१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नागरिक सर्वेक्षण-५: देउवा अगाडि, पौडेल दोस्रो, सिटौला निकै पछाडि

काठमाडौं–नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार हुने निर्वाचनमा सभापति पदका प्रत्याशी वरिष्ठ नेता शेरबहादुर देउवा अग्रस्थानमा रहेको नागरिक सर्वेक्षणले औंल्याएको छ। अर्का प्रत्याशी रामचन्द्र पौडेल दोस्रो र महामन्त्री कृष्णप्रसाद सिटौला ठूलो मतान्तरले तेस्रो स्थानमा देखिन्छन्। निर्णायक शक्ति भने दुवै प्यानलसँग छैन, प्यानलबाहिर रहेको २५ प्रतिशत मतदाताबाटै सभापति कसले जित्छ भन्ने निक्र्याेल हुने सर्वेक्षणको नतिजा छ।नागरिक दैनिकअन्तर्गतको अनुसन्धानात्मक विभाग 'नागरिक रिसर्च ब्युरो' (एनआरबी) ले मुलुकभरका ८ सय ६५ महाधिवेशन प्रतिनिधिबीच गरेको सर्वेक्षणमा देउवालाई भोट हाल्छु भन्नेहरू ३९ प्रतिशत छन् । सभापतिमा पौडेललाई रोज्नेहरू २६ प्रतिशत र सिटौलालाई चाहनेहरू ६ प्रतिशत देखिन्छन् ।

सर्वेक्षणमा भाग लिनेमध्ये एकचौथाइ अर्थात् २५ प्रतिशतले सभापतिमा भोट कसलाई हाल्ने भन्दा 'भन्न चाहन्नँ' भन्ने जवाफ दिए । सभापति प्रत्याशीमा नाम चलाएका महामन्त्री प्रकाशमान सिंहलाई भोट हाल्न चाहनेहरु १ प्रतिशत, नेत्री सुजाता कोइरालालाई जिताउँछु भन्नेहरू १ प्रतिशत र अन्य कसैलाई मत हाल्छु भन्नेहरू २ प्रतिशत संख्यामा देखिए ।

एनआरबीले नेपाली कांग्रेसको भावी सभापतिको हुने ? कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा वा महामन्त्री कृष्ण सिटौला वा अरू कोही ? भन्ने मूल प्रश्न राखेर फागुन दोस्रो सातादेखि फागुन १८ गतेसम्म सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणले जिताउने साँचो भने निर्वाचनअघि स्पष्ट नखुलेका तिनै एकचौथाइ प्रतिनिधिका हातमा देखाएको छ । तीन नेताका पक्षमा स्पष्ट खुलेका प्रतिनिधिले भने प्रतिस्पर्धाको अग्रपंक्तिमा देउवा, दोस्रोमा पौडेल र ठूलो अंकको फरकमा सिटौला तेस्रोमा हुने औंल्याएका छन् ।

एकचौथाइ महाधिवेशन प्रतिनिधि खुल्न नचाहेको अवस्थाले देउवा र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने त्रिभुवन विश्वविद्यालय, केन्द्रीय तथ्यांकशास्त्र विभागका प्राध्यापक शंकरप्रसाद खनाल बताउँछन् । सर्वेक्षणमा 'भन्न चाहन्नँ' भन्नेहरू एकचौथाइ अर्थात् २ सय २१ प्रतिनिधि रहेकाले यकिन गरेर कसले जित्छ भन्ने ठोकुवा गर्न नसकिने खनालको धारणा छ ।

देउवा र पौडेलबीच त्यो संख्या कसरी बाँडिन्छ, त्यसै आधारमा निर्वाचन परिणाम आउने उनको आँकलन छ । खनाल भन्छन्, 'सोझै नाम तोकेर भोट हाल्छु भन्नेहरू जसरी बाँडिएका छन्, त्यसै हिसाबले भन्न चाहन्नँ भन्नेहरू विभाजित हुने हो भने देउवाको पल्लाभारी देखिन्छ ।'

