८ वैशाख २०८१ शनिबार
राजनीति

'नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे प्रशंसा'

'नेपाल र उर्दू साहित्य' विषयक साहित्यिक कार्यक्रम

पाकिस्तानी दूतावासले काठमाडौँमा ‘नेपाल और उर्दू अदब’ (नेपाल र उर्दू साहित्य) शीर्षकमा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ।

पाकिस्तानको ७५औँ स्वतन्त्रता वर्षको अवसरपारी दूतावासले शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि पाकिस्तानले गरिरहेको प्रयासको प्रशंसा गरेका थिए।

साेही क्रममा मन्त्री पौडेलले साहित्यिक कार्यक्रमको आयोजना गरेर नेपाली र उर्दू भाषाका कविहरूलाई एकै ठाउँमा ल्याएकोमा पाकिस्तानी दूतावासलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली र उर्दू साहित्यबिच जोड्ने कडीका रुपमा गजल विधाको महत्त्वबारे औँल्याएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले दक्षिण एसियाली क्षेत्रका मानिसहरूलाई एकै ठाउँमा ल्याउन उर्दूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू गरिरहनु पर्ने बताए। उनले नेपाल र पाकिस्तानका साहित्यिक प्रतिष्ठान बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

नेपाल, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) का प्रसिद्ध कविहरू डा जुबैर फारुक, डा साकिब हारूनी (अध्यक्ष साहित्य एकेडेमी नेपाल), सैयद खालिद मोहसिन, शहर महमूद, इम्तियाज वाफा (अध्यक्ष, उर्दू एकेडेमी नेपाल), जमशीद अन्सारी, फुर्कान फैजी, अशद कामरान, शान्ति शर्मा, जफर अहमद अली र संगीता थापा मगर लगायतका कविहरुले आफ्नो कविता वाचन गरेका थिए।

कार्यक्रममा राजनीतिज्ञ, बुद्धिजीवी, सामाजिक अभियन्ता, पत्रकार, साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उर्दू भाषाका नेपाली कवि डा अब्दुल मुबीन खानद्वारा लिखित ‘आहाङ–ए–हिमाला’ पुस्तकको अनावरण गरिएको थियो।

प्रकाशित: २८ श्रावण २०७९ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App