२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक अविलम्ब संसदबाट पारित गर्नुपर्छ: सांसद कर्ण

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धि विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्ने बताएका छन्।

सांसद कर्णले अब पनि संसदीय समितिमा लगेर नागरिकताविहीन नागरिकलाई रुवाउने काम गर्न नहुने स्पष्ट पारे। बिहीबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’माथिको दफावार छलफलमा भाग लिँदै उनले नागरिकताविहीन नागरिकको अवस्थाबारे विचार गरेर सो विधेयकलाई यही संसदबाट तत्काल पारित गर्न पनि सबै सांसदहरुलाई आग्रह गरे। 

सांसद कर्णले अढाई वर्ष संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गरिएको सो विधेयक अझै पनि पारित नभए करिव ६ लाख नागरिकताविहीन नेपाली नागरिकले के भन्लान भनेर सोच्न पनि सांसदहरुको ध्यानाकर्षण गराए। 

उनले भने, ‘विधेयक फिर्ता लिएको सन्दर्भमा धेरै यहाँ चर्चा भयो। के हाम्रो सरकारले ल्याएको विधेयक सरकारले फिर्ता गर्न पाउँछ भन्ने नियममा व्यवस्था गरेको छौ कि छैनौं? कानुन बमोजिम जुन काम भयो। त्यसलाई पनि हामीले यति असन्तुष्टि व्यक्त गर्नुपर्ने कुनै जरुरी थियो? तर हामी गरिराखेका रहेछौं। मैले के भन्न खोजेको हो भने–अहिले करिवकरिव ६ लाख व्यक्तिहरु राज्यविहीन, नागरिकताविहीन छ। बाबु छ, नागरिकता छैन। आमा छ, सन्तानले नागरिकता प्राप्त गरेको छैन। राज्यविहीन व्यक्तिको अवस्था के होला ? हामी पनि मानिस हौं। यसो विचार गरौं। अझ के प्रश्न उठछ भने यसलाई फेरी समितिमा लगौं। अढाई वर्ष समितिको धन्दा हामीले देखेको होइन। अब फेरी ३ वर्ष त्यहाँ लगाउने ? त्यसकारण के रहेछ भने यसलाई अविलम्ब मान्छेलाई रुवाउने होइन। यसमा पनि अब फेरि छलफल गरिराख्ने र यसलाई रोक्ने यो मानवता विरुद्धको छलफल हुन्छ। यसलाई यही संसदबाट पास गरौं भन्ने मैले राखेको छु।’

सांसद कर्णले सो विधेयक अव पनि छलफल गरिराख्ने कुरा मानवताविरुद्धको कुरा हुने उल्लेख गर्दै त्यसो गर्न नहुने तर्क गरे। 

प्रकाशित: ३० असार २०७९ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App