१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमालेले जिते ओली प्रधानमन्त्री

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ। एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्न र लोकप्रिय मत हासिल गर्न प्रधानमन्त्रीमा ओलीलाई अघि सारेर चुनावमा जाने निर्णय शनिबार केन्द्रीय समिति बैठकले गरेको हो। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भइसकेको छ।  

ओलीलाई एकपटक पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय बैठकले गरेको जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले दिए। उनका अनुसार मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन सक्ने ‘भिजन’ भएको नेता चाहिएकाले ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो। ‘सत्ता गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को हुने भन्ने हानथाप छ। गठबन्धनको भिजन र मिसन के हो भन्ने पनि कसैलाई थाहा छैन। त्यसकारण जनताले मुलुकमा राजनीतिक स्थायित्व खोजेकाले त्यसका लागि अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउने निर्णय एमाले केन्द्रीय कमिटी बैठकले गरेको हो,’ ज्ञवालीले भने।

ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि नेपालको मिचिएको भूमि समेटेर चुच्चे नक्सा जारी गरिएको थियो। २०७४ सालको निर्वाचनपछि ओली दोस्रोपटक प्रधानमन्त्री भएका थिए। पहिलोपटक प्रधानमन्त्री (संविधानसभाबाट संविधान जारी भएपछि) भएका बेला ओलीले भारतले गरेको नाकाबन्दीको डटेर सामना गरेका थिए।

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले पनि मुलुकलाई राजनीतिक स्थायित्व दिनु अहिलेको आवश्यकता रहेकाले प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीलाई अघि सारिएको बताए। मुलुकको आवश्यकतालाई ध्यान दिएरै यस्तो निर्णय गरिएको जिकिर उनले गरे। ‘अहिलेको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार तोकेर निर्वाचनमा जानु उपयुक्त हुने देखियो,’ एमाले उपमहासचिवसमेत रहेका गुरुङले भने। राष्ट्रियताको सवालमा दूरगामी निर्णय गर्न र त्यसलाई टुंगोमा पुर्‍याउन पनि दुईपटक प्रधानमन्त्री भएका ओलीलाई एमालेले फेरि प्रधानमन्त्रीका रूपमा अघि सारेको उनको भनाइ थियो।

बैठकले चुनावी कमान्डर ओलीलाई तोक्दै उम्मेदवार छनोट मापदण्ड पनि तय गरेको छ। शुक्रबार सुरु भई शनिबार सम्पन्न भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमाथि समूहगत रूपमा छलफल भएको थियो। समूहगत छलफलपछि बैठकले ओलीको प्रतिवेदन पारित गर्दै उम्मेदवार छनोट मापदण्डसमेत तय गरेको हो। ‘पार्टीलाई संगठनात्मक र वैचारिक रूपले एकताबद्ध तथा कार्यशैलीमा एकरूपता ल्याउन अध्यक्ष ओलीको प्रतिवेदन पारित भएको छ, जसले पार्टीभित्र एकमना एकताको सन्देश दिएको छ,’ प्रचार विभाग प्रमुख गुरुङले भने।

उम्मेदवार छनोटका पाँच मापदण्डमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुनबमोजिमको योग्यता छन्। बैठकले भदौ २२ भित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ। गुरुङले समानुपातिकतर्फ नाम सिफारिस गर्दा अवसरको न्यायोचित वितरण, सन्तुलन र समावेशितालाई ध्यान गर्न निर्देशन दिइएको बताए। जिल्लाले पठाउने निर्णय अन्तिम नभएकाले केन्द्रबाट हेरफेर हुन सक्ने पनि उनले बताए।

त्यस्तै प्रत्यक्षतर्फ उम्मेदवारका लागि कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्णय बैठकले गरेको छ। उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक रायसुझावसहित केन्द्रमा पठाउनुपर्ने गुरुङले बताए।

गुरुङले समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई पुनः दोहोर्‍याउनु न्यायोचित नहुने ठहर बैठकले गरेको बताए। स्थानीय तहका जनप्रतिनिधिलाई पनि राजीनामा दिएर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवार बन्न नदिने एमालेले जनाएको छ।

सहकार्यका लागि आह्वान

एमाले अध्यक्ष ओलीले केन्द्रीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रगतिशील र वामपन्थीहरूको एकता र सहकार्य आवश्यक रहेको बताएका छन्। उनले समापन सम्बोधनका क्रममा एकता र सहकार्यको सम्भावना कायमै रहेको बताउँदै सहकार्यका लागि आह्वान गरेका छन्। ‘नेकपा एमाले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूको एकता र सहकार्यका लागि आह्वान गर्छ तर त्यस्तो एकता सक्कली हुनुपर्छ। एकताका नाममा अल्मलिने भूलचाहिँ एमालेले गर्दैन,’ ओलीले भने। उनले दक्षिणपन्थी शक्तिहरूलाई पार लगाउन केही शक्ति उतैतिर टाँसिएको बताए। तिनीहरूसँग सहकार्य हुन नसक्ने उनले स्पष्ट पारे। ‘साँचो वामपन्थी हो भने एकताका लागि आउनुपर्‍यो,’ उनले भने, ‘विचार मिल्नेहरू एक ठाउँमा उभिएर चुनावी मोर्चामा जाऔं।’

ओलीले पार्टी निर्णय नगरी आफैं उम्मेदवारी घोषणा गर्दै हिँड्ने नेताहरूलाई त्यसो नगर्न चेतावनीसमेत दिए। ‘आफैं उम्मेदवार भएँ भन्दै नहिँडौं। पार्टीले निर्णय गर्न बाँकी छ,’ ओलीले निर्देशात्मक मन्तव्य दिँदै भने, ‘आफैंले आफैंलाई उम्मेदवार घोषणा गर्ने होइन। पार्टीले उठाए चुनाव लड्ने हो। पार्टीले जसलाई उठाउँछ उसैलाई जिताउने हो।’ ओलीले सामाजिक सञ्जाललाई एमालेको विचार प्रवाह गर्ने र पार्टीको पक्षमा जनतालाई प्रस्ट पार्ने माध्यमका रूपमा उपयोग गर्नसमेत निर्देशन दिएका छन्। ओलीले पार्टीको नीतिविपरीत नहिँड्न, विरोधीहरूका बीचमा पनि लोकप्रिय बन्न र पार्टीलाई घाटा हुने अभिव्यक्ति नदिनसमेत आग्रह गरे।

वाम गठबन्धनको प्रस्ताव पेस गरेका घनश्याम भुसाललगायत नेतालाई जवाफ दिँदै ओलीले एमाले सिध्याउन तयार भएकासँग कसरी गठबन्धन हुन्छ भनेर प्रश्न गरेका थिए। ‘तरबार लिएकासँग मित लाउन सकिन्न। एमालेलाई सिध्याउन दक्षिणपन्थी शक्तिको भरिया बनेकाहरू कम्युनिस्ट हुन सक्दैनन्। उनीहरूसँग एकता र सहकार्य हुन सक्दैन,’ ओलीले भने ।

प्रकाशित: १२ भाद्र २०७९ ००:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App