coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम क्षेत्र १ बाटै चुनाव लड्छु: झलनाथ खनाल

इलाममा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल। तस्बिर: भीम/नागरिक

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिने संकेत गरेका छन्।  

केन्द्रीय तहमा सत्तारुढ दल गठबन्धन गरेरै निर्वाचनमा जाने विषयमा छलफल भइरहेका बेला खनालले आफू अहिले सांसद रहेकै क्षेत्रमा उम्मेदवारी दिने आशय व्यक्त गरेका हुन्।  

‘आउँदो निर्वाचनमा म सक्रियतापूर्वक अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा छु,’ गृहजिल्ला इलाममा आज (सोमबार) बिहान पत्रकारहरूसँग खनालले भने, ‘मैले चुनाव लड्नुपर्दा अर्काे निर्वाचन क्षेत्र खोज्दिनँ, मैले निर्वाचन लड्ने क्षेत्र भनेको इलामको १ नै हो। यही क्षेत्रमा म आउँछु।’  

पोहोर साल शल्यक्रियामार्फत् उपचार गरेपछि चिकित्सकले आफूलाई १२–१५ वर्ष आयु बढेको बताएको भन्दै खनालले जनताले चाहे आफू चुप लागेर नबस्ने बताए। ‘राजनीतिमा सक्रिय भएको करिब ६० वर्ष भयो, जनताले अझै मेरो सक्रियता चाहन्छन् भने किन चुप लागेर बस्ने?’ उनले भने, ‘पोहोर साल अपे्रेसन गर्नुअघि म करिब सिद्धिन लागेको थिएँ, अप्रेसनपछि मेरो नयाँ जीवन बनेको छ। यो बोनसको जीवन पनि हो।’  

खनाल २०४८ सालयता निरन्तर रूपमा इलामबाट चुनाव लडिरहेका छन्। उनी २०५६ सालको निर्वाचनमा भने नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। उनको दल नेकपा (एस)समेत अहिले सत्तामा रहेकाले उनी गठबन्धनबाटै चुनाव लड्ने तयारीमा छन्।  

‘केन्द्रमा  गठबन्धन कायम राख्ने निर्णय भएको छ, त्यसैअनुसार सिंगो देशको चुनावी अभियान अगाडि बढ्छ,’ खनालले भने, ‘स्थानीय तह निर्वाचनमा जुन गठबन्धनको अनुभव भयो, महजस्तो मीठो र नीमजस्तो तीतो पनि भयो तर त्यो अनुभव अब विगत बनिसक्यो। त्यसबाट शिक्षा लिनुबाहेक केही गर्न सकिन्न।’  

स्थानीय तह निर्वाचनको मत परिणाममा चित्त नबुझेपछि खनालले इलामको सूर्योदय  नगरपालिका र माईजोगमाई गाउँपालिकामा गठबन्धनमै रहेको कांग्रेसले आफ्ना उम्मेदवारलाई भोट नहालेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। ती पालिका र जिल्ला तहका कांग्रेस नेताहरूले समेत खनालको अभिव्यक्तिलाई लिएर उनीप्रति सामाजिक सञ्जालमार्फत् आक्रोस पोखेका थिए।  

स्थानीय तह निर्वाचनमा सूर्योदयको मेयर र माइजोगमाईको अध्यक्ष पदमा गठबन्धनबाट नेकपा (एस)का उम्मेदवार मैदानमा थिए। सूर्याेदयमा विजय हासिल गरेको गठबन्धन माइजोगमाईमा भने पराजित भएको थियो।

त्यसपछि खनालको निर्वाचन क्षेत्रमा पर्ने मुख्य स्थानीय तह सूर्योदयको कार्यपालिका र जिल्ला समन्वय समिति गठनमा सत्ता गठबन्धन तोडिएको थियो। सूर्याेदयको कार्यपालिका र जिसस गठनमा नेकपा (एस) र नेकपा (एमाले)ले गठबन्धन गरी विजय हासिल गरेका थिए। खनालको यही भूमिकालाई लिएर अहिले पनि स्थानीय र जिल्ला तहका कतिपय कांग्रेस नेता गठबन्धन गर्न नहुने र गठबन्धन गरेपनि खनाललाई इलाम क्षेत्र नम्बर १ नछाड्ने अडानमा छन्।

प्रकाशित: ३० श्रावण २०७९ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App