६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रीसँगै सचिव र डिजी फेर्ने होड

फाइल तस्बिर

सरकारमा मन्त्री परिवर्तन हुनेबित्तिकै आफू अनुकूलका सचिव र मातहतका विभागमा महानिर्देशक परिवर्तन गर्ने प्रवृत्ति सामान्य जस्तै भएको छ। मन्त्रीहरू छोटो अवधिमै परिवर्तन हुन्छन्। उनीहरूले माथिल्लो तहका कर्मचारीहरू पनि छिटोछिटो परिवर्तन गर्ने गरेका छन्। यसबाट मन्त्रालयहरूले गर्ने कार्यसम्पादनमा कमजोर हुने गरेको छ।

गृह, अर्थ, जस्ता महत्वपूर्ण मन्त्रालयका सचिवहरू मन्त्री फर्नेबित्तिकै परिवर्तन हुने निश्चित छ। यसैगरी राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ती सुद्धिकरण विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, वैदेशिक रोजगार विभाग, भन्सार विभाग, स्वास्थ्य सेवा विभाग जस्ता महत्वपुर्ण मानिने विभागहमा पनि नेतृत्व बारम्बार फेरिने गरेको छ। भवन विभाग, सडक विभाग, आन्तरिक राजस्व विभाग, वैदेशिक रोजगार विभागलगायतका विभागमा एक वर्षमै ३ पटक महानिर्देशक फेरिएका छन्।

जनार्दन शर्मा अर्थमा आउनबित्तिकै उनले एक महिनामै आन्तरिक राजस्व विभाग र भन्सार विभागमा डिजी परिवर्तन गरे। विनोद कुँवरलाई आन्तरिक राजस्वबाट सरुवा गरेर शोभाकान्त पौडेललाई ल्याए। पौडेलले ६ महिना पनि काम गर्न पाएनन्। अहिले आन्तरिक राजस्वमा रितेशकुमार शाक्य आएका छन्। शर्माले भन्सारमा यामलाल भुसाल हटाएर कमलप्रसाद भट्टराईलाई ल्याएका छन्। भुसालअघि भन्सार विभागको डिजी रामेश्वर दंगाल थिए। मन्त्रालयमा आएको एक महिनामै शर्माले अर्थ सचिव पनि परिवर्तन गरेका थिए।

यसैगरी सहरी विकास मन्त्रालयमा रामकुमारी झाँक्रीले आउनेवित्तिकै उनले शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हटाएर प्याकुरेलको ठाउँमा पदम मैनालीलाई ल्याइन्। मैनाली पनि लामो समय बस्न पाएनन्। अहिले उक्त विभागमा रामचन्द्र दंगाल आएका छन्। झाँक्री सहरीमा आउनबित्तिकै उनले मन्त्रालयका सचिव पनि फेरिन्। रमेश सिंहलाई शहरीबाट सरुवा गरेर मनिराम गेलाललाई मन्त्रालयमा ल्याइन्। त्यसको ३ महिनामै उनले सिहंलाई पुन मन्त्रालयमा ल्याइन र गेलालाई त्यहाबाट पठाइन्।

यसैगरी, किसान श्रेष्ठ श्रममा जानबित्तिकै उनले वैदेशिक रोजगार विभागका महानिर्देशक परिवर्तन गरे। दीपक काफ्लेलाई त्यहाँबाट सरुवा गरेर शेषनारायण पौडेललाई लगे। जीवनराम श्रेष्ठ पर्यटनमा आएपछि उनले गत साउन १७ गते पर्यटन विभागका महानिर्देशक फेरिएका छन्। तारानाथ अधिकारीलाई पर्यटनबाट सरुवा गरी उनको ठाउँमा होम लुइँटेललाई ल्याइएको छ। यद्यपि पर्यटनमा डिजी फेर्ने निर्णय प्रेम आलेकै पालमा भएको र त्यसको कार्यान्वयन अहिले भएको पर्यटन स्रोतको भनाइ छ।

