२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगर महानगरको स्वेतपत्र सार्वजनिक

महानगरमा जादुको छडी रहेनछ: मेयर कोइराला

स्वेतपत्र जारी गर्न आयोजित कार्यक्रममा सहभागिहरू। तस्बिर: नागरिक

विराटनगर महानगरपालिकाले बिहीबार स्वेतपत्र जारी गरेको छ। स्वेतपत्र प्रस्तुत गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको अघिल्लो नेतृत्वले विराटनगर महानगरपालिकामा अनियमित रुपमा कर्मचारी भर्ना गरिएकादेखि महानगरपालिकाको ब्रुमर मेशिन खरिद गरि थन्क्याई महानगरपालिकालाई आर्थिक भार थोपरेकोसम्म उल्लेख गरेका छन्।  

विराटनगर महानगरपालिकामा धेरे वेथिति रहेको र त्यस्ता वेथितिलाई आगामि दिनमा सच्याउँदै जाने मेयर कोइरालाले प्रतिबद्धता जनाए पनि स्पष्ट कार्ययोजना भने सार्वजनिक गरेनन्। कोइरालाले सय दिनको अवधिमा उल्लेख्य काम गर्न नसके पनि विराटनगरमा मुख्य समस्याको विषयमा कामहरू अघि बढाएको जानकारी दिए। कोइरालाले भने ‘विराटनगरको मुख्य समस्या भनेकै डुवानको रहेकाले कार्यकालको सुरुवाद देखि नै डुवानको समस्यामा केन्द्रित भएर काम गरेका छौं।’ कोइरालाले बाहिरबाट हेर्दा मेयर भएपछि जादुको छडिले छुमन्तर गरेर सबै समस्या समाधान गर्छु भने जस्तो लागे पनि बास्तवमा काम गर्न त्यति सजिलो नभएको बताए। 

उनले भने, ‘बाहिरबाट हेर्दा महानगरपालिकामा जादुको छडि छ। जे पनि गर्नसक्छु भनेजस्तो लागे पनि वास्तवमा त्यस्तो नहुँदो रहेछ।’ विधि प्रकृया पुरा गर्न पनि निक्र्कै समय लाग्ने भएकाले आएको एक सय दिन सम्ममा पनि खासै काम अघि बढ्न नसकेको उनले बताए। विराटनगरको डुवान समस्या समाधानका लागि जीआइआर म्यापिङ गरेर डुवान समस्या दीर्घकालका लागि समाधान गर्ने , केशलिया खोलामा बाँध सहितको  करिडोर निर्माण गर्ने। सिंघिया खोलामा बाँध निर्माण गर्ने योजना अघि बढिसकेको बताए। कोइरालाले कार्यकाल सुरू गरेदेखि हालसम्म बाढी नियन्त्रणका लागि ढलसफाई, समुदायिक  कुकुर नियन्त्रण, फुथपाथ अतिक्रमण नियन्त्रण, छाडा चौपाया नियन्त्रणका काम अघि बढाइएको जानकारी दिए। 

उनले आगामि शुक्रबार देखि हरेक शुक्रबार विराटनगर महानगरपालिकामा सफाई अभियान सञ्चालन गर्ने जनाकारी पनि दिए। विराटनगर महानगरपालिकाका विकासका काममा देखिएको वेथिति हटाएर विकास निर्माणका कामलाई पारदर्शी र प्रभावकारी बनाउने कोइरालाले बताए। महानगरपालिकाको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने योजना पनि अघि बढाउने मेयर कोइरालाले बताए।  

स्वेतपत्रमा विराटनगर महानगरपालिकाको हालको अवस्था, आगामी कार्ययोजना समेटिएको छ। स्वेतपत्रमा विराटनगर महानगरपालिकामा नियमविपरित कर्मचारी भर्ना गरिएका कारण महालेख परिक्षकको कार्यालयले धेरै वेरुजु देखाएको उल्लेख छ। हाल महानगरपालिकामा ६ सय ९ जनाको जम्बो कर्मचारी संयन्त्र रहेको, यतिधेरै कर्मचारी हुँदा पनि महानगरपालिकामा आबश्यक दक्ष जनशक्ती भने अभाव रहेको कोइरालाले बताए। महानगरपालिकाको विभिन्न स्थानमा ६३ विघा भन्दा बढी जग्गा रहेको अघिल्लो नेतृत्वले विभिन्न संघ संस्थाको भवन बनाउन जथाभावि जग्गा बितरण गरेका कारण भविश्यमा महानगरपालिकालाई आबश्यक जग्गा अभाव हुने स्थिति देखिएको कोइरालाले बताए।

विगत ५ वर्षको अवधिमा माहानगरपालिकाको दुई विघा १७ कठ्ठा १८ धुर जग्गा विभिन्न संघ संघ संस्थालाई बितरण गरिएको छ। ६२ लाख १५ हजारमा खरिद गरिएको ब्रुमर सरसफाइमा प्रयोग नगरी थनक्याएर विगारेको, विगत ५ वर्षमा अनुमानको ५० प्रतिशत मात्रै यथार्थ आय देखिनुले अनुमान र यथार्थ आयमा ठूलो खाडल रहेको स्वेतपत्रमा उल्लेख छ। विगत ५ वर्षमा महानगरपालिकाको वेरुजु धेरै बढेको देखिएको छ। आर्थिक वर्ष ०७४/७५ मा ६१ करोड ८९ लाख वेरुजु रहेकोमा आर्थिक वर्ष ०७७/७८मा १ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ पुगेको उल्लेख छ।  

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर महानगनरपालिकाको यथार्थ अवस्था, चुनौती र आगामि दिनमा गर्ने कामका विषयमा जानकारी दिने उद्देश्यले स्वेतपत्र सार्वजनिक गरिएको बताइन्। कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पत्रकारहरूलगायतको उपस्थिति थियो।

प्रकाशित: ९ भाद्र २०७९ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App