८ वैशाख २०८१ शनिबार
राजनीति

भेलाको अघिल्लो दिन रबि लामिछाने नेतृत्व स्वतन्त्र पार्टीको ब्यानर च्यातियो

हेटौंडाको बुद्धचोकमा च्यातिएको अवस्थामा स्वतन्त्र पार्टीको ब्यानर।

रबि  लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडामा तय भएको बागमती प्रदेश भेलाको अघिल्लो दिन ब्यानर च्यातिएको छ।  

शुक्रबार दिउँसोका लागि स्वतन्त्र पार्टीको प्रदेश भेला तय भएको थियो। भेलाकै प्रचारप्रसारका लागि हेटौंडा बजारमा ब्यानर राखिएको थियो। हेटौंडाको मुख्यचोक (बुद्धचोक) मा राखिएको ५ वटा ब्यानर च्यातिएको अवस्थामा फेला परेको हो। ‘हेटौंडामा हुन लागेको प्रदेशस्तरीय भेलाको प्रचार गर्ने उद्देश्यले हामीले हेटौंडाको विभिन्न स्थानमा ब्यानर राखेका थियौं। त्यो मध्ये बुद्धचोकमा राखिएको ५ वटा ब्यानर बिहान च्यातेको अवस्थामा फेला पारेका हौं’, स्वतन्त्र पार्टीको भेलाको अगुवाई गरिरहेका सुरेश थापाले भने, ‘कसले किन च्यात्यो हामीले थाहा पाउन सकेका छैनौं।’ हेटौंडाको रोयल पार्टी प्यालेसमा भेलाको तयारी गरिएको छ। 

बुधबार साँझ कार्यक्रम प्रचारको लागि राखिएको ब्यानर बिहीबार बिहान च्यातिएको अवस्थामा फेला परेको हो। पार्टीको माथिल्लो निकायबाट केही नभनेकोले प्रहरीलाई समेत खबर नगरेको थापाले बताए। राजनीतिक प्रपोगाण्डाका लागि तपाइँहरुले नै ब्यानर च्यातेको हुनसक्छ भन्नेहरु पनि छन् नि ? भन्ने प्रश्नमा थापाले यस्तो भन्नेहरुले नै च्यातेको हुनसक्ने आरोप लगाए। ‘हामी आफैंले च्यात्ने भए किन ब्यानर राख्नुपथ्र्यो र ? मेरो नेतृत्वमा स्वतन्त्र युवाहरुले आवश्यक प्रचारप्रसार गरिरहेका छन्। कसैलाई मन नपरेर च्यातेको हुनसक्छ’, थापाले भने।  

यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) वामदेव गौतमले ब्यानर च्यातिएको बिषयमा आफूहरुलाई कुनै जानकारी नै नभएको बताए। ‘ब्यानर राखेको देखेका हौं। च्यातिएको भन्ने बिषयमा हामीलाई थाहा छैन’, गौतमले भने, ‘ब्यानर च्यातेको बिषयमा कुनै निवेदन परेको पनि छैन, कसैले भनेको पनि छैन। ड्युटीमा रहेको प्रहरीले पनि देखेको छैन।’ राजनीतिक दलले पार्टीको कृयाकलाप सञ्चालन गर्न पाउने उल्लेख गर्दै उनले कसैले च्यात्ने फाल्ने काम गर्न नमिल्ने र त्यसो गरेको पाइएमा नियन्त्रणमा लिन आफ्नो मातहतको प्रहरी कर्मचारीलाई भनेको एसपी गौतमले बताए।

प्रकाशित: २६ श्रावण २०७९ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App