महाधिवेशन प्रतिनिधिलाई सोधिएको 'तपार्इं आफू कसलाई भोट हाल्नुहुन्छ भन्ने प्रश्नमा सभापति उम्मेदवारको चर्चामा रहेका पाँच जनाको नाम अंग्रेजी वर्णानुक्रमअनुसार क्रम मिलाएर राखिएको थियो । जसमा क्रमशः कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, सुजाता कोइराला, अन्य कोही र भन्न चाहन्नँ भन्ने विकल्प थिए । त्यस्तै, 'तपार्इंको विचारमा अहिले सभापति पदको प्रचारमा रहेका कसले जित्ला ?' भनेर अनुमान लगाउने प्रतिनिधिमध्ये ४२ प्रशितले देउवाको नाम लिएका छन्, २८ प्रतिशतले पौडेलले जित्छन् भनेका छन् ।

त्यस्तै, सिटौलाले जित्लान् भन्नेहरू करिब ६ प्रतिशत छन् भने 'थाहा छैन' भन्नेहरू १८ प्रतिशत छन् । प्रकाशमान, सुजाता र अन्य कसैले जित्ने अनुमान लगाउनेहरूको संख्या क्रमशः २, १ र ३ प्रतिशत छ । कसले जित्लान् भन्ने प्रश्नमा पनि सभापतिको उम्मेदवारको चर्चामा रहेकाहरूको नाम अंग्रेजी वर्णानुक्रमअनुसारै राखिएको थियो ।

कसले जित्लान् र कसलाई भोट हाल्नुहुन्छ भन्ने प्रश्नमा धारणा राख्ने महाधिवेशन प्रतिनिधिको धारणालाई एसपिएसएस सफ्टवेयरको क्रस–ट्याबुलेसन विधिबाट विश्लेषण गर्दा जित्लान् भनेर अनुमान गर्नेहरूमध्ये कतिपय कसलाई भोट हाल्नुहुन्छ भन्ने प्रश्नमा यताउता लागेको देखिन्छ । देउवाले जित्लान् भनेर अनुमान गर्नेहरूमध्ये करिब ८७ प्रतिशतले देउवालाई नै भोट हाल्छु भनेका छन् । पौडेलले जित्लान् भन्नेहरूमध्ये करिब ८४ प्रतिशतले पौडेललाई भोट हाल्ने इच्छा व्यक्त गरेका छन् ।

महिलाको रोजाइमा देउवा

एनआरबी सर्वेक्षणमा भाग लिएकामध्ये २३ प्रतिशत अर्थात् १ सय ९९ महिला प्रतिनिधिमा करिब ४१ प्रतिशतले देउवालाई भोट हाल्ने बताएका छन् भने पौडेललाई मत दिनेहरू करिब २४ प्रतिशत छन् । त्यस्तै, ३९ प्रतिशत पुरुषले देउवालाई भोट हाल्छु भनेको अवस्था छ भने पौडेललाई भोट हाल्छु भन्नेहरू २६ प्रतिशत छन् । कसलाई भोट हाल्नुहुन्छ भन्ने प्रश्नमा 'भन्न चाहन्नँ' जवाफ दिएर खुल्न नचाहनेमा पनि महिला धेरै छन् । २८ प्रतिशत महिला र २४ प्रतिशत पुरुष खुल्न नचाहेको विश्लेषणले देखाउँछ ।

क्षेत्रीय सभापति खुलमखुला ?

सर्वेक्षणमा भाग लिएका २० प्रतिशत अर्थात् १ सय ७४ क्षेत्रीय सभापति र ८० प्रतिशत अर्थात् ६ सय ९१ महाधिवेशन प्रतिनिधिमध्ये क्षेत्रीय सभापतिले खुलेरै आफ्ना नेतालाई भोट हाल्छु भन्न चाहेको देखियो । ४३ प्रतिशत क्षेत्रीय सभापति देउवालाई जिताउने पक्षमा देखिए भने पौडेलको पक्षमा २८ प्रतिशत उभिए । २० प्रतिशत भने खुल्न चाहेनन् । क्षेत्रीय सभापतिबाहेकका प्रतिनिधिमा ३८ प्रतिशत देउवालाई भोट हाल्ने सोचमा छन् भने पौडेललाई रोज्नेहरू २५ प्रतिशत मात्र छन् । क्षेत्रीय सभापतिबाहेकमा २६ प्रतिशत महाधिवेशन प्रतिनिधि कसलाई भोट हाल्ने भनेर खुलस्त हुन चाहेका छैनन् ।

