१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुने बताए।

उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए। डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए।

उनले बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताए। उपमहासचिव डा. तुलाधरले आजको बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको बताए।

उनले यी तीन कमिटीले छानेका एक महिलासहितका ४ जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु सहितको राय उल्लेख गरेर केन्द्रीय कमिटीमा पठाउने बताए। उनले केन्द्रीय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको बताए।

प्रकाशित: १ भाद्र २०७९ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App