तत्कालीन भौतिक पूर्वाधारमन्त्री रेणु यादवले पनि आफ्नो कार्यकालमा भौतिक पूर्वाधार मन्त्रालयमा सचिव र मन्त्रालय मातहतका महŒवपूर्ण विभागमा डिजि परिर्वतन गरिन्। सडक विभागमा महानिर्देशक केशव शर्मालाई त्यहाँबाट सरुवा गरी उनको ठाउमा शिवहरि सापकोटालाई ल्याइन्। सापकोटाले अनिवार्य अवकाश पाएपछि शिव नेपालले केही समय निमित्त चलाए। अहिले सडकको डिजीमा अर्जुनजंग थापा आएका छन्। निवर्तमान मन्त्री यादवले यातायात व्यवस्था विभागमा पनि डिजी परिवर्तन गरिन्। उनले उक्त विभागका डिजी नमराम घिमिरेलाई सरुवा गरी सुरेश राउतलाई ल्याइन्। हाल राउत यातायातको डिजी छन्। यादवले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई सरुवा गरी गोपाल सिग्देललाई भौतिक पूर्वाधारमा ल्याएकी छन्।

खानेपानी विभागका महानिर्देशक सूर्यराज कँडेलले अनिवार्य अवकाश पाएपछि हाल उक्त विभागका डिजी खाली छ।

प्रधानमन्त्री मातहतको रहेको राजस्व अनुसन्धान विभाग र सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा पनि चाँडो चाँडो डिजी परिवर्तन भएका छन्। सम्पत्ति शुद्धीरणमा अहिले प्रेम भट्टराई महानिर्देशक छन्। भट्टराइभन्दा पहिले त्यहाँ गजेन्द्र ठाकुर थिए। ठाकुर अघि रूपनारायण भट्टराई उक्त विभागको डिजी थिए। एक वर्षमै सम्पत्ती सुद्धिरकणमा २ पटक डिजी फेरिएका छन्।

यसैगरी राजस्व अनुसन्धान विभागको डिजीमा हाल झलकराम अधिकारी छन्। अधिकारीअगाडि प्रकाश पौडेल थिए। पौडेलले लामो समय काम गर्न पाएनन। पौडेलभन्दा पहिले राजस्व अनुसन्धानमा रामप्रसाद आचार्य राजस्वको डिजी थिए।

स्वास्थ्य सेवा विभागमा पनि एक वर्षमा २ पटक डिजी फेरिएका छन्। हाल उक्त विभागको डिजीमा डा. दीपेन्द्ररमण सिंह छन्। सिंहभन्दा पहिले डा. आरपी बिच्छा त्यहाँको डिजी थिए। गत वर्ष साउनमा उक्त विभागको डिजी फेरिएका थिए। यसैगरी औषधि व्यवस्था विभागमा पनि एक वर्षमा २ पटक डिजी फेरिएका छन्। अहिले उक्त विभागमा भरत भट्टराई डिजी छन्। भट्टराईअघि नारायण ढकाल उक्त विभागको डिजी थिए।

चाँडो चाँडो माथिल्लो तहका कर्मचारी फेर्दा निजामती क्षेत्रबाट प्रदान हुने कार्यसम्पादको पभावकारीमा प्रभाव पर्ने स्वयं कर्मचारीहरू बताउँछन्। ‘कर्मचारी क्षेत्रलाई अस्थिर बनाउँदा यसले गर्ने कायसम्पादमा प्रभावकारीता घट्छ।’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, ‘निजामती क्षेत्रबाट प्रदान गर्ने कार्य सम्पादनलाई प्रभावकारिता बनाउन कर्मचारी क्षेत्रलाई स्थिर बनाउनु राम्रो हुन्छ।’

तर पनि एउटा यस्तो विभाग छ, जाहाँ लामो समयदेखि डिजी परिवर्तन भएका छैनन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा भने पछिल्लो ६ देखि वासुदेव प्रसाद उपाध्यय डिजी छन्। यो एउटा मात्र उदाहारण हो। अन्य विभागहरू भने चाँडोचाँडो डिजी फेरिएका छन्। संघीय मामिला मन्त्रालय अनुसार अहिले संघीय सरकारको मातहतमा ५७ वटा विभाग छन्। यसैगरी संघीय सरकारको मातहतमा देशभर ३ सय ५२ वटा सरकारी कार्यालय छन्।

प्रकाशित: २२ श्रावण २०७९ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App