प्रदेशको चाहना

प्रदेश १ : पौडेल अगाडि

सर्वेक्षणमा सहभागी प्रदेश नं १ का १ सय ७९ प्रतिनिधिमध्ये प्रदेशका आधारमा कसलाई रोज्छन् भन्ने विश्लेषण गर्दा २७ प्रतिशतले पौडेललाई भोट हाल्छु भनेका छन् भने देउवालाई रोज्नेहरूको संख्या २२ प्रतिशत छ । यो प्रदेशका १९ प्रतिशतले सिटौलालाई भोट हाल्ने बताएका छन् । यो प्रदेशमा भन्न चाहन्नँ भन्नेहरू २९ प्रतिशत देखिन्छन् । प्रदेश १ बाट प्रकाशमानको पक्षमा भोट हाल्छु भन्नेहरू २ प्रतिशत छन् भने सुजाता कोइरालालाई १ प्रतिशत र अन्य कोहीलाई १ प्रतिशत भोट हाल्ने बताएका छन् । प्रदेश नं १ बाट सर्वेक्षणमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, खोटाङका प्रतिनिधि सहभागी छन् ।

प्रदेश २ मा आधासरो देउवा

प्रदेश नं २ मा १ सय १६ महाधिवेशन प्रतिनिधि सर्वेक्षणमा सहभागीमध्ये देउवालाई भोट हाल्छु भन्नेहरू ४९ प्रतिशत छन् भने पौडेललाई रोज्नेहरू १४ प्रतिशत र सिटौला चाहनेहरू ३ प्रतिशत छन् । २९ प्रतिशत खुल्न चाहेनन् । प्रकाशमानलाई चाहने ३ प्रतिशत, सुजाता रोज्ने १ प्रतिशत र अन्य कोहीमा १ प्रतिशत देखिन्छन् । प्रदेश २ मा सिरहा, धनुषा (आंशिक), रौतहट, बारा र पर्साका महाधिवेशन प्रतिनिधि सर्वेक्षणमा सहभागी थिए ।

प्रदेश ३ : देउवा अगाडि

प्रदेश नं ३ मा १ सय ३३ प्रतिनिधि सर्वेक्षणमा सहभागी गराइएका मध्ये ३९ प्रतिशत देउवाको पक्षमा छन् भने २६ प्रतिशत पौडेल चाहन्छन् । यो प्रदेशबाट ७ प्रतिशत सिटौला र ४ प्रतिशत प्रकाशमानको पक्षमा खुलेर भोट हाल्छु भन्नेहरू छन् । यो प्रदेशमा सुजाता र अन्य कोहीलाई भोट हाल्छु भन्नेहरू १–१ प्रतिशत छन् भने २२ प्रतिशत खुल्न चाहेका छैनन् । प्रदेश ३ मा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर, ललितपुर, काठमाडौं (आंशिक) नुवाकोट, चितवन, मकवानपुरका महाधिवेशन प्रतिनिधि सर्वेक्षणमा सहभागी थिए ।

प्रदेश ४ : खुल्न नचाहने धेरै, पौडेलको पल्लाभारी

प्रदेश नं ४ बाट सर्वेक्षणमा सहभागी गराइएका १ सय ६ प्रतिनिधिमध्ये पौडेललाई भोट हाल्छु भन्नेहरू ३२ प्रतिशत, देउवालाई २६ प्रतिशत छन् । यो प्रदेशका ४१ प्रतिशत प्रतिनिधि खुल्न चाहेनन् । सिटौलालाई भोट हाल्छु भन्नेहरू १ प्रतिशत छन् भने प्रकाशमान र सुजातालाई भोट हाल्छु भन्नेहरू छँदैछैनन् । प्रदेश नं ४ मा गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, नवलपरासी जिल्लाका प्रतिनिधि सर्वेक्षणमा सहभागी छन् ।

प्रदेश ५ : देउवा अगाडि

प्रदेश नं ५ मा १ सय ७१ प्रतिनिधि सर्वेक्षणमा सहभागीमध्ये ३७ प्रतिशत देउवालाई भोट हाल्ने पक्षमा छन् । पौडेललाई भोट हाल्न चाहने ३१ प्रतिशत छन् भने सिटौलालाई ३ प्रतिशत । यो प्रदेशमा प्रकाशमान र सुजातालाई भोट हाल्छु भन्नेहरू १–१ प्रतिशत छन् भने अन्य कसैलाई भोट हाल्छु भन्नेहरू ५ प्रतिशत ।

यस प्रदेशमा २२ प्रतिशत कसलाई भोट हाल्ने भनेर खुल्न चाहेका छैनन् । प्रदेश ५ मा रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, दाङ, बाँके, बर्दिया जिल्लाका प्रतिनिधि सर्वेक्षणमा सहभागी छन् ।

