६ वैशाख २०८१ बिहीबार
राजनीति

कार्यदलले शीर्ष नेतासँग परामर्श गर्ने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूसँग परामर्श गर्ने भएका छन्। कार्यदलको अघिल्लो बैठकले उनलाई सिट संख्याको प्रस्ताव ल्याउन जिम्मेवारी दिएको थियो। तर सिटौलाले पाँच दलका शीर्ष नेतासँग परामर्श गरेपछि मात्र यो विषयमा प्रस्ताव गर्ने बताएका हुन्।

कार्यदललाई २०७४ सालको प्रतिनिधिसभा चुनावमा राजनीतिक दलहरूले पाएको मत र २०७९ मा भएको स्थानीय तह निर्वाचनमा दलले पाएको मत र नतिजालाई आधार बनाएर आगामी निर्वाचनमा गठबन्धन दललाई सिट संख्या प्रस्ताव गर्न भनिएको थियो। तर उनले पाँच दलका शीर्ष नेतासँग परामर्श गरी शनिबार बस्ने बैठकमा सिट संख्याको विषयमा छलफल हुने जानकारी कार्यदलका सदस्य एवं जनता समाजवादी पार्टीका नेता रामसहाय यादवले दिए।

‘सिट संख्या टुंगो लगाउन हामीले एउटा आधार तयार गरेका छौं,’ उनले भने, ‘तर शीर्ष नेताहरूसँग परामर्शपछि मात्र संख्याको विषयमा बैठकमा प्रवेश गर्ने सहमति भएको छ।’ कार्यदलका संयोजक सिटौलाले नेताहरूसँग परार्मश गरेपछि शनिबार अर्को बैठक बस्ने उनले बताए।  साउन २६ गते बसेको कार्यदलको बैठकमा सिट बाँडफाँटका लागि मुख्यतया २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलहरूले प्रत्यक्षतर्फ जितेको सिट, त्यतिबेला समानुपातिकतर्फ पाएको मत, २०७९ सालमा भएको स्थानीय तह चुनाव परिणाम र दलहरूको अवस्थाका आधारमा मापदण्ड बनाउने समझदारी भएको थियो।

प्रकाशित: २ भाद्र २०७९ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App