१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छः मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुुपर्ने बताएका छन्।

आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। मन्त्री गहतराजले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्ने बताए। 

उनले देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने बताए। मन्त्री गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई भगमाा विभाजन गर्न आवश्यक रहेको पनि बताए। उनले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक रहेको बताए। उनले अहिले राज्यकै नीतिमा पनि अन्तरबिरोध भइरहेको बताउँदै यसलाई समयानुकुल परिमार्जन गर्न आवश्यक भएको बताए।  

उनलेभने ‘मैले जुन मन्त्रालय सम्हालीरहेको छु, मलाई अहिले अनुभुति भएको छ, हामीले हिजो जुन मन्त्रालय बनायौँ, यो मन्त्रालयको कार्य विभाजन अझै मिलिरहेको छैन भन्ने लागेको छ। त्यसैले मैले अहिले छलफल गरिरहेको छु, युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा बाँड्नुपर्छ। एउटा युवा, श्रम तथा रोजगार मन्त्रालय र अर्को खेलकुदलाई पनि शिक्षाकै रुपमा लिएर शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक छ। एकातिर खेलकुद र अर्कोतिर युवाहरुको विकास छ। अहिले राज्यकै नीति पनि अन्तरबिरोध भइरहेको छ। एउटा मन्त्रालय देशभित्रै स्वरोजगार हुनुपर्छ भन्छ, अर्को मन्त्रालय रेमिट्यान्स ल्याउन बाहिर जानुपर्छ भनेर मेनपावर गुहार्दै हिँड्छ। हामीलाई रेमिट्यान्स चाहिन्छ, दक्ष जनशक्ति बाहिर श्रमको लागि पठाउनु पर्छ। अब युवाहरुलाई रोजगार सिर्जना गर्ने, देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्छ। जसले यी मुद्दालाई अघि बढाएर जान्छ, तिनै पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्छ।’

मन्त्री गहतराजले प्राकृतिक श्रोत र साधनलाई सही ढंगले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यक्ता रहेको बताए। उनले एकद्वार प्रणालीबाट युवाहरुलाई तालिम दिने हो भने करिव ७० अर्ब रुपैयाँ रकम केन्द्रित गर्नसक्ने आधार सरकारसँग रहेको बताए।  

प्रकाशित: २६ भाद्र २०७९ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App