८ वैशाख २०८१ शनिबार
राजनीति

बाबुराम भट्टराईको सपना चकनाचुर भयो: उपेन्द्र यादव

फाइल तस्बिर।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईमाथि पार्टी विभाजनको षड्यन्त्र गरेको आरोप लगाएका छन्। वीरगन्जको दुई दिने विस्तारिक केन्द्रीय समिति बैठक समापनपछि अध्यक्ष यादवले भने, ‘अवैधानिक तरिकाले गुटको भेला गरेर पार्टी फुटाउन खोज्दा उहाँलाई पद्मुक्त गरिएको छ।’

पार्टी विभाजन गर्ने बाबुरामको योजनाबारे बेलिविस्तार लगाउँदै यादवले भने ,‘भट्टराईजीले छुट्टै दृष्टिकोण राख्दै केही केन्द्रीय सदस्य बटुलेर, केही सांसदलाई अनेक भ्रम फैलाएर अगाडि बढ्ने प्रयास गर्नुभयो। हस्ताक्षर अभियान चलाउनुभयो। हस्ताक्षर अभियानमा उहाँको संख्या नपुगेपछि केही हस्ताक्षरकर्ताले पार्टी विभाजनको षड्यन्त्रमा सहभागी नभइ फर्किएपछि उहाँको प्रयास असफल भयो।’

‘पार्टी विभाजन गरेर मधेसको मुद्दालाई कमजोर बनाउन लागिपरेका बाबुराम भट्टराईजीलाई पदमुक्त गरेर उहाँको सपना चकनाचुर गरिदियौं अध्यक्ष यादवले भने, ‘अब पार्टी थप अनुसाशीत, संगठित र चुस्त रुपमा अघि बढ्छ।’ पार्टी विभाजन गरी मधेसको मुद्दा कमजोर बनाउन भट्टराईजी लागिपर्नु भएको थियो, यादवले भने, ‘आवश्यक संख्या नपुगेर उहाँ आफैं परास्त हुनुभयो।’ जसपा फुटाउने वा अर्को दर्ता गराउने उहाँको सपना चकनाचुर भएको छ’ यादवले भने, ‘गलत मनशायले पार्टी विभाजनको प्रयास असफल भएपछि भट्टराईजी नयाँ पार्टी दर्ता गराउने प्रयासमा छन्।’

केही व्यक्ति चोइटिएर गए पनि पार्टीलाई खासै फरक नपर्ने पनि यादवले बताए। भट्टराई समूहले कतिपय नेता तथा कार्यकर्ताहरूलाई गुमराहमा राखेर काठमाडौँ आयोगित भेलामा सहभागी गराएकाले ती नेता तथा कार्यकर्ताहरू मुलधारमा फर्किने यादवले दाबी गरे। उनले पार्टीको विधानमा संघीय परिषद अध्यक्षलाई पार्टीको बैठक बोलाउने अधिकार नदिएको बताए।

विधान विपरित गरिएका भेला, बैठकले वैधानिकता पाउँदैन, भट्टराईजीले गुटको बैठक गरेर विधान वपरीत काम गरेको उनको जिकिर छ। वीरगन्जमा सम्पन्न बैठकले जसपालाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा अगाडि बढाउन ऊर्जा प्रदान गरेको अध्यक्ष यादवले बताए। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक्लै वा गठबन्धन दुवै तरिकाले जान सक्ने उनको भनाइ छ।

यद्यपि अहिलेको परिस्थितिमा गठबन्धन भएरै निर्वाचनमा जाँदा राम्रो हुने यादवले बताए। वीरगन्जमा सम्पन्न विस्तारित केन्द्रीय समिति बैठकमा दुई तिहाइभन्दा बढी केन्द्रीय कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यको उपस्थिति रहेको यादवले बताए। विस्तारिक बैठकबाट बाबुराम भट्टराई, महिन्द्र राय यादव, गंगा नारायण श्रेष्ठ, हिसिला यमीसहित नौ जनालाई पार्टीको हितविपरीत कार्य गरेकाले जिम्मेवारीबाट मुक्त गने निर्णय गरिएको छ।

कार्यकारणी र केन्द्रीय समितिलाई पुनर्गठन गर्ने, विधान संशोधन गर्ने लगायतका पार्टी संगठनलाई चुस्त दुरुस्त बनाएर अगाडि बढाउने यादवले बताए। जसपाको संघीय परिषद्का अध्यक्षमा चयन भएका अशोक राईले पार्टी विभाजन गर्नेहरुलाई एउटा किनारामा छाडेर मूल प्रवाह जसपाको घोषित लक्ष्यमा कतै पनि क्षति नपुग्ने गरी अगाडि बढ्ने बताए।

प्रकाशित: ३१ असार २०७९ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App