coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वडा सदस्यमा पराजित झा प्रदेशसभामा सिफारिस

गएको स्थानीय चुनावको परिणाम अनुसार धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन्।  

पछिल्लो स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका–४ मा वडा सदस्य पदमा पराजित दिपक कुमार झालाई (लोसपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यको रुपमा अगाडी सारेका छन्। उनी गत स्थानीय निर्वाचनमा  लोसपाको तर्फबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर नेपाली कांग्रेसका  प्रशन कुमार झासँग झण्डै ४ सयको मतान्तरले पराजित भएका थिए। उनले ६०२ मत पाएको थियो भने प्रशन ९ सय ८४ मत ल्याएर सदस्य पदमा निर्वाचित भएको थियो।

०७४ सालको निर्वाचनमा तत्कालीन (राजपा) बाट उम्मेदवारी दिएका उनी वडा सदस्यमा निर्वाचित भएका थिए। सदस्यमा निर्वाचित भएपछि । उनी जिल्ला समन्वय समितिको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएको थियो। जिल्ला समन्वय समितिमा उपाध्यक्ष पद सम्हालेका दिपक पछिल्लो स्थानीय निर्वाचनमा पनि सदस्य पदमा उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएको थियो। सो वडामा कांग्रेसको प्यानलनै विजयी भएका थिए। वडाध्यक्षमा कांग्रेसका सुरेश झाले ८ सय ३३ मत ल्याएर निर्वाचित भएका थिए भने लोसपाका सुर्दशन सिंहले ८ सय २७ मत ल्याएर पराजित भएको थियो।

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट (लोसपा) ले चार जनाको नाम सिफारिस गरेका छन्। यस निर्वाचन क्षेत्रका वर्तमान प्रदेशसभा सदस्य एव लोसपाको प्रमुख सचेतक प्रमेश्वर साह सहित कामेश्वर झा, संजय कुमार चौधरी र दिपक कुमार झाको नाम सिफारिस भएको हो।

मेयरमा पराजित संघ र प्रदेशमा सिफारिस  

(लोसपा) ले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको रुपमा धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रामबाबु यादवको एकल नाम सिफारिस गरेको छ। यादव गत स्थानीय निर्वाचनमा गणेशमान चारनाथ नगरपाालिकाको मेयर पदमा पराजित भएका थिए। उनी ०७४ को स्थानीय निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। तर ०७९ को स्थानीय निर्वाचनमा यादव नेतृत्वको जनता समाजवादी पार्टीले टिकट नदिँदा उनी अन्तिम समयमा लोसपा प्रवेश गरी मेयरमा उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा उनले १ हजार ३२३ मत ल्याएको थियो भने नेपाली कांग्रेसका उम्मेदवार जित नारायण यादवले ३ हजार १०८ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए।  

त्यस्तै सोही निर्वाचन क्षेत्रको ‘ख’ बाट प्रदेशसभा सदस्यको लागि लोसपाले मेयरमा पराजित अर्का नेता रामज्ञान मण्डलको एकल नाम सिफासिस गरेको छ। गत स्थानीय निर्वाचनमा हँसपुर नगरपालिकामा पराजित भएका थिए। उनी ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए। तर गएको स्थानीय निर्वाचनमा उनले २ हजार ८१५ मत ल्याएर पराजित भएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार प्रदिप यादवले ४ हजार ४०९ मत ल्याएर निर्वाचित भएको थियो ।

त्यस्तै पार्टीले धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ को ‘ख’ बाट गाउँपालिका अध्यक्षमा पराजित भएका अजय कुमार राउतलाई सिफारिस गरेको छ। उनी गएको स्थानीय निर्वाचनमा (लोसपा) बाट धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। तर सो निर्वाचनमा उनी ४५४ मत मात्रै पाएको थियो । बटेश्वर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार राम अशिष महतो ४ हजार १८ मत ल्याएर निर्वाचित भएका थिए। 

प्रकाशित: २६ भाद्र २०७९ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App