‘राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टी ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा ? तर प्रदीप दाइमा मैले सत्ताको लोभ देखिनँ। सत्ताबाट उत्पन्न हुने विकारबाट उहाँ निकै टाढा हुनुहुन्थ्यो।’ पत्रकार किशोर नेपालले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिका बारेमा गरेको टिप्पणी हो यो।
राजनीतिलाई पद, पैसा, शक्ति र सत्ताका लागि प्रयोग गर्दा आम जनतामा यसप्रति वितृष्णा पैदा भइरहेका बेला नेता गिरि अपवाद पात्र थिए। मन्त्री र प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि त्यसलाई बेवास्ता गर्ने गिरि समकालीन राजनीतिका दुर्लभ पात्र हुन्। नेपाली राजनीतिमा निष्ठाको खडेरी लागेका बेला निष्ठा र विचारका धरोहर नेता गिरिको भौतिक शरीर सधैंका लागि लिन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ बजे भौतिक शरीर त्यागेका गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ। गिरिको पार्थिव शरीरमा छोरा सन्तोषले दागबत्ती दिएका थिए।
सिरहाको बस्तीपुरमा जन्मेका गिरि २०१७ सालपछि भएका सबैजसो राजनीतिक परिवर्तनका आन्दोलनमा सहभागी भए। अध्ययन, अनुसन्धान र लेखनमै बढी रुचि राख्ने उनको घाँटीमा केही समयअघि क्यान्सर देखिएको थियो। उनी केही समय भारतमा उपचार गराएर साउन पहिलो साता काठमाडौं फर्केका थिए। भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गिरिले सधैं समाजवादी चिन्तन र व्यवहार गर्थे। माक्र्सवादका ज्ञाता गिरिले नेपालका थुप्रै माक्र्सवादीलाई माक्र्सवाद पढाए। के कांग्रेस, के कम्युनिस्ट सबै विचार, सिद्धान्त, भूगोल र समुदायको विश्वविद्यालयका रूपमा परिचित गिरिका लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।
भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियालगायतको सान्निध्यका कारण लोकतन्त्र र समाजवादका हिमायती बनेका गिरिले बिपी कोइरालाको निकट रहेर काम गरे। नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईसँग पनि निकट सम्बन्ध रहेका गिरिलाई कांग्रेसजनले मात्र होइन, अन्य राजनीतिक दलले पनि बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा हेर्छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेता गिरिको निधनले नयाँ समाजवादी धारको विकासमा लागेकालाई ठुलो क्षति पुगेको बताएका छन्। ‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु,’ उनले भनेका छन्, ‘२०३४ सालदेखि ४५ वर्ष निरन्तर उहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठुलो ऊर्जा प्रदान गरेको थियो। नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठुलो क्षति पुगेको छ।’
सत्ता, समाज र व्यवस्था मात्र होइन, दलभित्र पनि निरन्तर प्रतिपक्षीले जस्तै धारणा राख्ने गिरिले आफ्ना लागि कहिल्यै र केही सोचेनन्। पटकपटक सांसद भए पनि पार्टीले लगाउने ह्विपलाई पनि बेपर्वाह गर्ने गिरिले २०७२ सालमा कांग्रेस नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान जारी हुँदा त्यसप्रति असन्तुष्टि जनाउँदै त्यसमा हस्ताक्षर गरेनन्।
संसद्मा सधैं ‘लास्ट बेन्चर’ गिरिले त्यहाँ राखेका विचार नेपाली समाज र नेपालका समस्या बुझ्न, समाधानमा पुग्न आगामी दिनमा पनि मार्गदर्शक छन्। नेपाली कांग्रेस २०५९ सालमा विभाजित भएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्दा गिरिले सन्तनेता कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवासहितलाई साथ दिए। त्यससँगै राष्ट्रिय राजनीतिमा चर्चामा आएका गिरिले देउवा असल भएर नभई गिरिजाप्रसाद कोइराला खराब भएकाले उन (देउवा) लाई साथ दिएको बताउँथे।
