६ वैशाख २०८१ बिहीबार
राजनीति

गुण्डागर्दी पृष्ठभूमिका राजु गोर्खाली सिन्धुपाल्चोक–२ बाट सिफारिस

‘गुण्डागर्दी’ पृष्ठभूमिका राजेन्द्रबहादुर गोर्खाली आसन्न संघीय निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। राजु गोर्खालीको नामले परिचत उनी सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ को लागि उम्मेदवार सिफारिस भएका हुन्।  

नेपाली कांग्रेस जिल्ला समितिले आइतबार बागमती प्रदेश र केन्द्रीय समितिलाई बुझाएको सिफारिस सूचीमा गोर्खालीको नाम दुई नम्बरमा छ। यो क्षेत्रबाट उनीसहित पाँचजना सिफारिस भएका छन्। सूचीको एक नम्बरमा पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा छन्। उनी राप्रपा पृष्ठभूमिका नेता हुन्। राप्रपा नेता सुनिलबहादुर थापासँगै उनी कांग्रेस प्रवेश गरेका थिए।  

गोर्खाली पछाडि कांग्रेस निवर्तमान उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ र पुराना नेता शंकर लामा उम्मेदार सिफारिस भएका छन्। कांग्रेस जिल्ला सभापति जंगबहादुर लामाले गोर्खालीको नाम सिफारिस भएको पुष्टि गरे। ‘क्षेत्रीय समितिबाट आएको उम्मेदवार सिफारिसमा केही नाम थप्दै जस्ताको त्यस्तै जिल्लाले अनुमोदन गरेर पठाएको छ,’ उनले भने।  

जिल्लाका प्रभावशाली नेता भूपेन्द्रबहादुर थापा, बंशलाल तामाङ, तारानाथ दाहाल, बलदेव तिमिल्सिना, बागमती प्रदेशका मन्त्री निमा लामा, जिमी लामा लगायत प्रभावशाली नेतालाई छाँयामा पारेर गोर्खालीको नाम प्रत्यक्षमा सिफारिस भएपछि सिन्धु कांग्रेसका तरंग पैदा भएको छ। बरु टिकटका आकांक्षी बंशलाल, निमा र जिमी लगायतलाई उम्मेदवार बन्नबाट रोक्न स्थानीय चुनावमा असहयोग गरेको आरोप लगाएर कार्वाहीको दण्डा चलाउन थालिएको छ। ‘गुण्डागर्दी र पैसाको बलमा राजनीति सटही हुन थाल्यो,’ एक पुराना नेताले निराशा पोखे।  

काठमाडौँ चावहिलका स्थानीय बासिन्दा गोर्खाली राजधानीलाई केन्द्र बनाएर गुण्डागर्दी, गिटी, बालुवाको अवैध व्यापारमा संलग्न रहँदै आएका छन्। केही वर्षअघि राजधानीको बेबिलोन डिस्कोमा उनले राकेश लिम्बुको हत्या गरेका थिए। उनी डिस्कोका सञ्चालक थिए। हत्यापछि गोर्खाली प्रहरीको आँखा छल्दै लामो समय फरार भए। पछि पक्राउ परेर अदालतबाट तोकिएको कैद सजायँ भूक्तानी गरी उनी रिहा भएका थिए।  

राजनीतिक शक्तिको पछाडि लाग्ने प्रवृत्तिका गोर्खाली २०७४ को चुनावमा राप्रपा प्रवेश गरेका थिए। राजधानीको सिभिल मल ठेक्का लिएर असुली गर्दै आएको आरोप पनि उनीमाथि छ। गोर्खाली अहिले सिन्धु कांग्रेसका महासमिति सदस्य छन्। १४ औँ महाधिवेशनमा लोकप्रिय मत ल्याएर उनी क्रमशः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका छन्। त्यही हैसियतमा उनी उम्मेदवार सिफारिससम्म गरेका हुन्।  

गुण्डागर्दी र अवैध धन्दाबाट आर्जित अकुत सम्पतिकै बलमा राजनीति गर्न गोर्खाली राजधानी नजिकको सिन्धुपाल्चोक पुगेका हुन्। स्थानीय नेताहरुका अनुसार गोर्खालीलाई सिन्धु राजनीतिमा ‘कनेक्सन’ गराउने पात्र हुन् नेता विकास लामा। जिल्ला पार्टी सभापति रहँदा लामाले उनलाई सिन्धुपाल्चोक पुर्‍याएका हुन्। कांग्रेस स्रोतका अनुसार लामाकै गाउँ इन्द्रावती गाउँपालिकाको भोटसिपामा केही जग्गा किनेर जिल्लावासीकै हैसियतमा उनी सिन्धु कांग्रेसको राजनीतिमा छिरेका हुन्। यसको चाँजोपाँचो मिलाउने नेता निवर्तमान सभापति लामा नै हुन्।  

उनी निकटहरुका अनुसार कपडा व्यवसायी पारिवारीक पृष्ठभूमिका गोर्खाली जिल्लावासी बराबरकै हैसियत बनाएर सिन्धुपाल्चोकबाट राजनीतिक करियर अघि बढाउने योजनामा छन्। केही महिनाअघि मात्र उनले सदरमुकाम चौतारामा घर खरिद गरेका छन्। पूर्वपार्टी सभापति भुपेन्द्रबहादुर थापाको यो घरका लागि गोर्खालीले २२ लाख रुपैयाँ बैना (पेश्की) भूक्तानी गरिसकेका छन्। ‘७२ लाखमा घर किन्ने छिनोफानो भएको हो। बाँकी पैसा तीन महिनाभित्र भूक्तानी गरेर घर नामसारी गर्ने सहमति छ,’ थापा निकट एक कार्यकर्ताले भने।  

गत वर्ष सम्पन्न कांग्रेसको क्षेत्रीय र जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन हुन गोर्खालीले ठूलो रकम खर्च गरेर चुनाव प्रभावित गरेको कांग्रेसकै नेताहरु बताउँछन्। गोर्खालीलाई सिन्धु कांग्रेसको राजनीतिमा प्रवेश गराउने निवर्तमान सभापति लामाले यसबापत उनीबाट आर्थिक लाभ लिँदै आएको कांग्रेसी नेता, कार्यकर्ताकै आरोप छ।  

प्रकाशित: १९ भाद्र २०७९ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App