प्रदेश ६ : आधासरो पौडेल

प्रदेश नं ६ बाट सहभागी ५५ प्रतिनिधिमध्ये पौडेललाई भोट हाल्छु भन्नेहरू ४९ प्रतिशत छन् । देउवालाई भोट हाल्छु भन्नेहरू ३८ प्रतिशत, सिटौला रोज्नेहरू ४ प्रतिशत छन् । यो प्रदेशका ९ प्रतिशत प्रतिनिधिले मात्र खुलेर कसैको पक्ष लिएका छैनन् । प्रदेश नं ६ का मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख, सुर्खेतबाट प्रतिनिधि सर्वेक्षणमा सहभागी थिए ।

प्रदेश ७ : दुई तिहाइ देउवा

प्रदेश नं ७ बाट सर्वेक्षणमा सहभागी गराइएका १ सय ५ प्रतिनिधिमध्ये दुई तिहाइ (७५ प्रतिशत) देउवाको पक्षमा छन् भने पौडेल चाहनेहरू अन्य प्रदेशको तुलनामा सबैभन्दा कम ९ प्रतिशत छन् । सिटौला र प्रकाशमान चाहनेहरू १–१ प्रतिशत छन् भने खुल्न नचाहनेहरू १४ प्रतिशत छन् । यो प्रदेशमा दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, कञ्चनपुर र कैलालीका प्रतिनिधि सहभागी थिए ।

प्यानलको विरोध

सर्वेक्षणमा भाग लिने अधिकांश प्रतिनिधिले प्यानलका आधारमा मतदान नगर्ने बताएका छन् । 'अन्य पदाधिकारी कसरी छान्नुहुन्छ ?' भन्ने प्रश्नमा दुई तिहाइले प्यानलका आधारमा भोट नहाल्ने बताएका छन् । सर्वेक्षणमा दिइएका प्यानलका आधारमा, नेतृत्व क्षमताका आधारमा, चिनजानका आधारमा, निर्णय गरेको छैन र भन्न चाहन्नँ भन्ने विकल्प राखिएका थिए । प्रतिनिधिहरूमध्ये ७५ प्रतिशत नेतृत्व क्षमताका आधारमा पदाधिकारी छान्ने पक्षमा छन् भने प्यानलकै आधारमा भोट हाल्न चाहने १८ प्रतिशत मात्र छन् । चिनजानका आधारमा ३ प्रतिशत, निर्णय गरेको छैन र भन्न चाहन्नँ भन्नेहरूको संख्या क्रमशः करिब ३ र १ प्रतिशत छ ।

पद थपको पक्षमा प्रतिनिधि, गुट–राजनीति तलदेखि माथिसम्मै

केन्द्रीय समितिमा पदाधिकारी थप्ने राजनीति यसपालिलाई थाती रहे पनि यसबारे आधाभन्दा बढी सहभागी पदाधिकारी थपको पक्षमा देखिए । 'केन्द्रीय समितिमा पदाधिकारी थप्ने कुरा भइरहेको छ, तपार्इं के भन्नुहुन्छ ?' भन्ने प्रश्नमा आवश्यक छ, आवश्यक छैन, फरक पर्दैन र भन्न चाहन्नँ भन्ने विकल्पमध्ये ५६ प्रतिशतले आवश्यक छ भने । आवश्यक छैन भन्नेहरू ३५ प्रतिशत, फरक पर्दैन भन्नेहरू ६ प्रतिशत छन् । यो मामलामा भन्न चाहन्नँ भन्नेहरू ३ प्रतिशत छन् ।

