारदाप्रसाद त्रितालले मन्त्रीजस्तो व्यक्ति संयमित, अनुशासित र जिम्मेवार हुनुपर्नेमा कोहीकोहीले नैतिकता बिर्सने गरेको बताए। ‘मन्त्री भनेका जनताका सेवक मात्र हुन्। उनीहरूले आफूलाई यही सम्झनुपर्छ’, त्रितालले भने, ‘तर विडम्बना कोहीकोहीले यो बिर्सन्छन्।’ कानुनअगाडि सबै बराबर हुने उनले बताए। उनले भने, ‘प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री पनि कानुनभन्दा माथि हुँदैनन्।’

प्रकाशित: २८ भाद्र २०७९ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App