देश र जनताको पक्षमा आफूलाई खरोरूपमा प्रस्तुत गर्ने गिरि हर विषयमा तथ्य, तर्कसहित आफ्ना विचार शालीन र दृढतापूर्वक राख्थे।
कांग्रेस नेता शेखर कोइराला गिरिलाई निडर र आफ्नो कुरा स्पष्टसँग राख्न सक्ने, सादगी नेताका रूपमा स्मरण गर्छन्। ‘पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने उहाँमा थिएन,’ उनले भने, ‘त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला, त्यो आफ्नो ठाउँमा छ। तर एउटा निडर र आफूलाई लागेका कुरा स्पष्ट भन्न सक्ने नेता हुनुहुन्थ्यो उहाँ।’ गिरिको सादगी जीवन अहिलेका राजनीतिज्ञले सिक्नुपर्ने विषय भएको कोइरालाको बुझाइ छ।
समकालीन मात्र होइन, राजनीतिमा औंला समाएर तातेताते सिकाएका पछिल्ला पुस्ताले राजधानीमा ठूला महल ठडाएर सुखसयल गरिरहेका बेला कोठामै जीवन विताएका गिरिले सिरहाको बस्तीपुरको पुख्र्यौली सम्पत्ति मित्र सेवा आश्रमका नाममा दिएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले पनि गिरिलाई सादा जीवन र उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल नेताका रूपमा स्मरण गर्छन्। सापकोटाले गिरिलाई प्रखर समाजवादी चिन्तक भन्दै उनले नेपाली समाजमा पुर्याएको योगदान स्मरणीय रहने बताए।
खानदानमा जन्मेर पनि वैभवतर्फ आशक्त नभएका गिरि पटकपटक सांसद बने। तर उनले मन्त्री, प्रधानमन्त्री बन्ने इच्छा राखेनन्। संविधान नलेखीकन पहिलो संविधानसभा विघटन भएसँगै तत्कालीन एमाले नेता (हाल अध्यक्ष) केपी ओलीले गिरिलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका थिए। त्यो प्रस्तावलाई आफूले अस्विकार गरेको स्वयः गिरिले एक टेलिभिजन अन्तर्वार्तामा बताएका थिए। आफ्ना लागि मन्त्री, प्रधानमन्त्री सुहाउने पद नभएको भन्दै उनले ओलीको प्रस्ताव अस्विकार गरेका थिए। मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ भन्ने गिरिको बुझाइ थियो। सामान्य जीवन जिउने गिरिका विषयमा पत्रकार किशोर नेपालले थपे, ‘प्रदीप दाइको प्राथमिक रुचि साहित्य हो, त्यसपछि उहाँको झुकाव अध्यात्म र त्यसपछि मात्र राजनीति हो।’
विशेष सम्मानसहित अन्त्येष्टि
कांग्रेस नेता प्रदीप गिरिको आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि अघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट उनको पार्थीव शरीर आर्यघाट लगिएको थियो। शवयात्रामा कांग्रेसका नेताकार्यकर्तासहित उनका शुभेच्छुुक, आफन्त र सर्वसाधारण ठूलो संख्यामा सहभागी थिए। आर्यघाटमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा शुभेचछुकहरू गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सबै विचार समूहमा आबद्ध रहेका गिरिका शुभचिन्तकको आर्यघाटमा ठूलो संख्यामा उपस्थिति थियो।
त्यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस सभापति देउवाले गिरिको शवमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए। गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस मुख्यालयमा एमालेबाहेक अन्य दलका शीर्ष नेताहरू पुगेका थिए। एमालेका दोस्रो तहका नेताहरूले भने सानेपा पुगेर नै गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सभामुख,पूर्वप्रधानमन्त्रीहरू/तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष, मन्त्रीका साथै विभिन्न पेसा, समुदायका विभिन्न व्यक्ति तथा ठूलो मात्रमा सर्वसाधारण सानेपा पुगेका थिए। गिरिको शव पार्टी केन्द्रीय कार्यालयमा लैजानु अघि बिहान केही समय मेडिसिटी अस्पतालमा श्रदाञ्जलीका लागि राखिएको थियो। त्यहाँ पूर्वराष्ट्रपतिदेखि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए।
प्रकाशित: ६ भाद्र २०७९ ००:५७ सोमबार