पद थप गर्ने र नगर्ने राजनीतिमा पौडेल र देउवा विभाजित भएको अवस्था केन्द्रदेखि स्थानीय तहसम्म पुगेको देखियो । पदाधिकारी थप गर्नेबारेको प्रश्न र कसलाई भोट हाल्नुहुन्छ भन्ने प्रश्नहरूको विश्लेषण गर्दा पदाधिकारी थप्न आवश्यक छ भन्नेहरूमध्ये ३५ प्रतिशतले पौडेललाई भोट हाल्छु भनेका छन् भने देउवालाई रोज्नेहरू २५ प्रतिशत मात्र छन् । त्यस्तै, पदाधिकारी थप्न आवश्यक छैन भन्नेहरूमध्ये ६३ प्रतिशत प्रतिनिधिले देउवालाई भोट हाल्ने भनेका छन् भने पौडेललाई रोज्ने त्यस्ता प्रतिनिधि ११ प्रतिशत मात्र छन् । पदाधिकारी थप गर्दा फरक पर्दैन भन्नेहरूमध्येका ३४ प्रतिशतले देउवालाई र २२ प्रतिशतले पौडेललाई रोजेको देखिन्छ । पदाधिकारी थप गर्ने वा नगर्ने राजनीति विवादको पृष्ठभूमिमा सोधिएको प्रश्न र कसलाई भोट हाल्ने प्रश्नमा प्रतिनिधिले राखेको धारणाले कांग्रेस केन्द्रदेखि तलसम्म गुटमा विभाजित रहेको तस्बिर देखाउँछ ।

अधवैंशे बाहुल्य

नागरिक सर्वेक्षणमा भाग लिएका ८ सय ६५ प्रतिनिधिमध्ये अधिकांश अधवैंशे उमेरका छन् । सर्वेक्षणमा भाग लिनेमध्ये सबैभन्दा कान्छो उमेर २५ वर्षका ३ जना छन् भने सबैभन्दा पाका ७० वर्षमाथिका १० जना छन् । सबैभन्दा पाका ७८ वर्षका प्रतिनिधि कांग्रेस महाधिवेशन प्रतिनिधि भएको देखिन्छ । प्रतिनिधिहरूले १० वर्षको अन्तर उमेर समूहमा विभाजित गर्दा सबैभन्दा धेरै अधवैंशे उमेर ३६ देखि ४५ वर्षका कांग्रेस रहेको देखिन्छ । महाधिवेशनमा भाग लिनेमध्ये ७० प्रतिशत ३६ देखि ४५ वर्ष उमेर समूहका छन् । २५ देखि ३५ वर्ष उमेर समूहकाको संख्या १० प्रतिशत छ भने ४६ देखि ५५ वर्ष उमेर समूहका प्रतिनिधि १६ प्रतिशत र ५६ वर्ष भन्दा पाकाको संख्या चार प्रतिशत मात्र छ । यस आधारमा कांग्रेसमा अधवैंशेको बाहुल्य देखिन्छ ।

पार्टीप्रति आशावादी

महाधिवेशन प्रतिनिधिमाझ '१३ औं महाधिवेशनले पार्टीलाई कसरी अगाडि बढाउला ?' र 'यो महाधिवेशनपछि पार्टीमा एकता हुने भनिँदैछ, तपार्इंको धारणा ?' भन्ने दुई फरक–फरक प्रश्नमा प्रतिनिधिले राखेको धारणाका अधारमा कांग्रेसजन आशावादी देखिन्छन् । १३ औं महाधिवेशनले पार्टीलाई कसरी अगाडि बढाउला भन्ने प्रश्नमा दिइएका पार्टी सशक्त भएर जान्छ, पार्र्टी कमजोर हुने सम्भावना छ, अहिलेको अवस्थामा फरक पर्दैन र भन्न सकिन्न भन्ने विकल्पमध्ये ८६ प्रतिशतले पार्टी सशक्त भएर जाने जवाफ दिएका छन् । कमजोर हुन्छ भन्नेहरू ४ प्रतिशत मात्र छन् भने अहिलेको अवस्थामा फरक पर्दैन भन्नेहरू ६ प्रतिशत र भन्न सकिन्नँ भन्नेहरु ४ प्रतिशत छन् ।

त्यस्तै, 'यो महाधिवेशनपछि पार्टीमा एकता हुने भनिँदैछ, तपार्इंको धारणा ?' प्रश्नमा दिइएका पार्टीमा एकता हुने, पार्टी भिन्नभिन्न गुटमा विभाजन हुने, पार्टीमा अहिलेजस्तै दुई धार रहने, भन्न सकिन्न र थाहा छैन भन्ने विकल्पमध्ये ७३ प्रतिशत प्रतिनिधिले पार्टीमा एकता हुने बताएका छन् । पार्टीमा अहिलेजस्तै दुई धार रहनेछ भन्नेहरू १५ प्रतिशत छन् भने पार्टी भिन्नभिन्न गुटमा विभाजनको खतरा देख्नेहरूको संख्या सानो अर्थात् ६ प्रतिशत मात्र छ । पार्टीको एकताबारे भन्न सकिन्न भन्ने ५ प्रतिशत छन् भने थाहा छैन भन्नेहरू १ प्रतिशत मात्र छन् ।

