२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्र उत्थानका लागि नागरिक अनुशासित बन्नुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन्।

शुक्रबार काठमाडौँमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताएकी हुन्।

उनले नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्ने बताइन्। उनले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने उल्लेख गरिन्।

उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामहरुसँगको साक्षात्कारबाट पनि हुने बताइन्। समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकोले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘कुनैपनि राष्ट्रको उत्थानका लागि हरेक नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नु अनिवार्य छ। यसकालागि सुपठित हुनु पहिलो शर्त हो। अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता निर्माण गर्छ। त्यही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुन थाल्दछन्। समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञानको समृद्धि पनि हो। सभ्यताको समृद्धि पनि हो। अध्ययन कागजमा छापिएका अक्षरबाट मात्रै हुँदैन। जीवनका विविध आयामसँगको साक्षात्कारबाट पनि हुन्छ। समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य छ। ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ।’

कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ‘प्रेम साहित्य सम्मान’ अर्पण गरेकी थिइन्। त्यसैगरी किताब यात्रा बेष्ट सेलर पुरस्कारबाट पुस्तक ‘सत्यमोहन’ का लागि लेखक गिरिश गिरीलाई सम्मान गरेकी थिइन्।

प्रकाशित: २४ भाद्र २०७९ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App