८ वैशाख २०८१ शनिबार
राजनीति

संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँः रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले पूर्व नवयुराजकुमार हृदयन्द्र वीरविक्रम शाहलाई जन्मदिनको शुभकामना दिँदै एक दिन राजाको रुपमा देख्न चाहेको बताएका गरेका छन्।

शाहको २१औं जन्मदिनको शुभकामना दिँदै मिश्रले भावी गद्दी–आसनको शुभेच्छा व्यक्त गरेका हुन्। उनले सामाजिक सञ्जालमा शाहको फोटोसहित लेखेका छन्, ‘बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँ। म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना!’

नेता मिश्रले देशलाई नराम्रो संकटबाट जोगाउँन संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्न आह्वान गरेका छन्। यस्तै उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताए।

मिश्रले सन् १९९० मा बेल्जियमका राजा बोदवाँले गर्भपतन सम्बन्धी विधेयक अनुमोदन गर्न नमान्दा सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरेको  र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गराएको स्मरण गर्दै नेपालका दलहरुले पनि एकदिन राजाको आवश्यकता महसुस गर्ने आँकलन गरेका छन्।

उनले संसदले बाँधेको राजतन्त्रको उदाहरण दिँदै भनेका छन्, 'सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्बी भएका कारण गर्भपतन सम्बन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।'

प्रकाशित: १४ श्रावण २०७९ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App