पुरानालाई पहिलो अवसर

कांग्रेस महाधिवेशनका प्रतिनिधिमध्ये अधिकांश २० वर्ष वा त्योभन्दा बढी समयदेखि कांग्रेसमा आबद्ध भएको तर उनीहरूमध्ये धेरैजसो पहिलोपटक महाधिवेशन प्रतिनिधि हुन पाएको सर्वेक्षणले देखाएको छ ।
कांग्रेससँग कहिलेदेखि आबद्ध हुनुहुन्छ भन्ने प्रश्नमा राखिएका ५ वर्षदेखि, १० वर्षदेखि, १५ वर्षदेखि र २० वर्ष वा त्योभन्दा बढी भन्ने विकल्प राखिएका थिए । सर्वेक्षणमा भाग लिएका प्रतिनिधिमध्ये २० वर्ष वा त्योभन्दा बढी समयदेखि कांग्रेससँग आबद्ध ७६ प्रतिशत छन् । १५ वर्षदेखि कांग्रेसमा लागेको बताउनेहरू १३ प्रतिशत, १० वर्षदेखि आबद्ध ८ प्रतिशत र ५ वर्षदेखि कांग्रेसमा लागेको बताउने तीन प्रतिशत मात्र छन् ।

त्यस्तै, महाधिवेशनमा यसपटकसमेत गरी कतिपटक प्रतिनिधि हुनुभयो भन्ने प्रश्नमा पहिलोपटक, दोस्रोपटक, तेस्रोपटक, चौथोपटक वा त्योभन्दा धेरैपटक भन्ने विकल्प राखिएका थिए । महाधिवेशनमा सहभागिताका हिसाबले महाधिवेशन प्रतिनिधिमध्ये ४१ प्रतिशत पहिलोपटक प्रतिनिधि छानिएको देखिन्छ । दोस्रोपटक भाग लिएको बताउनेहरू ३० प्रतिशत छन्, तेस्रोपटक भाग लिनेहरू १३ प्रतिशत छन् भने चार वा त्योभन्दा धेरैपटक सहभागी हुनेहरू १६ प्रतिशत छन् ।

सर्वेक्षण विधि

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्व कसले लिन्छलगायत कांग्रेस पार्टीसँग सम्बन्धित मुद्दाहरूलाई लिएर एनआरबीले गरेको सर्वेक्षणमा मुलुकभरका ८ सय ६५ कांग्रेस महाधिवेशन प्रतिनिधिले भाग लिएका छन् । सर्वेक्षणमा ५९ जिल्ला, १ सय ८१ निर्वाचन क्षेत्रका प्रतिनिधि सहभागी थिए । 'सेस्टिमेटिक स्याम्पलिङ विधि अपनाएर महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना महिला पर्ने गरी पाँच जना प्रतिनिधिलाई संलग्न गराइएको छ । नेपाली कांग्रेस पार्टीको वेभसाइटमा निर्वाचन समितिले राखेको महाधिवेशन प्रतिनिधिहरूको विवरणबाट अधिकांश प्रतिनिधिको नाम लिइएको हो ।

सामान्यतया प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधिको सूचीका सिरानमा क्षेत्रीय सभापतिको नाम रहेकाले सर्वेक्षणमा एक जना क्षेत्रीय सभापति छनोट गरिएको छ । त्यस्तै, सूचीमा दोस्रो नम्बरमा रहेका व्यक्ति एक जना, सूचीमा पहिलोपटक नाम आउने महिलालाई तेस्रो नम्बरमा छनोट गरेपछि सूचीको ६ नम्बर र १० नम्बरका प्रतिनिधि रोज्ने विधि मुलुकभर अपनाइएको छ । उल्लिखित नम्बरका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा सूचीमा रहेका ८ र १२ नम्बरका प्रतिनिधिसँग सर्वेक्षण फारम भराउन सकिने विकल्प राखिएको थियो । पहिलो र दोस्रो नम्बरमै कुनै महिला प्रतिनिधि रहेको अवस्थामा उनीहरूका साथसाथै सूचीमा आउने अर्की महिलालाई पनि सर्वेक्षणमा सहभागी गराइएको छ । मुलुकभर एउटै मापदण्डमा आधारित रहेर सर्वेक्षण गरिएको छ ।

