१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन गरेरै चुनावमा जाने

शुक्रबार बिहान पत्रकार सम्मेलनमा बोल्दै जसपा अध्यक्ष उपेन्द्र यादव।

वीरगन्जमा बुधबारदेखि जारी जनता समाजवादी पार्टी (जसपा), नेपालको बैठकपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै बैठकका निर्णयहरु बारे जानकारी सार्वजनिक गरेका छन्। यस क्रममा अध्यक्ष यादव आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेर नै जाने बताएका छन्।

‘देशलाई अप्ठ्यारो परेको बेलामा र देशको आवश्यकता अनुसार र गठबन्धन भएको हो,’ यादवले भने, ‘अहिले पनि देशको आवश्यकतालाई मध्यनजर गरेर सम्भव भएसम्म गठबन्धन गरेरै अघि बढ्ने हाम्रो पार्टीको धारणा हो।’ चुनावमा तालमेल गर्ने निर्णय भने यस बैठकले गरिनसकेको र गठबन्धन सम्भव नभए जसपा एक्लै चुनावद लड्न तयार रहेको अध्यक्ष यादवले बताए।

बिहीबार राति सकिएको केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले उता काठमाडौँमा भट्टराई निकटकाले भेला गरेर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी सार्वजनिक गरे।

यस्तै पार्टीको विधानविपरीत तथा पार्टी हितका विरुद्धमा कार्य गरेकोले यसअघि संघीय परिषद् अध्यक्ष रहेका डा. भट्टराईसहित जना कार्यकारिणी सदस्यलाई जिम्मेवारीबाट हटाउँदै पदमुक्त गरिएको उनले बताउँदै भट्टराई पदमुक्त भएपछि केन्द्रीय समिति बैठकलेले उनको ठाउँमा संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई सर्वसम्मत रुपमा चयन गरेको उनले बताए।

भट्टराईसहित नेताहरु महेन्द्र राय यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको यादवले पुष्टि गरे। जसपा अध्यक्ष यादवले डा. भट्टराईलाई पार्टीमा फर्किने ढोका भने बन्द भइनसकेको समेत जानकारी गराएका छन्।

डा. भट्टराईलाई पुनर्विचारको लागि आह्वान गरेर मुलधारमा फर्किने बाटो खुल्ला राखेको पत्रकार सम्मेलनमा बोल्दै यादवले बताए। पत्रकार सम्मेलनमा नेता राई, पार्टीको तर्फबाट नवनियुक्त बन तथा वातावरण मन्त्री प्रदीप यादव महासचिव रामसहाय यादव लगायत नेताहरु सहभागि थिए।

प्रकाशित: ३१ असार २०७९ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App