प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभापतिको राजीनामा माग्दै लेखा समिति बैठक बहिस्कार गरेको छ।
एमालेले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा उपस्थित हुने अडान लिएको छ। आज बिहान ११ बजे बोलाइएको बैठकमा भट्टराईसँगै लेखा समितिमा रहेका एमालेका सांसदहरू शिवमाया तुम्बाहाङ्फे, गोकुल बास्कोटा, राजेन्द्र गौतम, रघुवीर महासेठ, मैना भण्डारी र सूर्य पाठकले बैठक बहिष्कार गरेका हुन्।
लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै भट्टराई र बास्कोटाले प्रश्न उठाएका थिए। त्यसपछि उनीहरु बैठकमा नबस्ने भन्दै बाहिरिएका हुन्।
सार्वजनिक लेखा र महालेखा परीक्षकको प्रतिवेदन हेर्ने जिम्मेवारी हुने भएकाले संसदीय परम्परा भएका मुलुकहरूमा सरकारलाई 'चेक एण्ड ब्यालेन्स' गर्न लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई दिने प्रचलन छ। अहिले लेखा समितिमा सत्तारूढ नेपाली कांग्रेसका भरतकुमार शाह सभापति छन्।
प्रकाशित: २८ असार २०७९ ०९:१० मंगलबार