नागरिक संवाददाताहरूलाई सर्वेक्षण फारम उपलब्ध गराइएको थियो । प्रत्येक जिल्लाबाट भरेका फारम उनीहरूले नै एक्सेल प्रोगाममा कोडिङ गरेर इमेलबाट प्रेषित गरेका थिए । काठमाडौं उपत्यकालगायत केही जिल्लाको फारम नागरिक कार्यालयमा कोडिङ गरिएको हो । एक्सेलमा प्राप्त तथ्यांक र विवरणलाई 'एसपिएसएस २०' सफ्टवेयर प्रयोग गरेर प्रशोधन र विश्लेषण गरिएको हो । तथ्यांक विश्लेषणमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय तथ्यांकशास्त्र विभागका प्राध्यापक शंकरप्रसाद खनालको सहयोग लिइएको छ ।

सर्वेक्षण टिम

विश्वमणि पोखरेल, संयोजक, एनआरबी

परामर्शदाता : प्राडा. शंकरप्रसाद खनाल, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय तथ्यांकशास्त्र विभाग

सर्वेक्षणमा संलग्न नागरिककर्मी

(जिल्ला ब्युरोबाट छत्र कार्की र शरद अधिकारी, राजनीति ब्युरोबाट दुर्गा दुलाल, भाषा शर्मा र अर्जुन सुवेदी, जिल्लाबाट अजित तिवारी–पूर्वेली ब्युरो, कलेन्द्र सेजुवाल–पश्चिमेली ब्युरो, केशवशरण लामिछाने–पोखरा, खगेन्द्र अधिकारी–ताप्लेजुङ, गिरीराज बाँसकोटा–पाँचथर, भीम चापागार्इं–इलाम, राजु अधिकारी–झापा, विनोद सुवेदी–विराटनगर, भगिश्वर लिम्बू–तेह्रथुम, अमर खड्का–इटहरी, रोहित राई–धरान, भीम देवान–संखुवासभा, सिद्धराज राई–धनकुटा, धु्रव सुवेदी–भोजपुर, दमन राई–खोटाङ, मिथिलेश यादव–लहान, सुरेश यादव–जनकपुर, रमेश खतिवडा–दोलखा, मञ्जु उप्रेती–रामेछाप, कृष्ण किसी–भक्तपुर, दीपक खरेल–ललितपुर, मधुसुधन गुरागार्इं–काभ्रे, निराजन पौडेल–नुवाकोट÷रसुवा, धु्रव दंगाल–सिन्धुपाल्चोक, उपेन्द्र यादव–बारा÷मकवानपुर, रमेशकुमार पौडेल–चितवन, रितेश त्रिपाठी–पर्सा, मदन ठाकुर–रौतहट, नरहरि आचार्य–गोरखा, सन्तोष पोखरेल–कास्की÷तनहँु, छविलाल तिवारी–स्याङ्जा÷पर्वत, दिलीप पौडेल–बाग्लुङ, हरिकृष्ण गौतम–म्याग्दी, अर्जुन भुसाल–अर्घाखाँची, विशाल भट्टराई–गुल्मी, किरणमान बज्राचार्य–कपिलवस्तु, कल्पना भट्टराई–नवलपरासी, शेरबहादुर केसी–बुटवल, रेखा भुसाल–भैरहवा, जनकबहादुर शाही–हुम्ला, डिबी बुढा–जुम्ला, पवित्रकुमार शाही–कालिकोट, सुमन मल्ल–मुगु, हीराबहादुर घर्तीमगर–रोल्पा, एलबी थापा–प्युठान, देवेन्द्र बस्नेत–दाङ, अर्जुन ओली–नेपालगन्ज, टेकेन्द्र बस्याल–कोहलपुर, निर्मल घिमिरे–बर्दिया, गोविन्द केसी–दैलेख, जनक केसी–जाजरकोट, नगेन्द्र उपाध्याय–सुर्खेत, अरुणकुमार बम–डोटी, राम कुँवर–अछाम, जगत खड्का–बझाङ, कृष्ण ओली–बाजुरा, योगेश रावल–कैलाली, प्रेम चुनारा–दार्चुला, राजेन्द्र भट्ट–महेन्द्रनगर, बिरा गडाल–बैतडी, बरुण पनेरु–डडेल्धुरा)

प्रकाशित: १९ फाल्गुन २०७२ १९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App