११ आश्विन २०७९ मंगलबार
राजनीति

लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने

फाइल तस्बिर

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने भएको छ। लामिछानेले सामाजिक सञ्जाल मार्फत मंसिर ४ मा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय भएको जानकारी दिएका हुन्।  

लामिछानेले भनेका छन्,'केन्द्रीय समितिको निर्णय अनुसार मंसिर ४ मा हुने दुई तहको निर्वाचनमध्ये संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्र हाम्रो सहभागिता रहने छ।'

पार्टीले देशभर गरेको भेलामा प्रदेश संरचनाको आलोचना गरेको र प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएकाले  प्रदेश चुनावमा भाग नलिने उनले बताएका छन्। 

यस्तै उनले अहिले भएको प्रदेश संरचनालाई सुर्धानुपर्ने बताएका छन्। कस्तो प्रदेश संरचना बनाउनुपर्छ भन्ने प्रस्ताव उनले प्रस्तुत गरेका छन्। उनका अनुसार प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनपर्ने छ। सोही मुख्यमन्त्रीले निर्वाचित भएपछि फरक लिंगको उपमुख्यमन्त्री नियुक्त गर्ने र उनैले जिल्ला प्रमुखहरु नियुक्त गर्नुपर्ने छ।  

यसरी गरिने नियुक्ति समावेशी हुनुपर्ने उनको प्रस्ताव छ। उदाहरण दिँदै उनले भनेका छन् जस्तै मधेसमा ८ जिल्ला छन्। जहाँ एक मुख्यमन्त्री, एक उपमुख्य मन्त्री र आठ जिल्ला प्रमुख रहने छन्। सोही मोडल सबै प्रदेशमा लागू हुने उनको भनाइ छ। यस्तै हाल कायम सबै प्रदेश मन्त्रालय खारेज गरिनुपर्ने लामिछानेको भनाइ छ। यस्तै मुख्यमन्त्रीले राष्ट्रपतिसँग सपथ लिने व्यवस्थाको प्रस्ताव पनि स्वतन्त्र पार्टीले गरेको छ।

यस्तै हालको प्रदेश सभा खारेज गर्ने, त्यसको ठाउँमा गाउँपालिका सदस्यहरुबाट समानुपातिक समावेशीताका आधारमा प्रदेश परिषद् गठन गर्ने, प्रदेश परिषद्को बैठक वर्षमा २ पटक, त्यसरी बैठक बस्दाको भत्ता बाहेक अरु सुविधा नदिने उनको प्रस्ताव छ।

प्रकाशित: १ भाद्र २०७९ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App