१६ चैत्र २०८० शुक्रबार
राजनीति

सिन्धुपाल्चोक-१ बाट सभामुख सापकोटासहित तीन जनाको नाम सिफारिस

माओवादी केन्द्रले सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचनको लागि सभामुख अग्निप्रसाद सापकोटालाई उम्मेदवार सिफारिस गरेको छ। माओवादीले प्रतिनिधि सभाका सभामुख सापकोटासहित तीन जनाको नाम सिफारिस गरेको हो।

पार्टी पोलिटब्यूरो सदस्य माधव सापकोटा र फुलम लामा पनि यसै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। एमालेसमेतको मतमा २०७४ को प्रतिनिधि सभा चुनाव सभामुख सापकोटाले यसै क्षेत्रबाट जितेका थिए। त्यतिबेला उनले काँग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए।

पूर्वमन्त्री रहेका काँग्रेस केन्द्रीय सदस्य बस्नेत आसन्न निर्वाचनका लागि यसै क्षेत्रबाट एकल उम्मेदवार सिफारिस भइसकेका छन्। क्षेत्र नं. १ बाटै समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि माओवादीले पुण्य पराजुली, विष्णुकुमार श्रेष्ठ, पूर्णबहादुर तामाङ, गणेश बिक र पार्वती थामीलाई सिफारिस गरेको जनाएको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, (क) को प्रत्यक्षतर्फ सरल सहयात्री पौड्याल एकल सिफारिस भएका छन्। उनी पार्टी बागमती प्रदेश समितिका अध्यक्ष हुन्। समानुपातिकतर्फ राजकुमार पौडेल, लालकान्छा तामाङ, ज्ञानेन्द्रबहादुर गुरुङ, राजु खाती, आशा गुरुङ शेर्पा र सुन्दर पहरी सिफारिस भएका छन्।

त्यस्तै क्षेत्र नं. १ (ख) मा अम्बिका नेपाल, चन्द्रप्रसाद सापकोटा, टिएन सापकोटा र प्रतापसिंह तामाङ प्रत्यक्ष उम्मेदवार सिफारिस भएका छन्। समानुपातिकमा अमृता नेपाल, गोकर्णदास श्रेष्ठ, पदम श्रेष्ठ, चित्रबहादुर तामाङ, सागर परियार, सुवास सुन्दास र टीकाराम पराजुली अगाडि सारिएका छन्।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ युवराज दुलाल र चन्द्रबहादुर थापा सिफारिस भएका छन्। माओवादी पोलिट्ब्यूरो सदस्य दुलाल बागमती प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री हुन्। २०७४ को प्रदेश सभा निर्वाचनमा उनी यसै क्षेत्रको (क) बाट निर्वाचित भएका थिए।

बलाराम बिक, उद्दन आलेमगर र ठूलोबाबु श्रेष्ठ समानुपातिक उम्मेदवार सिफारिस भएका छन्। क्षेत्र नं. १ (क) मा प्रत्यक्षतर्फ जानुका पराजुली, चिरञ्जीवि आचार्य, श्यामकृष्ण श्रेष्ठ र गोविन्द पराजुली तथा समानुपातिकमा बीरबहादुर तामाङ, ललित श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठलगायत सिफारिस भएका छन्।

प्रदेश सभा (ख) मा भने फुर्बा स्याङ्बो, भरत थापा, बिदुर चौलागाईँ प्रत्यक्ष र रोहिणी बिक, मुना ढकाल, श्याम खड्कालगायत समानुपातिक उम्मेदवार सिफारिस भएका छन्। एकै दिन बसेको दुबै निर्वाचन क्षेत्रको क्षेत्रीय समिति र प्रदेश समन्वय समितिको संयूक्त बैठकले उम्मेदवार सिफारिस गरेको माओवादीले जनाएको छ। 

प्रकाशित: २० भाद्र २०७९ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App